१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सेनाको नेतृत्वमा सगरमाथासहित ४ हिमालबाट फोहोर उठाइने   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:३२:oo

नेपाली सेनाको समन्वयमा चैत २२ देखि जेठ २२ सम्म चार हिमाल सरसफाइ हुने भएको छ। कार्यक्षेत्रमा जाने तथा समन्वयमा खटिने सैनिक तथा शेर्पासहित ९१ जनाको सहभागितामा सगरमाथा, कञ्चनजंघा, ल्होत्से र मनासलु हिमालमा संकलित फोहोर उठाउने सेनाको तयारी छ। गत वर्ष पनि सेनाले ६ वटा हिमालबाट फोहोर संकलन गरेको थियो। गत वर्ष ३५ टन फोहोर संकलन गरेको सेनाले यो वर्ष पनि त्यही परिमाणमा फोहोर संकलन गर्ने लक्ष्य राखेको छ। 

‘संवेदनशील हिमाली क्षेत्रहरूको सफाइ गर्ने क्रममा हाम्रो टोली हिमाल सफाइमा जाने तय भएको छ,’ राष्ष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायकरथी हिमांशु खड्काले भने। सगरमाथा क्षेत्रमा मात्रै ३ सय शव र फोहोर मैला छन्। सगरमाथा क्षेत्रमा एक सय ४० टन फोहोर र ४० टन जति दिसाजन्य फोहोर रहेको अनुमान छ । 

‘हिमाली अर्थतन्त्र, प्रदूषण नियन्त्रण तथा हिमाली साहसिक पर्यटनको अवधारणाअनुसारको एकीकृत योजनामा हामी काम गरिरहेका छौँ,’ निर्देशक खड्काले भने। हिमाली क्षेत्रमा जाने सैनिकलाई १५ फागुनदेखि सेनाको उच्च शिखर शिक्षालय कैसाङ (मुस्ताङ) मा तालिम सुरु गर्ने उनले जानकारी दिए। सफाइका लागि सरकारी निकाय तथा गैर सरकारी निकाय संलग्न हुनेछन्। सफाइमा खटिनेलाई मेडिकल तथा आपतकालीन उद्धारको सुविधा छ। हाइअल्टिच्युड मेडिसिन र उपकरणको व्यवस्था गरिएको छ।

सरकारले हिमाल सफाइका लागि ८ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ। तर, योजनाअनुसार ४ करोड ६६ लाख रुपैयाँ अपुग हुने सेनाको भनाइ छ। ‘यसका लागि हामी समन्वय गरिरहेका छौँ। बजेट कम भयो भने योजना गरेभन्दा कम परिमाणमा फोहोर ल्याउँछौँ,’ खड्काले भने। यो वर्ष सेनाले ३५ टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ। सगरमाथा क्षेत्रबाट १४ टन, कञ्चनजंघाबाट १० टन, ल्होत्सेबाट ६ टन र मनासलुबाट ५ टन फोहोर संकलन गर्ने सेनाको तयारी छ। 

गत वर्ष १२ करोड ५५ लाख रुपैयाँ खर्च गरेर सेनाले फोहोर संकलनको समन्वय गरेको थियो। भारतीय उपमहाद्वीपमा रहेका आठ सय किलोमिटर लामो हिमालय शृंखलाहरू करिब एक अर्ब ३० करोड जनसंख्याको पानीको स्रोत हो। यस क्षेत्रमा ६ हजार मिटरभन्दा माथिका एक हजार तीन सय १० हिमालमध्ये हालसम्म चार सय १४ हिमाल मात्रै आरोहणका लागि खुला गरिएका छन्। आरोहण खुला भएका हिमालमा आरोहीहरूले फोहोर छाड्ने गरेका छन्। 

सन् २००८ देखि २०१९ सम्म शेर्पाहरूको टोलीले सगरमाथा क्षेत्रबाट २१ हजार एक सय किलो फोहोर संकलन गरेर ल्याएका थिए। खाली अक्सिजन सिलिन्डिर, प्लास्टिकका बोतल, क्यान, ब्याट्री, खाना बेरिएका वस्तु, च्यातिएका टेन्ट, कागज तथा मृत शरीर संकलन गर्ने सेनाको योजना छ। गत वर्ष सगरमाथा, ल्होत्से, मकालु, अमादब्लम, पुमोरी र धौलागिरि हिमालबाट फोहोर तथा शव संकलन गर्न सेना र शेर्पाको एक सय १२ सदस्यीय टोली खटिएको थियो। 


 

ad
ad