१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १० मंगलबार २१:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७४औँ भारतीय सेना दिवसमा प्रधानसेनापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १० मंगलबार २१:१०:००

भारतको ७४औँ सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले समारोह आयोजना गरेको छ । प्रधानसेनापति एवं भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्माको उपस्थितिमा सेना दिवस मनाएको भारतीय राजदूतावासले जनाएको छ । 

समारोहमा नेपालका पूर्वप्रधानसेनापतिहरू, बहालवाला एवं सेवानिवृत्त सेना अधिकृतहरू, कूटनीतिक अधिकारीहरू, सरकारी अधिकारी, थिंक ट्यांकका सदस्य सहभागी थिए । 

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमान्डर इन चिफको रूपमा भारतीय सेनाको कमान्ड सम्हालेको सम्झनामा भारतीय सेना दिवस मनाउने चलन छ ।

प्रधानसेनापति शर्माले भारतीय समकक्षी एवं नेपाली सेनाका मानार्थ महारथी एमएम नरवणेलाई भारतको ७४औँ सेना दिवसको अवसरमा शुभकामना व्यक्त गरे । उनले दुई सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्य हुँदै आएको चर्चा गरेका थिए । 

नेपाली सेनाको आधुनिकीकरणमा भारतीय सेनाले गरेको सहयोगको चर्चा गर्दै शर्माले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । 

भारतीय राजदूत विनयमोहन क्वात्राले दुई देशलाई नेपाली र भारतीय सेनाले भ्रातृवत् सम्बन्धमा जोडेको बताए । उनले भारतीय सेनामा रही गोर्खा सैनिकले निःस्वार्थ सेवा र बलिदान गरेकोमा कृतज्ञता प्रकट गर्दै भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानसेनापति शर्मा तथा राजदूत क्वात्राले सन् २०२१ डिसेम्बर आठमा हवाई दुर्घटनामा परी मधुलिका रावत र अन्य ११ जना सैनिकसहित दिवंगत भएका जनरल विपिन रावतप्रति श्रद्धञ्जलि अर्पण गरे । प्रधानसेनापति शर्माले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई सम्मान गरेका थिए ।