१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
पवन बराइली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:३३:oo
Read Time : > 3 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

सर्जकमाथि किन लाग्छ गीत–संगीत चोरीको आरोप ?

Read Time : > 3 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३३:oo

-गत महिना मेलिना राई र किरण गजमेरको स्वर रहेको ‘हे दैव’ बोलको गीत युट्युबमा सार्वजनिक भयो । गीतमा रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत थियो । तर, सार्वजनिक भएको एक साता नबित्दै चोरीको आरोप लागेपछि गीत युट्युबबाट हटाइयो । गीतकार भूपेन्द्र खड्काले उक्त गीत आफ्नो गीतको हरफै मिलेको दाबी गरेका थिए । खड्काले गायक एवं संगीतकार कर्ण दासको एल्बम ‘आधा सपना’मा समावेश गीतसँग हुबहु मिलेको भनेपछि युट्युबबाट हटाइएको थियो । 
-स्व. लोकबहादुर क्षेत्रीका छोरा रोहित क्षेत्रीले आफ्ना पिताका पुराना गीत चोरी भइरहेको दाबी गरेका छन् । उनले बुबाका गीतहरू चोरी भएको दाबी गर्दै प्रतिलिपि अधिकार संरक्षणको माग गर्दै कानुनी प्रक्रियासमेत सुरु गर्ने योजना बनाएका छन् । 

यसअघि पनि संगीतकार र रचनाकारले पटक–पटक चोरीको आरोप खेप्दै आइरहेका छन् । यी त पछिल्ला केही उदाहरण मात्रै हुन् । करिब तीन वर्षअघि गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारको स्वरमा सार्वजनिक भएको ‘गलबन्दी...’ गीतलाई धेरैले मन पराए । तर, यो गीतको लय गायक शम्भु राईले आफ्नो गीतसँग मिलेको दाबी गर्दै चोरीको आरोप लगाए । केही दिन गीत–संगीत क्षेत्र नै दुई कित्तामा बाँडियो । राईले प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्तासमेत गरे । युट्युबमा ‘गलबन्दी...’ बोलको गीतको संगीत सिर्जनामा राईको नाम समावेश हुने भएपछि विवाद साम्य भएको थियो । 

करिब चार वर्षअघि चलचित्र ‘कृ’मा समावेश ‘उकालीमा पछिपछि’ गीत चोरीको आरोपमा चलचित्रका निर्माता सुवास गिरी पक्राउ परे । ०४० सालमा निर्माण भएको चलचित्र ‘सम्झना’को यो गीत विनाअनुमति ‘कृ’मा समावेश गरिएको भन्दै ‘सम्झना’का निर्माता तथा निर्देशक शम्भु प्रधानले ‘कृ’ चलचित्रका सुवास गिरी, भुवन केसी एवं संगीतकार अल्मोडा राना उप्रेतीविरुद्ध जाहेरी नै दिए । जाहेरीपछि निर्माता गिरीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख्यो । तर, निर्माता गिरीले निर्देशक प्रधानलाई ११ लाख क्षतिपूर्ति तिरेपछि हिरासतमुक्त भए । 
यस्तै, चलचित्र ‘छक्कापन्जा–२’ मा समावेश ‘नाइलनको साडीमा...’ बोलको गीतले गीतसंगीत क्षेत्र विवादित बनेको थियो । ‘नाइलनको साडीमा’ गीत पनि चोरीको आरोप लागेपछि संगीतकार अल्मोडा उप्रेतीले निकै आलोचना खेपे । गीत चोरीको कानुनी प्रक्रिया अघि बढ्न नपाउँदै चलचित्र निर्माण टिमले विवादलाई सामसुम पारेको थियो ।

चलचित्र शत्रु गतेको ‘रूपै मोहनी...’ बोलको गीत चोरी भएको भन्दै लोकगायक कुमार बस्नेतले उक्त गीतका संगीतकार टंक बुढाथोकीमाथि चोरीको आरोप लगाए । यो विवाद केही दिनमै सामसुम भएको थियो । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’सँग संगीतकार आलोक श्रीको ‘फोटो सिरानी’ बोलको गीतसँग लय मिलेपछि विवाद भयो । तर, संगीतकार कालीप्रसाद बाँस्कोटालगायत टिम बसेर छलफल गरेपछि विवाद टुंगियो । 

यसरी पटक–पटक गीत–संगीत चोरी हुन थालेपछि साँच्चैका सर्जकहरूमाथि पनि आशंकाको नजर बढ्न थालेको छ । यो विषयले पछिल्लो समय गम्भीर रूप लिएको छ । कतिपय सर्जकमा चाँडै हिट हुने तीव्र चाहनाले यस्ता घटना पटक–पटक दोहोरिने गरेको जानकारहरू बताउँछन् । 

गीत–संगीत चोरी गरे यस्तो छ कारबाहीको व्यवस्था
प्रतिलिपि अधिकारसम्बन्धी व्यवस्थाले मानिसको मौलिक, रचनात्मक कामको संरक्षण गर्छ । प्रतिलिपि अधिकार ऐन, २०५९ तथा नियमावली, २०६१ अनुसार प्रतिलिपि अधिकार संरक्षण र संवद्र्धन भन्नाले साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएका रचनाको संरक्षण सम्झनुपर्छ । कुनै पनि रचना शब्दअन्तर्गत किताब, पर्चा, लेख, नाटक, नाट्य र संगीत, मूकचित्र, शब्दसहित वा शब्दरहित सांगीतिक रचना, चित्रकला, पेन्टिङ, मूर्तिकला, काष्ठकलालगायतका बौद्धिक रचना पर्छन् । यस्ता प्रतिलिपि चोरी–पैठारी गरेमा त्यस्तो प्रतिलिपि जफत गरी निजलाई कसुरको मात्राअनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुन सक्छ ।

आपसमा मिलेर विवाद सल्टिने विषय हो
वसन्त सापकोटा, गीतकार 

महेश खड्काप्रति मेरो सम्मान छ । उहाँ मेरो पनि अग्रज हुनुहुन्छ । मैले उहाँलाई चोरी आरोप लगाएको छैन । केही अंश मात्रै मिल्यो भनेको हुँ । ‘अन्कन्सियस माइन्ड’ले मिल्न पुगेछ मात्रै भनेको हुँ । यो संगीतलाई हटाउन त मिल्दैन । तर, सल्लाह गरेर समधान गरौँ मात्रै भनेको हुँ । आपसमा मिलेर विवाद सल्टिने विषय हो । यस विषयमा मलाई धेरै विवाद गर्नु छैन । तर, उहाँले कानुनी उपचार खोज्छु भन्नुभएको रहेछ । त्यो उहाँलेले नै जान्नुहुन्छ । विवाद बढाउँदै लैजानु आफैँमा ठीक होइन । विवादले गर्दा नेपाली गीतसंगीत क्षेत्रमा नै नराम्रो सन्देश जान सक्छ । गीतको अंश मिलेको छ वा छैन प्रविधिले देखाउने हो । मैले देखाउने होइन । दर्शक–श्रोताले मेरा गीतको अंशसँग मिलेको रहेछ भनेर प्रतिक्रिया दिएपछि मैले कुरा उठाएको हो । यद्यपि, हामी आफैँले ‘कपी राइट’का कुरा उठाउँदै आइरहेका छौँ । हामी आफैँले कपी राइट उल्लंघन गर्नु हुँदैन । एकले अर्कालाई खुइल्याउनेभन्दा पनि मिल्ने आपसमा सल्लाह गरौँ भनेको हो । तर, उहाँले कानुनी बाटो रोज्छु भन्नुभएको रहेछ । हामीले कति मिल्यो कति मिलेन भन्नुभन्दा पनि विज्ञहरूले भन्ने कुरा हो । तपाईंलाई मिलेको लाग्छ भने मिल्यो भन्दिनुहोस् । मिलेको लाग्दैन भने पनि मिलेको छैन भन्दिनुहोस् । मलाई दुवै स्वीकार्य छ । 

म मानहानिको मुद्दा दायर गर्छु 
महेश खड्का, संगीतकार 

हामी संगीतकारहरू संगीतको महासागरभित्र रहेर संगीत सिर्जना गरिहेका छौँ । आफैँले संगीत निर्माण नगरी पहिले नै निर्माण भएका ताल र रागहरूभित्र रहेर संगीत सिर्जना हुन्छन् । हामी सधैँ संगीत सिकी नै रहेका हुन्छौँ । यही क्रममा कहिलेकाहीँ मिल्न पनि सक्छ । संगीतका ताल कसैको आफ्नो हुँदैन । संसारमा भएकै सुरहरूबाटै संगीत बनेका हुन्छन् । कुनै संगीतको दुई ‘नोट’ राग मिल्यो भन्दैमा चोरको आरोप लगाउन पाइँदैन । यस्तै हो भने हार्माेनियम, गितार, बाँसुरी बोकेर संगीतमा लाग्छु भनेर कसैले पनि नसोचे हुन्छ । वसन्तजीको संगीतको दुई–तीन ‘नोट’ मिल्यो भने के हुन्छ ? म आफैँले ताल र सुर निर्माण गरेको होइन । निर्माण भएकै नोटभित्र आफैँ खेल्ने हो । त्यसकारण उहाँले गीत मिलेको प्रमाणित गर्नुपर्छ । होइन भने मैले कानुनी बाटो खोज्नुपर्छ । मेरो ३०औँ वर्ष लगाएर आर्जेको प्रतिष्ठामाथि आँच पुगेको छ । म मानहानिको मुद्दा दायर गर्छु । 

लय मिल्नु स्वाभाविक हो, तर नियतवश चोर्नु भएन
न्ह्यु बज्राचार्य, संगीतकार 

पुराना सर्जकका गीतसँग नयाँ सर्जकको गीतको लय मिल्नु स्वाभाविक हो । तर, नियतवश चोर्नुचाहिँ भएन, नक्कल गर्नु भएन । हुबहु संगीत र शब्द मिलाउनु भएन । कुनै–कुनै गीतको ‘राग’ एउटै हुन्छ । त्यसलाई चोरिएको भन्न मिल्दैन । कुनै–कुनै गीतको ‘स्केल’ एउटै हुन्छ । त्यसैले राग थाहा नपाएर संगीत सिर्जना गर्नु र नियतवश चोर्नुमा फरक हो । नेपालमा मात्रै होइन, विश्वभर यस्ता समस्या छन् । इन्टरनेटको सुविधा बढेसँगै गीत–संगीत सुन्ने, हेर्ने माध्यम फरक छ । आफूसँग क्षमता भएकाले चोर्दैन । क्षमता कमजोर हुनेले मात्रै चोर्छन् । अहिले कतिपय स्रष्टामा हिट हुने इच्छा हुन्छ ।

ad
ad