१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २ सोमबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २ सोमबार o८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एकै दिन सय अंकले घट्यो नेप्से

निर्वाचनको घोषणापछि समेत बजारमा पस्न आँट गरिनसकेका लगानीकर्ता बैंक ब्याजदर वृद्धिको निर्णयले आत्तिँदा सेलिङ प्रेसर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २ सोमबार o८:१६:oo

निर्वाचनको घोषणाका कारण बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता बैंक ब्याजदर बढ्ने निर्णयले आत्तिँदा ‘सेलिङ प्रेसर’ बढेपछि आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बैंकहरूले ब्याजदर बढाएर करिब १२ प्रतिशतसम्म दिने भएपछि त्यसको असर सेयर बजारमा देखिएको हो । बैंकमा लगानी योग्य रकमको अभाव भएपछि बैंकहरूले बचत आकर्षित गर्नका लागि ब्याजदर बढाएका हुन् । 

ब्याजदर वृद्धिका कारण लगानीकर्ता बिक्री गर्न हतारिँदा बजार घटेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । बैंकले ब्याजदर बढाउँदैमा आत्तिएर बेच्न आवश्यकता नरहेको र संयमितता अपनाउन सके बजार धेरै करेक्सनमा जान सक्ने सम्भावना नभएको उनको भनाइ छ । अर्का लगानीकर्ता अन्जीव तुलाधरले करेक्सनमाथिको ब्याजदर थप बहाना भएको र यसको प्रभाव क्षणिक रहने बताए । ‘प्यानिक सेलिङ’ र बजार करेक्सनको प्रभाव परेको र केही दिनमा बजारको सुखद सुरुवात हुने लक्षण भएको तुलाधरको भनाइ छ ।

आइतबार नेप्से सूचक एक सय दशमलव ६७ अंकले घटेर दुई हजार सात सय ८९ बिन्दुमा आइपुगेको छ । अघिल्लो हप्तादेखि बजार करेक्सन हुँदै आएको थियो । तर, बैंकको ब्याजदरले बजार घट्नलाई थप टेवा पु¥याएको देखिएको छ । सेयर बजारको प्रभाव क्षणिक भए पनि लगानीकर्ता आफैँले सचेत भएर लगानी गर्नु उपयुक्त हुन्छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव ६२ अंकले घटेर पाँच सय ११ दशमलव ६६ बिन्दुमा पुगेको छ ।

घटेको बजारमा साना लगानीकर्ताले प्यानिक सेलिङ गरेका छन् भने संस्था तथा ठूला लगानीकर्ताले सेयर खरिद गरेका छन् । जसले गर्दा धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ स्क्रिप्टका एक करोड १६ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा करिब ६ अर्बको कारोबार भएको छ । अपर तामाकोसी हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेसनल हाइड्रोपावर कम्पनी र अपि पावर कम्पनीको सेयर सबैभन्दा धेरै २१ करोड रुपैयाँदेखि ३२ करोडभन्दा बढीको कारोबार भएको छ ।

यस दिन एक सय ९० वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ भने कुनै पनि स्क्रिप्टको बढ्न सकेन । अपर तामाकोसी हाइड्रोपावर कम्पनी र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशत बढीले घट्दा यी कम्पनीको सेयर खरिद–बिक्री बढी भएको हो । शिवश्री हाइड्रो लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

 जल्पा सामुदायिक लघुवित्तको  सेयर बाँडफाँड
जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर बाँडफाँड गरेको छ । आइतबार संस्थाको बिक्री तथा प्रबन्धक प्रभु क्यापिटलले सेयर बाँडफाँड गरेको हो । आइपिओमा कुल २७ लाख नौ हजार आठ सय ५५ जना आवेदकबाट तीन अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँबराबरको तीन करोड ३१ लाख ४७ हजार एक सय ५० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमा ४८ हजार सात सय ९० जनाले १० कित्ताका दरले सेयर हात पार्न सफल भएका छन् ।

ad
ad
ad
ad