१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
क्षतिपूर्तिको चेक बुझ्दै दुर्गाप्रसाद तिम्सिना । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

४१ वर्ष भारतीय जेलमा बिताएका  दुर्गाप्रसादलाई आठ लाख क्षतिपूर्ति

नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल भन्छन्– पूर्ण क्षतिपूर्ति पाउने लडाइँ अब सुरु हुन्छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२३:oo

सुनुवाइविना ४१ वर्ष भारतीय जेलमा बिताएका इलाम माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई आठ लाख रुपैयाँ क्षतिपूर्ति दिइएको छ । कोलकाता उच्च अदालतको आदेशअनुसार उनलाई पाँच लाख भारु (आठ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति पश्चिम बंगाल सरकारले उपलब्ध गराएको हो । २२ मंसिरमा कोलकाता उच्च अदालतले ६ हप्ताभित्र तिम्सिनालाई उक्त रकम उपलब्ध गराउन आदेश दिएको थियो ।

उक्त रकमबराबरको एसबिआई बैंकको चेक आइतबार झापाको काँकडभिट्टामा कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले तिम्सिनालाई हस्तान्तरण गरे । दार्जिलिङकी एक महिलाको हत्या आरोप लागेका तिम्सिनाले भारतका विभिन्न जेलमा ४१ वर्ष बिताएका थिए । पछिल्लो समय दमदम सेन्ट्रल करेक्सनल होममा रहेका उनी गत चैतमा छुटेका हुन् । मानसिक र शारीरिक अवस्था ठिक नभएको भन्दै उनलाई उच्च अदालत कोलकाताले गत चैतमा छाड्न आदेश दिएको थियो । यद्यपि, उनको मुद्दा किनारा लागिनसकेको पौडेलले बताए । 

उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तवा, न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजालसले पश्चिम बंगाल सरकारलाई ६ हप्ताभित्र क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो । अदालतको यो आदेशले अन्य क्षतिपूर्तिमा रोक नलगाएको महावाणिज्यदूत पौडेलले बताए । ‘त्यहाँको उच्च अदालतले दमदम करेक्सनल होमको जेल प्रशासनलाई तत्काल कति दिन सकिन्छ भनेर सोध्यो । उसले भारु पाँच लाख दिन सकिन्छ भनेपछि अदालतले यो आदेश दिएको हो,’ उनले भने, ‘तर, यो पैसा लिएपछि पनि बाँकी क्षतिपूर्तिका प्रक्रिया अघि बढाउन बाटो बन्द भएको छैन । यसले मलमपट्टी हुन्छ । बाँकी क्षतिपूर्तिका लागि अब प्रक्रिया सुरु हुन्छ । यसका लागि महावाणिज्य दूतावासले समन्वय गर्छ । पूर्ण क्षतिपूर्तिको लडाइँ बाँकी नै छ ।’

 थप क्षतिपूर्तिका लागि न्यायिक प्रक्रिया सुरु गर्न महावाणिज्य दूतावासले समन्वय गर्ने
महावाणिज्यदूत पौडेलले क्षतिपूर्तिका लागि न्यायिक प्रक्रिया सुरु गर्न महावाणिज्य दूतावासले समन्वय गर्ने बताए । उनले पूर्ण क्षतिपूर्ति पाउने लडाइँ अब सुरु हुने बताए । उनले महावाणिज्य दूतावासबाट नै कानुन व्यवसायी राखेरै पूर्ण क्षतिपूर्तिका लागि पहल गर्ने बताए । उनले तिम्सिनाको परिवार आर्थिक रूपले कमजोर भएकाले राज्यले पनि क्षतिपूर्ति प्राप्तिका लागि सहयोग गर्नुपर्ने उल्लेख गरे । त्यसका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने बताए । ‘उहाँ आर्थिक, शारीरिक, मानसिक, सामाजिक सबै हिसाबले कमजोर हुनुहुन्छ । त्यसैले क्षतिपूर्तिका लागि राज्यले पहल गर्नुपर्छ । म परराष्ट्र मन्त्रालयसँग सहकार्य पनि गर्छु,’ उनले भने, ‘क्षतिपूर्ति मुद्दा गरेरै लिने हो । लामो समयसम्म लाग्न सक्छ । उहाँको अवस्था हेरेर प्रदेश र केन्द्र सरकारले पनि सहयोग दुर्गाप्रसादलाई राहत उपलब्ध गराउन जरुरी देखिन्छ ।’

दुर्गाप्रसादका भतिजा गोपालले आठ लाख रुपैयाँ पाउँदा न्याय पाउने आस पलाएको बताए । ‘यसले ठूलोबुबाको हेरचाहमा ठूलो सहयोग गरेको छ । अब बाँकी क्षतिपूर्तिका लागि लडाइँ लड्नुपर्नेछ,’ उनी भन्छन्, ‘यसमा हामीलाई गाह्रो हुन्छ । राज्यले नै सहयोग गरे सहज हुने थियो ।’४१ वर्ष जेल बसेर गत चैतमा घर फर्किएका दुर्गाप्रसादको स्वास्थ्य अवस्था अझै कमजोर छ । घरमा बस्न नसक्ने भएपछि उनलाई विराटनगरस्थित एक मानव आश्रममा राखिएको थियो । कोलकाता उच्च अदालतले उनको मानसिक र शारीरिक अवस्था ठिक नभएको भन्दै महावाणिज्य दूतावासमार्फत ६/६ महिनामा जानकारी गराउने सर्तमा गत चैतमा जेलमुक्त गर्न आदेश दिएको थियो । गत चैतमा स्वदेश फर्किएका दुर्गाप्रसादलाई यो क्षतिपूर्ति पाउन पनि ११ महिना लागेको छ । 

ad
ad