मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७८ फाल्गुण १ आइतबार ०६:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमपातले संखुवासभाको भोटेखोलामा खाद्य संकट

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ फाल्गुण १ आइतबार ०६:२७:००

संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथांकालगायतका भोटखोला क्षेत्रमा लगातारको हिमपातले सडक अवरुद्ध हुँदा खाद्यान्न संकट भएको छ । १९ माघदेखि २२ गतेसम्म लगातार हिमपातले भोटखोला गाउँपालिकाको वडा नम्बर १, २ र ३ को किमाथांका, थुदाम, रिदाक, चुपुवा, लिङ्गाम, च्याम्ताङ, गुम्बा र हुङहुङलगायतका क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

सो क्षेत्रमा खाद्यान्न संकट सुरु भएकाले तत्कालै चामल, पिठो, तेल, दाललगायतका खाद्यान्नहरू हेलिकोप्टरबाट ढुवानी गरिदिन माग गर्दै भोटखोला गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय संखुवासभा र गृह मन्त्रालयमा पत्राचार गरेको भोटखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए । पालिकाभित्रका तीन वडाका दुई सय ३१ घरपरिवारका एक हजार ३९ जना प्रत्यक्ष पीडामा परेकाले राहत माग गरेको उनले जानकारी दिए ।

अत्यधिक चिसोले सदरमुकाम खाँदबारीबाट सामानहरू ल्याउन नसकिएको र घरमा भएका अन्नपातहरू सकिँदै गएकाले स्थानीयहरूले राहत माग गर्न थालेको उनले बताए । सीमावर्ती भोटखोला क्षेत्रका सर्वसाधारणहरूको मुख्य बजार तिब्बतको रियु, चाँगा र देङदाङ बजार हो । तर, कोरोना भाइरसको संक्रमण सुरु भएपछि करिब दुई वर्षदेखि किमाथांका नाका बन्द छ । त्यसैले सो क्षेत्रका स्थानीयहरूले दैनिक उपभोग्य वस्तुहरू आयात गर्न खाँदबारी बजारको नै भर पर्नुपरेको छ । सदरमुकाम खाँदबारीदेखि किमाथांका पुग्न करिब पाँच दिन लाग्छ । अहिले खाँदबारीदेखि वरुणसम्म यातायात सुविधा भए पनि त्यहाँदेखि तीन–चार दिन पैदल हिँडेर मात्रै किमाथांका पुगिने स्थानीयहरू बताउँछन् ।

विगतको तुलनामा यो वर्ष धेरै हिउँ परेको किमाथांकाका स्थानीयहरू बताउँछन् । किमाथांका प्रहरीचौकीका इन्चार्ज टीकाराम राईका अनुसार मंसिरदेखि झर्न थालेको हिमपात अझै रोकिएको छैन । किमाथांका र माथि–माथि डाँडामा साढे चार फिटभन्दा बढी हिउँ जमेको छ । घरभित्रबाट बाहिर निस्कन मुस्किल परेको बताउँछन् । लगातार परेको हिउँले गर्दा चीनतर्फ जाने सडक र सदरमुकाम खाँदबारीतिर आउने सडक अवरुद्ध भएको छ ।