
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति भएको बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रिय मुद्दामा जनतामा भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै उनले एमसिसी नेपालजस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएको परियोजना रहेको बताए। उनले सत्तामा पुगेका सबै दल एमसिसी परियोजना अघि बढाउन लागेको बताए।
‘एमसिसीमा कसैको पनि असहमति छैन। ओली नेतृत्वको सरकारकै पालामा एमसिसी संसदमा लाने सहमति गरिएको हो। कुनै पनि जिम्मेवार दलले चुप लागेर बस्नु दुःखद हो। सत्य कुरा के हो त्यसबारे स्पष्ट बोल्नुपर्छ,’ उनले भने, ‘एमसिसी नेपालकै प्राथमिकता हो। नेपालकै कानुनअनुसार परियोजना सञ्चालन हुने हो।’
उनले एमसिसीमा विरोध हुनु दुर्भाग्य भएको बताएका थिए। यसबारे संसदमा छलफल हुनुपर्ने र संसद्ले नै यसको टुंगो लगाउनुपर्नेमा उनको जोड थियो। ‘अनावश्यक रूपमा भ्रम छर्ने काम हुनु गलत हो। संसदमा बुँदागत छलफल हुन्छ,’ प्रवक्ता महतले भने, ‘संसदमा टेबुल गर्ने सभामुखको जिम्मेवारी हो। संसदबाट नै दूधको दूध पानीको पानी छुट्टिन्छ।’