१४औं महाधिवेशनपछि कांग्रेसको कार्यसम्पादन समितिको पहिलो बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा संस्थापन इतर समूहले स्थानीय तहको निर्वाचनमा एक्लै जान नेतृत्वलाई दबाब दिने तयारी गरेका छन् । डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले पाँचदलीय गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकाल्दै कांग्रेस एक्लै निर्वाचनमा जान नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो ।
इतर समूहले पटक–पटक आफूपक्षीय पदाधिकारी र कार्यसम्पादन समिति सदस्यहरूसँग छलफल गरेको थियो । सभापति शेरबहादुर देउवालाई भेटेर बैठकको एजेन्डालाई अन्तिम रूप दिनुअघिसमेत कोइरालाले आफूपक्षीय पदाधिकारीसँग भेटेर छलफल गरेका थिए । बुधबार बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा इतर समूहका नेतासँग छलफल भएको थियो । सो अवसरमा बैठकका एजेन्डा र आफ्नो समूहको रणनीतिबारे छलफल भएको ती पदाधिकारीले बताए । ‘औपचारिक रूपमा बाहिर नआए पनि निर्वाचनमा गठबन्धन गर्नु हुँदैन, कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ भन्ने नै छ,’ ती नेताले भने ।
सोमबार महामन्त्री गगन थापाको नक्सालस्थित सचिवालयमा यसबारे धारणा बनाउन पदाधिकारीबीच छलफल भएको थियो । छलफलमा उपसभापति धनराज गुरुङबाहेक महामन्त्री थापासहितका पदाधिकारी र इतर समूहका नेताहरू सहभागी भएका थिए । त्यसमा पनि गठबन्धनको औचित्य नरहेको निष्कर्ष निकालिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
इतर समूहका नेता गुरुराज घिमिरेले आफ्नो विचार समूहले निर्वाचनमा घोषित तालमेलको अर्थ नरहेको निष्कर्ष निकालेको बताए । उनले यसबारे आफ्नो समूहमा पटक–पटक पदाधिकारी र कार्यसम्पादन समिति तहमा छलफल भएको र सोही रूपमा बैठकमा प्रस्तुत हुने जानकारी दिए । ‘हामीले अनौपचारिक रूपमा धेरै छलफल ग¥यौँ । निर्वाचनमा घोषित तालमेलको अर्थ छैन । गठबन्धनका कारण कांग्रेसको छवि र मौलिकतामा प्रभाव पारेको छ,’ उनले भने, ‘विशेष अवस्थामा बनेको गठबन्धनको औचित्य सकिसकेको छ । इतिहासको कालखण्डमा कहिले एक्लै पनि परीक्षण हुनुपर्ने अवस्था आउँछ । कांग्रेसको हकमा पनि त्यो समय आएको छ । स्थानीय निर्वाचनमा राम्रो गर्यौँ भने आगामी निर्वाचनमा हामी जित्न सक्छौँ ।’ उनले एमसिसीका सन्दर्भमा भने इतर समूहमा पार्टीको भन्दा फरक धारणा नरहेको बताए । कोइरालाले मंगलबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् ।
हामीले अनौपचारिक रूपमा धेरै छलफल गर्यौँ । निर्वाचनमा घोषित तालमेलको अर्थ छैन । गठबन्धनका कारण कांग्रेसको छवि र मौलिकतामा प्रभाव पारेको छ । विशेष अवस्थामा बनेको गठबन्धनको औचित्य सकिसकेको छ ।
गुरुराज घिमिर, नेता, कांग्रेस
स्थानीय तहको निर्वाचनकेन्द्रित छलफल हुने
कांग्रेसको कार्यसम्पादन समितिको पहिलो बैठकमा स्थानीय तहको निर्वाचनकेन्द्रित एजेन्डामा छलफल हुने भएको छ । कांग्रेसले बुधबार कार्यसम्पादन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिँदै चुनावकेन्द्रित छलफल गर्ने निर्णय गरेको हो । कांग्रेस पदाधिकारीले सभापति देउवासँग भेट गरी बैठकले एजेन्डालाई अन्तिम रूप दिएका हुन् ।
बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विषय र अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशनलगायतका एजेन्डा तय भएका थिए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवासँग छलफल गरेर बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्ने तय भएको बताए । उनले बैठकले स्थानीय तहको निर्वाचनबारे रणनीति तय गर्ने जानकारी दिए ।‘मंगलबार बसेको पदाधिकारी बैठकबारे सभापतिलाई जानकारी गरायौँ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्ने तय भएको छ । भ्रातृ तथा शुभेच्छुक संस्थाको विषय र १६ जिल्लाको अधिवेशनका एजेन्डाबारे पनि छलफल हुनेछ ।’
स्थानीय तह निर्वाचनको मिति तय नहुँदै बैठका एजेन्डा तय भएकाले निर्वाचनबारे केही उल्लेख गरिएको थिएन । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले एजेन्डाबारे छलफल गरेको थियो । सभापति देउवा व्यस्तताका कारण देखाउँदै मंगलबार बैठकमा उपस्थित भएका थिएनन् । बैठकमा सभापति देउवा, सहमहामन्त्रीद्वय महेन्द्र यादव र महालक्ष्मी उपाध्याय डिनाबाहेकका पदाधिकारीको उपस्थिति थियो ।
मंगलबारको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पदाधिकारीहरूसँग कार्यसम्पादन समितिको बैठकका विषयमा छलफल गरेका थिए । छलफलले सभापति देउवासँग भेटेर एजेन्डाबारे थप छलफल गर्ने निर्णय गरेको थियो । १४ माघमा बसेको कांग्रेस बैठकले कार्यसमिति बैठक नभएको अवस्थामा आवश्यक निर्णय लिन ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो ।