१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १७:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पशुपतिमा अवैध रूपमा राखिएको ‘कृपालु महाराज’ उद्यानको नाम बल्ल फेरियो, सम्झौता रद्द अझै भएन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:o५:oo

पशुपतिस्थित वनकाली मन्दिर क्षेत्रमा युनेस्कोको मापदण्डविपरीत निर्माण गरिएको ‘कृपालु महाराज’ उद्यानको नाम फेरिएको छ । पुरातत्व विभागको अनुमतिविना र सर्वाेच्चको आदेशविपरीत बनाइएको उद्यानले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको गरिमा एवं पुरातात्वविक मापदण्ड उल्लंघन गरेर राखिएको नाम हटाएर वनकाली उद्यान, पशुपति राखिएको छ ।

युनेस्को र पुरातत्व विभागको स्वीकृति नलि पशुपति क्षेत्रजस्तो विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा कृपालु महाराजलगायत विभिन्न महाराजको नाममा उद्यान सञ्चालन तथा शीलालेख स्वीकृति दिनु कानुनअनुरूप कार्य नभएको भन्दै राष्ट्रिय सतर्कताले सो कार्यमा संलग्नलाई कारबाही गरी सम्झौता पुनरावलोकन रद्द गर्न भनेपछि हतारहतार नाम फेरिएको हो । ९० रोपनीमा  फैलिएको यो उद्यानमा कंक्रिटका संरचना निर्माण गरिएका छन् भने ‘कृपालु उद्यान वनकाली, प्रेरक स्वामी हरिदासजी’ उल्लेख गरिएका शीलालेख र मूलगेटमा ‘कृपालु उद्यान वनकाली’ लेखिएको थियो । 

पुरातत्व विभागले पनि २८ पुस २०७७ मा कोषलाई पत्र लेख्दै विभागको स्वीकृतिविना नै अनधिकृत रूपमा उद्यानको नयाँ नामकरण गरिएको भन्दै तीन दिनभित्र बोर्ड हटाउन भनेको थियो ।अहिले आएर बल्ल आदेशको कार्यान्वयन भएको छ ।पशुपति क्षेत्र विकास कोष र श्रीराधामाधव समितिबीच १३ असार २०७१ को सम्झौताअनुसार वनकाली मन्दिरको पूर्वउत्तरको वनक्षेत्र, भुकन्टोलको भण्डारी गुठी घरको दक्षिणमा रहेको ९० रोपनी जग्गामा उद्यान निर्माण भएको हो । सतर्कताले भने सम्झौता नै खारेज गरेर पशुपति क्षेत्र विकास कोषमातहत ल्याउन भनेको छ ।

कार्यसम्पादन समिति (सदस्यसचिव नेतृत्वको)लाई उद्यान सञ्चालन गर्न स्वीकति दिने अधिकार नरहे पनि आफूखुसी सञ्चालन गर्न दिएकाले गैरकानुनी रहेको सतर्कताको ठहर छ ।प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा पुरातत्व विभागबाट प्राचीन स्मारक तथा पुरातात्विक सम्पदा भनी सूचीकरण भएका क्षेत्रमा निर्माण, मर्मत, पार्किङलगायतका कार्य गर्नुपूर्व पुरातत्व विभागको स्वीकृति लिनुपर्ने व्यवस्था छ । 

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले पशुपतिमा नयाँ नामबाट उद्यान स्थापित हुनुपर्ने जरुरी नरहेको बताए । ‘पशुपतिनाथ र वनकालीको आफ्नै धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व छ । पशुपति क्षेत्र धार्मिक आस्था मात्र होइन विश्व सम्पदामा सूचीकृत भएकाले संरक्षण गर्नु दायित्व हु्न्छ । त्यहाँ नयाँनयाँ नामबाट उद्यान वा अरू विषय स्थापित हुनुपर्ने जरूरी छैन, मिल्दैन,’ उनले भने ।
 

ad
ad