१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Friday, 09 May, 2025
२o७८ माघ १८ मंगलबार १४:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट अभावमा रंगशाला निर्माणमा ढिलाइ, १० वर्षमा १५ प्रतिशत प्रगति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार १४:१६:oo

दक्ष खेलाडी उत्पादन र खेलमैदानको व्यवस्थापनका लागि रुपन्देही क्रिकेट संघले लुम्बिनी प्रदेश सरकारसँग ५० लाख रुपैयाँ बजेट माग गरेको छ। सोमबार सिद्धार्थ रंगशालाको खेलमैदान अवलोकनका लागि भैरहवा आएका प्रदेशका खेलकुदमन्त्री बसिउद्दिन खानसँग भेटेर संघका पदाधिकारीले प्रदेश सरकारबाट सामग्री खरिदका लागि बजेट व्यवस्थापन गर्न माग गरेका संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए।

संघीय सरकारबाट डिपिआर बनाएर निर्माण गरिएको रंगशालामा खेल्न खेलाडीलाई अत्यावश्यक सामग्री नभएकाले बजेट माग गरिएको अध्यक्ष थापाले बताए। संघीय सरकारबाट पूर्वाधार निमार्णका लागि आउने बजेट क्रिकेट संघको मातहतमा नहुने भएकाले रंगशालामा खेल खेलाउन र खेल सामग्री खरिद गर्नका लागि उद्योगी व्यवसायी, स्थानीय तह, स्वयम् खेलाडी र पदाधिकारीहरूले बजेट व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उनले बताए। केन्द्र सरकारले भौतिक पूर्वाधारबाहेक अन्य क्षेत्रमा बजेट उपलब्ध नगराउँदा खेलको विकास हुन नसकेको संघका थापाले बताए।

सरकारले पूर्वाधारका लागि बजेट विनियोजन गर्ने गरेको बताउँदै नेपाल क्रिकेट संघका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले खेलाडीको क्षमता विकास, वर्षातकाे समयमा खेलमैदानमा बढेको घाँस काट्ने, भत्किएको मैदान बनाउनेलगायतका काम गर्न अभाव भएको बताए। रंगशाला अवलोकनका क्रममा मन्त्री खानले संघीय सरकारबाट बनिरहेको रंगशाला निर्माणका लागि प्रदेश सरकारले थप बजेट विनियोजन गर्न नमिल्ने बताउँदै प्रदेश सरकारले मैदान मर्मत र व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गर्न सक्ने बताए। 

रंगशालालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन १० वर्ष पहिलेदेखि सुरु भए पनि पर्याप्त बजेट  नहुँदा रंगशाला निर्माणले गति लिन सकेको छैन। आवश्यकताभन्दा निकै कम बजेट मैदान स्तरोन्नतिका लागि आउने गरेकाले निर्माण प्रक्रियामा ढिलाइ हुने गरेको रुपन्देही क्रिकेट संघले जनाएको छ।

संघीय सरकारबाटै बजेट विनियोजन गरी टेन्डर प्रक्रियामा जाने भएकाले आवश्यक सामग्री खरिदका लागि सहयोग नै आवश्यक पर्ने गरेको संघका सल्लाहकार प्रेम सेन्चुरीले बताए। निजी क्षेत्रलगायतबाट क्रिकेटको विकासका लागि धेरै सहयोग भए पनि सरकारी निकायबाट सहयोग हुन नसकेको सेन्चुरीले बताए। सिद्धार्थ रंगशालामा नियमित खेल सञ्चालनका लागि तत्काल ५० लाख रुपैयाँबराबरको सामग्री आवश्यक पर्ने संघका सचिव सञ्जय गुरुङले बताए।

०६८ सालदेखि सुरु भएको खेलमैदानको स्तरोन्नतिका लागि हालसम्म करिब १० करोड रुपैयाँ खर्च भएको छ। सात बिघा क्षेत्रफलमा फैलिएको मैदानमा प्याभेलियन भवन, मैदान सम्याउने, मैदानबाहिर तारजाली लगाउने, ढल व्यवस्थापन, पिच निर्माण, भवनअगाडि टायल बिछ्याउने, गार्ड रुम, स्टोर निर्माणकाे काम भएको छ भने शौचालयसहितको तीनतले भिआइपी प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

राष्ट्रिय खेलकुद परिषद्ले सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्न मिल्ने गरी डिपिआर बनाएर काम सुरु गरेको थियो। नियमित रूपमा बजेट नआउँदा र बजेट रकम कम हुँदा १० वर्षको अवधिमा १५ प्रतिशत काम मात्र सम्पन्न भएको छ।  सात हजार दर्शक अटाउने प्याराफिटसहितको डिपिआर बनाएर निर्माण सुरु गरिएको थियो। डिपिआरअनुसार रंगशाला निर्माणका लागि करिब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।