१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सम्पादकीय
२०७५ फाल्गुण २४ शुक्रबार ०७:४१:००
Read Time : > 1 मिनेट
सम्पादकीय

आठ मार्चको सान्दर्भिकता

Read Time : > 1 मिनेट
सम्पादकीय
२०७५ फाल्गुण २४ शुक्रबार ०७:४१:००

आज संसारभर नै अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमसाथ मनाइँदै छ । नेपालमा पनि ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने मूल नारासाथ यो दिवस मनाउन लागिएको छ । विश्वका केही देश महिला अधिकार र लैंगिक समानताका दृष्टिले अत्यन्त उच्च सूचक भएका देशमा बदलिए पनि महिलामाथिको विभेद, लैंगिक हिंसा, वैवाहिक संस्थाका रूपमा महिलाले निर्वाह गर्ने भूमिका, समान कामको समान ज्यालाको विषय, कार्यथलोमा हुने यौन दुव्र्यवहारजस्ता पक्षबाट अझै अधिकांश देशमा महिलामाथिको विभेद यथावत् छ ।

सामाजिक बनोट र परम्परा, धार्मिक विश्वास, आर्थिक विकास र विद्यमान कानुनी प्रावधानले पनि महिलालाई विभेद गर्ने पक्षलाई समर्थन र सहयोग गरिरहेका छन् । महिलालाई जीविकाका लागि हुने बसाइँ–सराइ, बेचबिखन र बलात्कारजन्य घटनाका जोखिम अझै कायम छन् । यसैले नारी दिवस या आठ मार्च मनाइरहनुको अर्थ विकासोन्मुख देशमा बढी महत्वको छ । आठ मार्चको परम्परा आजभन्दा सवा सय वर्षपहिले युरोपमा थालिएको महिलाको मताधिकारसम्बन्धी मागसँग जोडिन्छ । सन् १९११ देखि मनाउन थालिएको यस दिवसलाई सुरुमा श्रमिक महिला दिवस भनिए पनि पछि समग्र महिलाको उत्थान र लैंगिक समानताको आन्दोलनको प्रतीकका रूपमा मनाउन थालिएको हो । 

विभेदमा परेका महिलाको अवस्थाबारे बहस गर्नु र विभेदकारी अवस्था कायम हुनुमा जिम्मेवार सामाजिक तथा राजनीतिक अवस्था बदल्न दबाब दिनु नारी दिवसको सान्दर्भिकता हो

नेपालमा गतवर्ष पनि महिला हिंसा र हत्याका घटनामा कमी आएन । कलिला काखे नानीदेखि ७० कटेका वृद्धासम्म बलात्कारका सिकार बने । यस वर्ष विशेष चर्चामा भने कञ्चनपुरकी किशोरी १४ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषय रह्यो । ११ साउनको घटनाका अपराधी अझै पत्ता लागेका छैनन् । दोषीले दण्ड पाएका छैनन् । यस वर्ष पनि केही जिल्लामा छाउपडी गोठमा बस्नुपर्ने बाध्यताका सिकार भएर केही महिला तथा किशोरीले ज्यान गुमाए ।

दाइजो दिन नसकेका कारण हुने हत्या र आत्महत्याका घटनामा यस वर्ष पनि कमी आएन । दलित महिला भएकै कारण अनेक विभेद र हिंसाको सिकार भएका घटना पनि यस वर्ष सार्वजनिक भइरहे । अर्कातिर अझै पनि महिलालाई स्वतन्त्र रूपमा आमा बन्न पाउने अधिकारबाट वञ्चित गर्ने गरी कानुन ल्याउन दबाब दिइएकै छ । खासगरी नागरिकतासम्बन्धी प्रस्तावित ऐनको प्रावधान त्यस्तो बनाउने प्रयास भइरहेको छ ।

महिला बेचबिखनका नयाँ–नयाँ घटना सार्वजनिक हुने क्रम पनि बढ्दो छ । हाम्रो सामाजिक, सांस्कृतिक मूल्य र महिला–पुरुषबीचको परम्परागत शक्ति सम्बन्धका कारण संविधान र ऐनले दिएका अधिकार उपभोग गर्नबाट समेत महिला वञ्चित हुने अवस्था छ । महिला पछि मात्र परेका छन् भन्ने पनि होइन । पेसागत संलग्नता, आर्थिक स्वतन्त्रता र सार्वजनिक वृत्तमा उपस्थितिका दृष्टिले महिलाको अवस्था पहिलेभन्दा निकै माथि उठिरहेको छ । राजनीतिक तहमा हुने सहभागिता पनि उल्लेख्य रूपमा सकारात्मक छ । तर, विभेदमा परेका महिलाको अवस्थाबारे बहस गर्नु र विभेदकारी अवस्था कायम हुनुमा जिम्मेवार सामाजिक तथा राजनीतिक अवस्था बदल्न दबाब दिनु नारी दिवसको खास महत्वको काम हो । नारी दिवसका सन्दर्भमा सबै महिलामा शुभकामना !