संविधानसभा सदस्य डा. दुमन थापाको निधन भएको छ । गएराति ६२ वर्षका उमेरमा उनको निधन भएको हो । मिर्गौला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । डा. थापा नेकपा एकीकृत समाजवादी पार्टीको निर्वाचन आयोगको सदस्यका रूपमा क्रियाशील थिए । उनी नयाँ पत्रिका दैनिकका पूर्वअध्यक्षसमेत हुन् ।
संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधि गरेका नेता डा. थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।