१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ माघ १५ शनिबार २०:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेनाले यो वर्ष ९३ ब्यारेक निर्माण गर्दै, राष्ट्रिय योजना आयोगलाई जंगी अड्डामा ब्रिफिङ

Read Time : < 1 मिनेट
२०७८ माघ १५ शनिबार २०:५४:००

नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसहित रक्षा र अर्थ मन्त्रालयका उच्च अधिकारीलाई शनिबार बंकर टु ब्यारेक कार्यक्रम तथा सेनाको दृष्टिकोण २०८७ बारे ब्रिफिङ गरेको छ । जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, बलाधिकृत रथी बालकृष्ण कार्कीलगायतले चालू आर्थिक वर्ष सेनाले ९३ वटा ब्यारेक निर्माणमा भएका प्रगतिबारे जानकारी दिएका छन् ।

चालू आर्थिक वर्ष सेनाले ९३ वटा ब्यारेक घर निर्माण गर्दै छ । सेनालाई आवश्यक १७५ ब्यारेकमध्ये बजेटको सीमितताका कारण सेनाले ९३ ब्यारेक निर्माण गर्दै छ । सरकारले जंगी अड्डालाई यो वर्ष विनियोजन गरेको ६ अर्ब ६३ करोड ७ लाख रुपैयाँ पुँजीगत खर्चमध्ये बंकर टु ब्यारेक कार्यक्रमका लागि २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएको छ । यही बजेटबाट सेनाले देशभरिका विभिन्न ठाउँमा ब्यारेक निर्माण गर्न लागेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेलसहितको टोलीले जंगी अड्डाको प्रस्तुतीकरणपछि ओखलढुंगा, खोटाङ, रामेछापमा रहेका बंकर र निर्माणाधीन ब्यारेकको स्थलगत भ्रमण गरेको थियो । ओखलढुंगामा अरिदमन गण तथा खोटाङ ऐँसेलुखर्क, रामेछापको रामेछाप बजार तथा दोरम्बामा रहेको नयाँँ गोरख गणको ब्यारेक र सुरक्षा गुल्मको भ्रमण गरेको जानकारी पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

‘विसं २०५८ देखि २०६२ को बिचमा नेपाली सेनाको संख्या लगभग ४० हजारबाट बढेर लगभग ९० हजार पुग्यो । तीमध्ये धेरै सैनिक जवानहरु आर्थिक रूपले साधारण घरपरिवारका सदस्य हुन्,’ पौडेलले भनेका छन्, ‘उनीहरू बस्ने बंकरहरूमध्ये कतिपय अझै जीर्ण र अस्वस्थकर अवस्थामा छन् । ती बंकरहरूलाई बस्नयोग्य घरहरू भएको ब्यारेकमा परिवर्तन गर्न, साधारण जवानहरूलाई डिस्टान्स लर्निङलगायतका विभिन्न शिक्षा हासिल गर्ने मौका दिलाउन सरकार प्रतिबद्ध छ ।’ 

स्थलगत भ्रमणमा रक्षासचिव किरणराज शर्मा, बलाधिकृत रथी बालकृष्ण कार्कीलगायत सहभागी थिए ।