मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ १२ बुधबार १९:०५:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आहा ! रारा गोल्डकप : एपिएफ उपाधि नजिक पुग्दा मच्छिन्द्र बाहिरियो

Read Time : > 1 मिनेट
२०७८ माघ १२ बुधबार १९:०५:००

विभागीय टोली एपिएफ क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्दा मच्छिन्द्र फुटबल क्लब भने बाहिरिएको छ। पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपिएफले ३–१ गोल अन्तरले मच्छिन्द्रलाई पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गर्दै उपाधि नजिक पुगेको हो। हारसँगै मच्छिन्द्र भने प्रतियोगिताबाट बाहिरिएको छ।

उपाधिका लागि एपिएफ विभागीय त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच बिहीबार हुने सेमिफाइनल खेलको विजेतासँग फाइनल खेलमा भिड्नेछ। यसअघि उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनको यात्रा तय गरेको एपिएफले क्वाटरफाइनलमा पाहुना टोली अमेरिकाको बिवाइएससी मिनेसोटा ३–१ गोलले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो। बाई पाएर सीधै क्वाटरफाइनल खेलेको मच्छिन्द्रले क्वाटरफाइनलको खेलमा साबत्रिक विजेता संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

निकै प्रतिस्पर्धात्मक खेलमा खेलको पहिलो हाफमा दुवै टोलीले एक एक गोल गरेका थिए। खेलको दोस्रो हाफमा एपिएफले थप दुई गोल गर्दै अघिल्लो चरणको यात्रा तय गर्दा मच्छिन्द्र भने बाहिरिन बाध्य भएको हो। एपिएफ यसअघि २०६४ सालमा सम्पन्न प्रतियोगितामा फाइनल प्रवेश गरेको थियो।

एपिएफका लागि खेलको २५औँ मिनेटमा सनिस श्रेष्ठले सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। मणि लामाले करिब ३२ यार्डबाट हानेको फ्रिकिकलाई उपयोग गर्दै हुलमुलमा श्रेष्ठले पेनाल्टी क्षेत्रबाट जम्प गर्दै हेडमार्फत दोस्रोबार च्यापेर हानेको बलले जाली चुमेको थियो।  विपक्षी खेलाडी छिरिङ गुरुङले एपिएफका मणि लामालाई फल गरेपछि खेलका मुख्य रेफ्री नवीन्द्र महर्जनले फ्रिकिकको अवसर दिएका थिए।  

ओमोलाजा न्युरोनकरिमल खेलको ४०औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। एपिएफका सविन थापाले विपक्षी खेलाडी मेसुके ओलमेयुलाई फल गरेपछि पाएको फ्रिकिक कप्तान रंजित धिमालले प्रहार गरेका थिए। सोही बललाई उपयोग गर्दै ओमोलाजाले हेडमार्फत पेनाल्टी क्षेत्रबाट बललाई जाली चुमाएका थिए।

खेलको पहिलो हाफ एक एकको बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरु भएको २३ मिनेट अर्थात् खेलको ६८औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे। कप्तान नवीन लामाको करिब ३२ यार्डबाट दिएको क्रस पासमा लामाले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बलले पोस्टको दिशा तय गरेको थियो। 

खेलको ७१औँ मिनेटमा ओमोलाजा न्युरोनकरिमल दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै बाहिरिएपछि मछिन्द्र १० खेलाडीमा सीमित भएको थियो। खेलको ६८औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका उनले ७१ मिनेटमा पुनः अर्को पहेलो कार्ड पाएका थिए। दोस्रो पहेँलो कार्ड पाएपछि खेलका मुख्य रेफ्रीसँग विवाद गरेपछि उनी रातो कार्ड खाँदै मैदान बाहिरिन पुगेका थिए।

कप्तान नवीनले खेलको इन्जुरी समय ९०+५ मिनेटमा गोल गर्दै एपिएफलाई ३–१ को अग्रता दिलाए। आवास लामिछानेले डिबक्सभित्रबाट पोस्टतर्फ प्रहार गरेको बल मच्छिन्द्रका गोलकिपर सूर्य अधिकारी अगाडि बढेर नियन्त्रणमा लिन खोज्दा फुत्किएको बललाई उपयोग गर्दै नवीनले गोल लाइननजिकैबाट प्रहार गरेको बलले पोस्टको सही दिशा लिन सफल भएको थियो।

१ विदेशीसहित १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र पुरस्कार पाउनेछन्। यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटरसँगै वेस्ट अफ फाइफ विधातर्फ उत्कृष्ठ हुनेले नगद २५ हजारसँगै ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।