१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ माघ ११ मंगलबार १९:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तलब नपाएको भन्दै नगरपालिका घेराउ

Read Time : > 1 मिनेट
२०७८ माघ ११ मंगलबार १९:५३:००

सिराहाको लहान नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, बाल विकास सहजकर्ता तथा कार्यालय सहयोगीहरूले तलब सुविधा माग गर्दै मंगलबार नगर कार्यपालिका घेराउ गरेका छन् । चालू आर्थिक वर्ष २०७८–०७९ करिब साढे छ महिनासम्म पनि नगरपालिकाले तलब सुविधा निकासा नदिएपछि शिक्षक, कर्मचारी, बाल विकास सहजकर्ता तथा कार्यालय सहयोगीहरूले नगरपालिका घेराउ गर्दै तलब सुविधा माग गरेका हुन् ।

‘आर्थिक वर्ष सुरु भएको साढे छ महिनासम्म पनि तलब सुविधा रोकेपछि घरव्यवहार चलाउनै गाह्रो पर्यो,’ लहानस्थित पशुपति आदर्श मा.वि.का कर्मचारी कलरा मोचीले भने, ‘तलब सुविधाका लागि कैयौँपल्ट लिखित, मौखिक ताकेता गर्यौं । तर, सुनुवाइ नगरेपछि बाध्य भएर नगरपालिका घेराउ गर्नुपरेको हो ।’ उनका अनुसार नगर क्षेत्रका ५९ जना कार्यालय सहयोगी तथा कर्मचारीले साउनदेखिकै तलब पाएका छैनन् ।

नगरपालिकाअन्तर्गत २४ वडामा रहेका ५९ वटा सामुदायिक विद्यालयमा कार्यरत ५९ जना बाल विकास शिक्षकहरूलाई न्यूनतम तलब सुविधा दिनसमेत नगरपालिकाले आनाकानी गरिरहेको सरस्वती आधारभूत विद्यालय बाल विकास शिक्षिका रुचिका गुप्ताले गुनासो गरिन् । ‘जिल्लाका अन्य स्थानीय तहहरूले बाल विकास शिक्षकहरूलाई चालू आ.व.को पुससम्मको तलब सुविधा खुवाइसकेका छन् तर लहान नगर क्षेत्रका बाल विकास शिक्षकहरू भने भोको पेट खटिन बाध्य छौँ ।’

चालू आर्थिक वर्षको बजेटमा शिक्षा विभागबाट शिक्षा विकास तथा समन्वय इकाइमार्फत प्रतिबाल विकास शिक्षक मासिक आठ हजार र कम्तीमा सात हजार रुपैयाँ सम्बन्धित स्थानीय तहले तलब सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको गुप्ताले बताइन् । ‘लहान नगरपालिका आफूले थपेर त दिएको छैन, विभागबाट आएको बजेट पनि साढे छ महिनासम्म रोकेर हाम्रो घरव्यवहार नै अस्तव्यस्त बनायो,’ गुप्ताले भनिन् ।

कात्तिकदेखि शिक्षकको तलब रोकियो 
ज.मा.वि. सोनमती गाढा र सरस्वती आधारभूत विद्यालय गाढा, लहान २३, पशुपति आदर्श मा.वि. लहान १, आधारभूत विद्यालय ब्रम्हान गोर्छारी लहान २०, आधारभूत विद्यालय चम्पापुर लहान ५ लगायत पाँच विद्यालयका एक सय ५० जना शिक्षकहरूको कात्तिकदेखिको तलब सुविधा रोकिएको पशुपति आदर्श मा.वि.का प्रधानाध्यापक डा. महेन्द्रप्रसाद चौधरीले बताए ।

नगर क्षेत्रमा पर्ने ५९ वटा सामुदायिक विद्यालयमध्ये पाँचवटा विद्यालयका शिक्षकहरूको मात्र तलब सुविधा रोकिनु लहान नगरपालिकाका नगरप्रमुख मुनि साह सुडीको राजनीतिक प्रतिशोध मात्र रहेको आन्दोलनरत शिक्षकहरूको आरोप छ । 

नगरपालिकाले संघीय शिक्षा ऐन र नियमावलीसँग बाझिने गरी शिक्षा कार्यविधि बनाएको, न्यून तलब सुविधामा काम गर्ने बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूलाई अपायक ठाउँमा सरुवा गरेको, विद्यालय व्यवस्थापन समितिमा नगर शिक्षा शाखाले सोझै मनोनयन गरी राजनीतिक नियुक्ति दिएर संस्थापन इतरपक्षका शिक्षक, विद्यालयहरूलाई दुःख दिने काम गरिरहेको शिक्षकहरूको गुनासो छ । 

तलब छिट्टै निकासा हुन्छ : नगरपालिका
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह हलुवाईले बाल विकास केन्द्रका शिक्षिकाहरूको तलब सुविधाको बारेमा पछिल्लो नगरसभाले निर्णय गरिसकेकाले छिट्टै तलब निकासा हुने बताए । ‘प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल बिरामी बिदामा बसेकाले कार्यालयमा हाजिर भएलगत्तै बालविकास केन्द्रका शिक्षक– शिक्षिका, कार्यालय सहयोगी र शिक्षकहरूको कात्तिकदेखिको तलब निकासा हुन्छ,’ हलुवाईले भने।