
विभागीय त्रिभुवन आर्मी क्लब जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा थ्री स्टार क्लबलाई १–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
सेमिफाइनल प्रवेश गरेको आर्मीले फाइनल प्रवेशका लागि बिहीबार मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र थ्री स्टार बाई पाएर सीधै क्वाटरफाइनल प्रवेश गरेका थिए ।
आर्मीको जितमा खेलको ७०औँ मिनेटमा राजीव गुरुङले गरेको एक मात्र गोल निर्णायक बन्यो । टंक बस्नेतको स्थानमा खेलको ६४औँ मिनेटमा मैदान छिरेका गुरुङले गोल गर्दै टोलीका लागि अघिल्लो चरणको यात्रा तय गराएका हुन् ।
मैदानको करिब मध्य भागमा जर्ज प्रिन्स कार्कीले दिएको पासलाई मैदानको करिब ३७ यार्डबाट गुरुङले हानेको प्रहारले सीधै जाली चुमेको थियो । विपक्षी टोलीका किपरले गल्तीको फाइदा उठाउँदै उनले गोल गरेका थिए । विपक्षी किपर प्रिसो पोस्ट छाडेर डी बक्सबाहिर मैदानको करिब ३२ यार्ड अगाडि पुगेका थिए । गुरुङले खाली पोस्टमा गोल गरेका थिए ।
खेलमा एक गोलले पछि परेको प्रतियोगिताको पाँचपटकको विजेतासमेत रहेको थ्री स्टार खेलमा फकर्ने प्रयास गरे पनि सफल हुन सकेन ।
प्रतियोगितामा १ विदेशीसहित १० टोलीको सहभागिता रहेको छ ।