मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पाहुना टोली अमेरिकाको बिवाइएससी मिनेसोटा र एपिएफका खेलाडी गोल गर्ने प्रयासमा ।
२०७८ माघ ९ आइतबार ०९:०१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा ! रारा गोल्ड कप, एपिएफ अन्तिम चारमा

Read Time : > 1 मिनेट
२०७८ माघ ९ आइतबार ०९:०१:००

पाहुना टोली अमेरिकाको बिवाइएससी मिनेसोटा पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । पहिलोपटक सहभागी भएको बिवाइएससी पहिलो खेलबाटै घर फर्किंदा विभागीय एपिएफ क्लबसँग ३–१ गोलले पराजित हुन पुगेको थियोे । बिवाइएससी बाहिरिँदा एपिएफले भने अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनल खेलको जितसँगै एपिएफले अब फाइनल प्रवेशका लागि सोमबार हुने संकटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग बुधबार भिड्नेछ । उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले पराजित गर्दै एपिएफले क्वार्टरफाइनलको यात्रा तय गर्दा पाहुना टोली भने बाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

खेलमा सुरुवाती अग्रता कायम गरेको पाहुना टोलीले त्यसलाई जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिन बाध्य भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको दुई मिनेट अर्थात् खेलको ४७औँ मिनेटमा बिवाइएससीले अग्रता लिएको थियो । मिगल पेलाफक्सले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाउने क्रममा राइली युरीले मिलाइदिएको क्रसपासलाई उपयोग गरेका थिए । राइलीले दिएको पास विपक्षी एपिएफका राजन गुरुङले हेडमार्फत क्लियर गर्न खोज्दा पनि सकेनन् । यही बललाई मिगलले पोस्टको दिशा दिन सफल भए । 

खेलमा एक गोलले पछि परेसँगै दबाबमा परेको एपिएफ त्यसपछि खेलमा फर्कंदै लगातार तीन गोल गर्न सफल भयो । ७०औँ मिनेटमा एपिएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । विपक्षी खेलाडीले एपिएफका अर्मान्ड बेडाउनलाई पेनाल्टी एरियामा फल गरेपछि खेलका मुख्य रेफ्री नवीन्द्र महर्जनले दिएको पेनाल्टीको अवसरलाई आवासले उपयोग गरेका थिए ।

खेलको ८४औँ मिनेटमा खेलका म्यान अफ दी म्याचसमेत रहेका रवि थिङले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाउन सफल भए । खेलको ५८औँ मिनेटमा विक्की तामाङको स्थानमा थिङ मैदान प्रवेश गरेका थिए । आवासले दिएको थ्रु पासलाई उपयोग गर्दै पेनाल्टी क्षेत्रबाट सेकेन्ड बार च्याप्दै हानेको प्रहारले जाली चुमेको थियो ।

खेलको करिब अन्तिम (९०+४) मिनेटमा थिङले टोलीका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका थिए । पोनाल्टी क्षेत्रबाहिरबाट उनले हानेको कडा प्रहार सीधै जालीमा ठोक्किन पुगेको थियो ।

खेलपछि के भन्छन्  प्रशिक्षक ? 

कुमार थापा, एपिएफ
खेलमा डिफेन्सको केही कमजोरी रह्यो, जसका कारण योजनाअनुसारको खेल भएन । विपक्षी आफ्ना लागि नयाँ टोली भएकाले पहिलो हाफ उनीहरूको खेल बुझ्न गाह्रो भयो । पहिलो हाफको तुलनामा दोस्रो हाफमा खेल योजनामा केही परिवर्तन गरेर खोल्यौँ र जित्यौँ । आज खेलाडीले गरेका कमजोरी अर्को खेलमा सुधार गर्नेछौँ ।

प्रलयराज भण्डारी, बिवाइएससी 
रेफ्रीको गलत निर्णयका कारण हार्‍यौँ । अफसाइड भइसकेको खेलाडीलाई फल गरेको भन्नु नै रेफ्रीको गलत निर्णय रह्यो । त्यसपछि विपक्षीले पेनाल्टी पाउनु र गोल गर्नु नै टोलीका लागि हारको कारण बन्यो । पेनाल्टीमा गोल नभएको भए खेल आफूहरूले जित्ने निश्चित थियो । टोलीका खेलाडीमा स्ट्याइकिङमा समेत केही कमजोरी रह्यो ।