१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ माघ ९ आइतबार ०६:१९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

तेस्रो लहरका क्रममा एकैदिन १६ संक्रमितको मृत्यु

Read Time : > 1 मिनेट
२०७८ माघ ९ आइतबार ०६:१९:००

स्वास्थ्य मन्त्रालयका अनुसार मृतक सबै दीर्घरोगी, १३ जना खोप नलगाएका

ओमिक्रोन भेटियन्ट भित्रिएसँगै कोरोनाको तेस्रो छाल सुरु भएको २२औँ दिनमा एकैदिन १६ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको तुलनामा चार गुणाले बढेर शनिबार १६ संक्रमितको मृत्यु भएको हो । केही महिनायता दैनिक औसत मृत्युदर तीनजना मात्रै रहेकोमा शुक्रबार चारजनाको मृत्यु भएको थियो । 

शनिबारको मृत्यु संख्या चार महिनायताकै सर्वाधिक हो । यसअघि गत २ असोजमा १६ संक्रमितको मृत्यु भएको थियो । त्यतिवेला डेल्टा भेरियन्ट फैलिएको थियो । पुसमा ओमिक्रोन भित्रिँदा पनि डेल्टा भेटियन्ट भने निख्रिएको थिएन । एस जिन सिक्वेन्सिङ नगराएका कारण दुवै भेरियन्टको संक्रमण छ या ओमिक्रोन मात्रै भन्ने निश्चित छैन । त्यसैले कुन भेरियन्टले मृत्यु भएको भन्नेमा सरकार नै अनभिज्ञ छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल कुन भेरियन्टले मृत्यु भएको भन्न नसकिने बताउँछन् । ‘शनिबार एकैदिन १६ संक्रमितको मृत्यु भयो, तर कुन भेरियन्टले मृत्यु भएको भन्न सक्ने अवस्था छैन । त्यसरी छुट्याउन जिनोम सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ जुन गर्ने गरिएको छैन,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृतक सबै दीर्घरोगी हुन् । उनीहरूमध्ये तीनजनाले मात्रै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको र १३ जनाले एक डोज पनि नलगाएको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । तेस्रो छाल भित्रिएपछि शनिबारसम्म मृत्यु हुने ५० मध्ये ४३ जनाले खोप नलगाएको पनि उनको भनाइ छ । 

‘१६ पुसयता २२ दिनमा ५० संक्रमितले ज्यान गुमाएका छन् । यीमध्ये सातजनाले मात्रै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका थिए । बाँकी ४३ जनाले कुनै मात्रा पनि लगाएका थिएनन्,’ डा. अधिकारीले भने, ‘मृत्यु भएकाहरू मिर्गौला, क्यान्सर र सुगरका दीर्घरोगी थिए ।’ 

शनिबार १० हजार दुई सय ५४ नयाँ संक्रमित थपिएका छन् । २० हजार एक सय ८७ नमुना परीक्षणमा ५०.८ प्रतिशतको पजिटिभ रिपोर्ट आएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ७२ हजार आठ सय ६२ पुगेको छ । 

ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. विमल शर्मा चालिसे अहिले संक्रमितको संख्या तीव्र बढे पनि अस्पताल भर्ना हुनुपर्ने अवस्था कमैलाई भएको नाममा लापरबाही बढ्नु गम्भीर चिन्ताको विषय भएको बताउँछन् । भाइरसले जुनसुकै वेला पनि भयावह रूप लिन सक्ने उनको चेतावनी छ । 

‘संक्रमण तीव्र भए पनि स्वास्थ्य समस्या खासै देखिएन भनेर मापदण्ड पालना नगर्ने बढेका छन् । सामाजिक दूरी कायम नराख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने काम भएको छ । चिन्ताको विषय नै यही हो,’ उनले भने, ‘भाइरसले जुनकुनै वेला आफ्नो स्वरूप परिवर्तन गरेर भयावह अवस्था ल्याउन सक्छ ।’