कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार र ललितपुरले बुधबारदेखि अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गरेका छन् । त्यस्तै, राहदानी विभागले पनि आजदेखि अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले पनि कोरोना संक्रमण बढ्न थालेपछि कोरोनासँग सम्बन्धितबाहेकका सेवा बन्द गर्ने तयारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सिडिओसहित १८ कर्मचारीलाई कोरोना देखिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका १५ जना र भक्तपुरका पाँचजना कर्मचारी संक्रमित छन् । भक्तपुरले बिहीबारदेखि अत्यावश्यकबाहेकका सेवा कटौती गर्ने जनाएको छ । तीनवटै प्रशासन कार्यालयले नेपाली नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र, राहदानीलगायत सेवा नदिने निर्णय गरेका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले शान्तिसुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन भइरहने बताए । उनका अनुसार कर्मचारीलाई संक्रमण देखिएपछि प्रशासनले केही दिनका लागि नियमित सेवा कटौती गरेको हो । ‘कोरोना संक्रमण बढेको छ, सेवा लिन आउँदा वा सेवा दिँदा पनि संक्रमण फैलने डर छ, त्यसैले शान्तिसुरक्षा र कोरोनासँग सम्बन्धितबाहेकका अन्य सेवा केही दिनका लागि बन्द गरेका छौँ,’ उनले भने ।
त्यस्तै, काठमाडौं र ललितपुर महानगरपालिकाका कर्मचारीमा पनि कोरोना संक्रमण बढेको छ । काठमाडौं महानगरका नगर प्रहरीसहित करिब ९० जनालाई कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ५० जना वातावरण विभागका छन् । ललितपुर महानगरका ४० जना कर्मचारी कोरोना संक्रमित भएका छन् । कर्मचारीमा संक्रमणदर बढेपछि महानगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने तयारी गरेका छन् । ‘सेवासुविधा बन्द त गरेका छैनौँ, तर संक्रमण अवस्था हेर्दा बन्द गर्नुपर्ने अवस्था देखियो,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगाेलले भने, ‘कोरोनासँग सम्बन्धित र अत्यावश्यकबाहेकका सेवा कटौती गर्ने तयारीमा छौँ ।’
ललितपुर महानगरपालिकाका प्रवक्ता रुद्र गौतमले पनि कर्मचारीमा संक्रमण फैलने क्रम बढेपछि कार्यालयले प्रवाह गर्ने सामान्य सेवाहरू बन्द गर्ने बताए । ‘कोरोना तीव्र गतिमा बढेको छ, केही दिनको निम्ति सामान्य सेवा बन्द गर्ने तयारी हुँदै छ,’ उनले भने ।
राहदानी र पञ्जीकरणका सेवा कटौती, यातायातले पनि कटौती गर्ने
त्यस्तै, केन्द्रीय पञ्जीकरण विभाग र राहदानी विभागका कर्मचारीलाई कोरोना देखिएपछि राष्ट्रिय परिचयपत्र सेवा कटौती गरिएको छ । राहदानी विभागका १५ जना र पञ्जीकरणको सातजना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । यी कार्यालयले अत्यावश्यक अवस्थामा मात्रै राष्ट्रिय परिचयपत्र र राहदानीको सेवा दिइने जनाएका छन् ।
यातायात व्यवस्था विभागले पनि कोरोना संक्रमण फैलने अवस्था देखिएकाले सेवा बन्द गर्ने तयारी गरेको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले सेवा दिने वा बन्द गर्ने विषयमा अहिले छलफल चलिरहेको बताए । ‘यातायात कार्यालयहरूमा ज्यादै नै भिड देखिएको छ, त्यसकारण हामीले केही कडाइ र केही सेवा कटौती गर्ने तयारीमा छौँ,’ उनले भने ।
प्रहरी कार्यालयमा पनि संक्रमण बढ्दो
नेपाल प्रहरीले पनि संक्रमणदर बढ्न थाले पनि प्रहरी कार्यालयमा हुने भिडलाई कडाइ गरेको छ । प्रहरीले सकेसम्म अत्यावश्यकबाहेकका सेवा नलिन पनि अनुरोध गरेको छ । प्रहरी कर्मचारीलाई समेत संक्रमण देखिएको भन्दै केही समयका लागि सामान्य कामले सेवाग्राहीलाई कार्यालय नआउन अनुरोध गरिएको छ । अहिले महानगरीय प्रहरी परिसरका २८ जना र नयाँ बानेश्वर वृत्तका सातजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य वृत्त तथा प्रभागहरूमा पनि संक्रमण बढेको र कर्मचारीलाई कोरोनाका लक्षण देखिएको परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । उनले प्रहरी कार्यालयमा हुने भिडलाई कम गर्न थप कडाइ गरिएको बताए । त्यस्तै, ललितपुर परिसरमा एसएसपीसहित ११ जनालाई कोरोना संक्रमण देखिएको छ । भक्तपुर परिसरका १० जना प्रहरी कर्मचारी संक्रमित छन् ।