मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ५ बुधबार १५:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा हजारजना अट्ने क्षमताको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा, सञ्चालन र व्यवस्थापनमा अन्याेल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ५ बुधबार १५:०३:००

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजारजना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाखमा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालघारी क्षेत्रमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । 

नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ । कम्पनीले होल्डिङ सेन्टरमा विद्युत् आपूर्तिका लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ । होल्डिङ सेन्टरको नब्बे प्रतिशतभन्दा बढी प्रगति भएको छ  निर्माण कम्पनीले जनाएको छ ।

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निमार्णको कार्यमा ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निर्माण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ । २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैयाँ भुक्तानी लिएको अवस्था छ । 

कस्तो छ होल्डिङ सेन्टर ? 

तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको २२ वटा अलगअलग ब्लग छन् । निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूर्ण सेवा सुविधासहित होल्डिङ सेन्टर निर्माण भएको छ । संरचनागत भवन सबै निर्माण भएको र फिटिङको काम मात्रै बाँकी रहेको छ । पुस मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ ।

कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गर्दै निर्माण सुरु गरिएको होल्डिङ सेन्टर निर्माण कार्य अब केही समयभित्रै सम्पन्न गर्नेसमेत ठेकेदार कम्पनीले जनाएको छ । नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल–आइसोलेसनमा पठाउने गरी मन्त्रिपरिषद्ले नेपाल–भारत सीमानाका नजिकै आठ र उपत्यकामा दुई गरी १० ठाउँमा प्रत्येकमा हजारजना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । 

सञ्चालन तथा व्यवस्थापनमा अन्याेल 

यस्तै होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा भए पनि यसलाई कसले, कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषयमा भने अन्याेल रहेको छ । होल्डिङ सेन्टरको तीन सय बेड तयारी अवस्थामा छन् । जिल्लाभर अहिले कोरोना संक्रमणदर बढिरहेको छ । जिल्लाको एक मात्र महाकाली अस्पतालमा दिनानुदिन संक्रमितहरू बढिरहेको अवस्था छ । भारतसँग खुला सिमाना भएको जिल्ला प्रत्येक दिन सयौँको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ । निर्माणको चरणमा रहेको होल्डिङ सेन्टरलाई सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले हेरिरहेको छ । तर,  होल्डिङ सेन्टर निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएपछि पछाडि पनि नेपाली सेनाले नै सञ्चालन तथा व्यवस्थापन गर्ने वा कसले कसरी सञ्चालन गर्ने भन्ने विषय भने स्पष्ट रूपमा तय नहुँदा सञ्चालनमा अन्याेल छाएको छ । जिल्ला प्रशासन कार्यालयले भने नेपाल सरकारको माघ २ गतेको निर्णयअनुसार सञ्चालन गर्ने जनाएको छ ।

होल्डिङ सेन्टर निर्माणपछि भने जिल्लामा बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न केही सहज तथा सहयोग पुग्ने विश्वास लिइएको छ । जिल्लामा हालसम्म नाै हजार दुई सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।