१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २४ सोमबार o८:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

स्वास्थ्य कार्यालय कञ्चनपुर प्रमुखको मनपरी, आफू कार्यरत संस्थामै श्रीमतीलाई करारमा जागिर

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४५:oo

स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख शिवराज सुनारले श्रीमती रेखाकुमारी सुनारलाई आफू कार्यरत संस्थामा जागिर खुवाएका छन् । उनले आत्महत्या रोकथाम तथा विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रमका लागि हेल्थ असिस्टेन्ट र स्टाफ नर्स दुईजनाको पदमा श्रीमती रेखालाई भर्ना गरेको पाइएको छ । करारमा भर्ना गरेर श्रीमतीलाई काम नगरीकनै सेवासुविधा दिलाउने गरेका छन् । 

स्वास्थ्य कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा करारका विभिन्न पदमा आठजना कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको थियो । आत्महत्या रोकथाम तथा विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रमका लागि १२ जनाले दरखास्त दिएका थिए । कार्यालय प्रमुख सुनारले शक्तिको भरमा आफ्नै श्रीमतीलाई जागिर खुवाएको खुलेको हो । 

समाजमा बढ्दै गएको आत्महत्या कार्यक्रम रोकथामका लागि सरकारले ल्याएको कार्यक्रमअन्तर्गत करारमा कर्मचारी भर्ना गरे पनि काममा नलगाईकनै तलबभत्ता दिएको भन्दै कर्मचारीहरू असन्तुष्ट भएका छन् । ‘कोरोना महामारीका वेला हामी भने खटिएर काम गर्नुपर्छ, तर कार्यालय प्रमुखले श्रीमतीलाई काममा नलगाईकनै तलब खुवाउँदै आएका छन्,’ एक कर्मचारीले भने, ‘अधिकारको दुरुपयोग कसरी हुँदो रहेछ भन्ने गतिलो उदाहरण हो यो ।’ 

कार्यालय प्रमुख सुनारले श्रीमती रेखालाई भर्ना गरेर शुक्लाफाँटा कार्यक्षेत्र हालेका थिए । तर, उनी कहिल्यै कार्यक्षेत्र नगएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सो नगरका विद्यालयमा गरिने तालिम जनस्वास्थ्य कार्यालयमै गर्ने गरिएको र कार्यालयमै हाजिर लगाएर तलब खाने गरेको स्रोतको दाबी छ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी गौरसिंह कार्कीले करारका कर्मचारी सबै कानुनअनुरूप भर्ना गरिएको दाबी गरे । ‘पदपूर्ति गर्दा लोकसेवा, प्रशासन, अस्पतालबाट प्रतिनिधि आएर गरेका हुन्,’ उनले भने, ‘कसको कता सेटिङ मलाई थाहा छैन, तर कर्मचारी भर्ना प्रक्रियाअनुरूप भएको छ ।’ उनले कार्यालय प्रमुखकी श्रीमती वा नाता पर्ने जोसुकैले योग्यता पुगे जागिर खान मिल्ने बताए ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सुनारले कानुनीअनुरूप नै कर्मचारी भर्ना गरिएको बताए । उनले बाहिर आए जस्तो पूरै विषय सत्य नभएको दाबी गरे । काम नगरीकनै श्रीमतीलाई तलब खुवाउने विषयसमेत आधारहीन भएको बताउँदै उनले केहीले प्रश्न उठाएको स्वीकार गरे । ‘म सुत्केरी बिदामा हुँदा पनि काम गरेको छु,’ उनले भने, ‘कोरोना रोकथामका लागि मेरो भूमिका कसैले बुझिदिएन, यो दुःखद विषय हो ।’ 

योग्यता नभए पनि नियुक्ति
आर्थिक वर्ष ०७६/०७७ मा स्वास्थ्य कार्यालयबाट सञ्चालित परिवार नियोजन सेवाका लागि भिजिटर प्रोभाइडर पदमा समेत कार्यालय प्रमुख सुनारले श्रीमती रेखाको योग्यता नपुगे पनि जागिर खुवाएका थिए । भिजिटर प्रोभाइडर पदका लागि आइयुसिटी इम्प्लान्ट कार्यक्रम तालिम लिएको हुनपर्छ । तर, कार्यालय प्रमुख सुनारकी श्रीमतीसँग तालिम प्रमाणपत्र नभए पनि उनलाई जागिर खुवाइएको थियो । २ चैत ०७६ मा कार्यालय प्रमुख सुनार आफैँले श्रीमती रेखाकुमारीलाई भिजिटर प्रोभाइडर पदमा नियुक्त गरेका थिए । 

०७७ असार मसान्तमा उक्त पदको म्याद समाप्त भएको थियो । त्यसपछि ३१ असार ०७७ मा रेखाले म्याद थपका लागि आवेदन दिएकी थिइन् । रेखाको आवेदनअनुरूप कार्यालय प्रमुख सुनार आफैँले हस्ताक्षर गरेर १५ भदौ ०७७ मा म्याद थपको पत्र बनाएका थिए । १ साउन ०७७ देखि ०७७ कात्तिक मसान्तसम्मका लागि म्याद थप गरेको पाइएको छ ।

ad
ad