मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Monday, 16 December, 2024
बाबुकाजी कार्की
२o७८ माघ ५ बुधबार o८:१o:oo
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रोजगारमुखी गरिखाने शिक्षाको खाँचो 

Read Time : > 1 मिनेट
बाबुकाजी कार्की
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार o८:१o:oo

रोजगारीका लागि भौँतारिनेभन्दा पनि रोजगारी सिर्जना गर्न सक्ने प्रतिभाशाली शिक्षित जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्या हल गर्न सक्छ


हाम्रो शिक्षा गरिखानेभन्दा पनि मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सुनिन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । रोजगारीका लागि भौँतारिनेभन्दा पनि रोजगारी सिर्जना गर्न सक्ने प्रतिभाशाली शिक्षित जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्या हल गर्न सक्छ । प्राविधिक शिक्षाले रोजगारीका अवसर प्राप्त गर्न सहज हुन्छ । तर, कुन क्षेत्रमा कस्ता प्राविधिक कति चाहिन्छन् भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाका भरमा कार्यक्रम ल्याउने प्रवृत्तिका कारण पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ ।

विद्यालय शिक्षा पार गरेका युवालाई भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ । साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिका कारण देशमा बेरोजगारीको विकराल समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा वरदान साबित हुन सक्छ । अहिले पनि झन्डै ४५ लाखका हाराहारीमा वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यान्सबाट अर्थतन्त्र धानिएको छ । वैदेशिक रोजगारमा जाने युवालाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउन सके उनीहरूको कमाइमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । मुलुकको समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताका लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाको आय–आर्यजनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो । रोजगारीका लागि भौँतारिनेभन्दा पनि रोजगारी दिन सक्ने सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको शिक्षा नीति हुनुपर्छ । ऊर्जाशील युवाशक्ति रोजगारीका लागि बिदेसिनु देशका लागि शुभ संकेत होइन । रोजगारीका लागि बिदेसिएका युवाले प्रचण्ड गर्मीको जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूलखेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गरिरहेका छन् ।       

शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरेको पाइन्छ । अझै पनि शैक्षिक गुणस्तर प्राप्तांक या ग्रेडका आधारमा निक्र्योल गर्ने प्रचलन कायमै छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो र पौरखी शिक्षा हुनुपर्छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानी–व्यवहार, चालचलन, चरित्रका आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ । 

हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि, एक सय पूर्णांकमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ । त्यस प्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णांक प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ । अर्कोतर्फ, कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक देखिन्न । त्यसकारण सिर्जनशील, लगनशील प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक पौरखी शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनुपर्छ ।

पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थीकेन्द्रित गरिनुपर्दछ । त्यस्तै, विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनुपर्छ । साथै, उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्य–मान्यता संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ । राज्यले तोकेको पाठ्यक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्छ । जसले विद्यार्थीलाई भविष्यमा स्वरोजगार भई बाँँच्न प्रेरित गर्न सकोस् ।