१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
साउथ पोलमा नेपाली टोली।
२०७८ माघ ४ मंगलबार १८:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जो पैदल पृथ्वीको अन्तिम बिन्दु पुगे

Read Time : > 1 मिनेट
२०७८ माघ ४ मंगलबार १८:३५:००

पहिलोपटक नेपाली आरोहीहरू साउथ पोल पुगेका छन्। १ सय ११ किलोमिटरको पैदल यात्रा पूरा गरेर उनीहरू अन्टार्टिका महादेशको साउथ पोल पुगेका हुन्। जसलाई ‘लास्ट डिग्री’ पनि भनिन्छ। यो पृथ्वीको दक्षिणी अन्तिम बिन्दु पनि हो। 

साउथ पोलमा एकैपटक तीन दाजुभाइ मिङमा, छाङदावा र टासिलाक्पा शेर्पा पुगेर कीर्तिमानसमेत बनाएका छन्। उनीहरूसँगै निर्मल पुर्जा र कर्मा तेन्जिङ पनि साउथ पोल पुगेका हुन्। १ सय ११ किलोमिटरको पैदल यात्रा गरेर ७ दिनमा साउथ पोल पुगेको चिलीबाट टेलिफोनमा टासिलाक्पा शेर्पाले बताए। उनीहरू २ जनवरीमा साउथ पोल पुगेका थिए।

‘हामीले ८९ डिग्रीबाट यात्रा सुरु गर्यौं। त्यहाँबाट १११ किलोमिटरको दूरी पैदल ७ दिनमा पूरा गर्‍यौँ,’ टासिलाक्पाले नयाँ पत्रिकासँग भने, ‘पैदल त्यहाँ पुग्ने हामी पहिलो नेपाली हौँ।’ एकै परिवारका तीन दाजुभाइ पनि पहिलोपटक साउथ पोल पुगेको उनले बताए। ‘निरन्तर माइनस ३५/४० डिग्रीमा पैदल यात्रा गर्नुपर्ने साहसिक यात्रा थियो,’ उनले भने, ‘हामीले एउटा इतिहास बनाएका छौँ।’ उच्च हिमालहरूमा जस्तो साउथ पोलमा अक्सिजनको आवश्यकता भने नपर्ने उनले बताए। साउथ पोलबाट भने हवाइ जहाजमा युनियन गेलिसियरमा फर्किएको टासीले बताए। अबको योजना उत्तरी ध्रुवमा पुग्ने रहेको उनले बताए। दैनिक १४/१५ किलोमिटर अन्टार्टिकाको हिउँमा उनीहरूले पैदल यात्रा गरेका थिए।  ‘यो निकै रोमाञ्चक यात्रा थियो। हामी तीन दाजुभाइसँगै थियौँ। हिउँमा लामो यात्रा। हिउँमै क्याम्प’, टासीले भने, ‘हामीले एउटा अध्याय पूरा गरेका छौँ। अब छिट्टै अर्को यात्राका लागि निस्कन्छौा।’

साउथ पोल पुगेपछि उनीहरूको टिम अन्टार्टिकाको सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर) आरोहण गर्न पुगेको थिए। विन्सन हिमालमा पुग्ने एकै परिवारका तीन दाजुभाइ मिङमा, छाङदावा र टासिलाक्पा शेर्पा भएका छन्। उनीहरूले  १३ जनवरीमा उक्त हिमालको सफल आरोहण गरेका हुन्। निर्मल पुर्जा र कर्मा तेन्जिङले पनि सोही समयमा विन्सन हिमालको सफल आरोहण गरेका छन्। निर्मल पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर कीर्तिमान राखेका थिए। नेटफिलिक्समा उनको डकुमेन्ट्री ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ चर्चित छ।

तीन दिनमा विन्सन हिमाल आरोहण पूरा गरेको टासीले बताए। उनीहरूले चिलीको समयअनुसार साँझ ६:३० बजे चुचुरो चुमेका थिए। डिसेम्बर १३ मा उनीहरू काठमाडौंबाट अन्टार्टिका मिसनका लागि हिँडेका थिए। १ महिनाको अन्टार्टिका मिसन पूरा गरेर आफूहरू चिली आइपुगेको टासीले बताए। 
यसअघि संसारका आठ हजारभन्दा अग्गा १४ वटा हिमालको मिङमा र छाङदावाले सफल आरोहण गरिसकेका छन्। टासिलाक्पाले १९ वर्षकै उमेरमा बिनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। 

पहिलोपटक नेपालका भुवनबहादुर नेपाली अन्टार्टिका पुगेका थिए। भातीय सेनामा कार्यरत उनी भारतको छैटौँ वैज्ञानिक अभियान दलमा सहभागी भएर नोभेम्बर १९८६ मा त्यहाँ पुगेका थिए। उनले दुईपटक गरेर अन्टार्टिकामा २० महिना बिताएका थिए। सन् २०११ मा भारतीय सेनामा कार्यरत नेपली अर्जुनकुमार थापा पनि साउथ पोल पुगेका थिए। भारतीय सेनाको साहासिक यात्रामा उनी छनाेट भएर त्यहाँ पुगेका थिए।