मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १ शनिबार १०:३३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुदका लागि गम्भीर हुन आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १ शनिबार १०:३३:००

खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् गम्भीर नहुँदा निर्धारित समयभन्दा एक वर्षपछि पनि गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसकेको खेलाडी संघको गुनासो

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले नवौँ राष्ट्रिय खेलकुद तयारीका लागि गम्भीर बन्न आग्रह गरेको छ । संघका अध्यक्ष दीपक श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा तोकिएको मितिभन्दा एक वर्ष ढिलो भइसक्दा पनि नवौँ राष्ट्रिय खेलकुद प्रतियोतिगा हुन नसक्नु दुखद पक्ष भएको उल्लेख छ । ‘निर्धारित समयभन्दा एक वर्षपछि पनि नवौँ राष्ट्रिय खेलकुद हुन नसक्नु दुखद पक्ष हो,’ श्रेष्ठले भने, ‘खेलकुद मन्त्रालयलाई गम्भीरतापूर्वक अघि बढ्न आग्रह छ ।’ 

राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन महिनामा घोषणा गरेको थियो । तर, सम्बन्धित निकाय प्रतियोगिता आयोजनातर्फ गम्भीर नभएको आरोप अध्यक्ष श्रेष्ठले लगाएका छन् । ‘राखेपले गरेको पछिल्लो घोषणा मान्ने हो भने नवौँ बृहत राष्ट्रिय खेलकुद महोत्सव यही फागुनको तेस्रो साता गण्डकीमा सुरु हुनुपर्ने हो,’ श्रेष्ठले भने, ‘तर, त्यसअनुसार जिल्ला र प्रदेशका छनोट तालिका अझैसम्म सार्वजनिक गरिएको छैन ।’

राखेप र खेलकुद मन्त्रालय गम्भीर नहुँदा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नभएको श्रेष्ठको भनाइ छ । ‘राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालय गम्भीर नरहेको प्रमाणित हुन्छ,’ श्रेष्ठले भने । कोभिड– १९ महामारीको प्रभाव तथा नेपाली खेलकुदका सरोकारवाला निकायहरूको उदासीनताका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नभएको उनले जनाए ।  ‘गण्डकी प्रदेशमा हुनुपर्ने नवौँ बृहत् राष्ट्रिय खेलकुद महोत्सव अझैसम्म हुन नसकेको र कहिले हुनेसमेत टुंगो लागेको छैन,’ श्रेष्ठ भन्छन्, ‘नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको कार्यकारी सदस्यसचिवसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । सम्पूर्ण खेलकुदको कार्यकारी प्रमुखको विषय टुंगो नलाग्दा स्वाभाविक रूपमा नेपाली खेलकुद थप ठप्प बनेको छ ।’

राखेप बोर्डले नीतिगत रूपमा सबै निर्णय गरिसकेको अवस्थामा काम गर्नुपर्ने भनेको स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्रले नवौँ राष्ट्रिय खेलकुदको तयारी थाल्नुपर्ने उनको भनाइ छ । ‘राखेपको कार्यकारी प्रमुखको मुद्दा छिनोफानो नभएसम्म बोर्डको अघिल्लो निर्णयलाई आधार मानेर राखेपका विभिन्न विभागहरूले तयारीको काम गर्नुपर्नेमा सबैले मुख हेराहेरको स्थितिमा रहनु दुर्भाग्य हो,’ श्रेष्ठले भने । 

निर्धारित समयमै प्रतियोगिता सञ्चालन नहुँदा खेलाडीले प्रशिक्षण र प्रतिस्पर्धाको मौका नपाउँदा मिहिनेत खेर जाने श्रेष्ठले जनाए । ‘यदि प्रतियोगिताका लागि गरिएको प्रशिक्षण नै समयमै सदुपयोग हुन सकेन भने सबै मिहिनेत खेर जान्छ र मिहिनेतको कुनै अर्थ रहँदैन,’ उनले भने, ‘अदालतबाट मुद्दा टुंगो नलागेसम्म राखेपका विभिन्न विभागलाई सक्रियताका साथ तयारीमा जुट्न संस्थाले आग्रह गरेको छ ।’

साथै युवा तथा खेलकुद मन्त्रालयलाई पनि सदस्यसचिव विवादको टुंगो नलागेको बहानामा खेलकुदका सबै गतिविधि रोकिने अवस्थाको अन्त्य गर्न प्रभावकारी पहलकदमीका लागि मन्त्रालयसँग अनुरोध संघले गरेको छ ।

‘सम्मानित सर्वोच्च अदालतलाई पनि छिटोभन्दा छिटो राखेप सदस्यसचिवको मुद्दाको टुंगो लगाएर नेपाली खेलकुदलाई अनिर्णयको बन्दी बन्नबाट जोगाउन संघले आह्वान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।