मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Monday, 16 December, 2024
बद्रीनरसिंह केसी
२o७८ पौष २५ आइतबार o८:४१:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पृथ्वीजयन्ती, एकता दिवस र विवाद

Read Time : > 3 मिनेट
बद्रीनरसिंह केसी
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार o८:४१:oo

गणतन्त्रवादीहरूले एकता दिवसमा बिदा नदिने एउटै कारण गुलामीबाट ग्रसित मानसिकता र पत्तासाफ हुने डर हो 


राज्यहरूको एकीकरण र राष्ट्र निर्माणमा राजा पृथ्वीनारायण शाहले देखाएको बहादुरीको इतिहास धनशक्ति वा सैन्यशक्तिभन्दा इच्छाशक्ति अपराजित हुन्छ भन्ने शाश्वत सत्य–सन्देश हो । राष्ट्र निर्माण गर्दा पृथ्वीनारायण शाहले इच्छाशक्ति मात्र होइन, युक्ति र भक्ति पनि जुटाए र एउटा अदम्य साहस पैदा भयो । त्यसले सबै असम्भवलाई सम्भव बनायो । जटिलता र चुनौतीलाई अवसरमा बदल्यो । ‘आफ्नो साम्राज्यमा कहिल्यै घाम नअस्ताउने’ महाशक्ति बेलयायतसँग लडाइँमा भिड्नु सामान्य साहस थिएन । उत्तरको तत्कालीन तिब्बत र चीन पनि गोर्खाभन्दा अतुलनीय साधनसम्पन्न र शक्तिशाली थिए । तैपनि पुर्खाले हामीलाई एउटा स्वाभिमानी र स्वाधीन राज्य मात्र दिएनन्, वीरताको पर्यायवाची विश्वव्यापी पहिचान ‘गोर्खाली’ पनि दिए । भारत र बेलायती सेनामा भर्ती हुन जाने नेपालीले पाएको ‘द गोर्खाज्’ संज्ञा एवं गोर्खाल्यान्ड राज्यका लागि भारतीय आन्दोलन नेपाल एकीकरणको उत्तरदान हो ।

राष्ट्र निर्माणका लागि एक्लो गोर्खाली राजा वा उनको फौज मात्र लडेका होइनन् । सिंगो राज्य लड्दा मात्र युद्ध जितिन्छ र लक्ष्य हासिल हुन्छ भन्ने पृथ्वीनाराणको दृढ मान्यता थियो । तत्कालीन अन्य मित्रराज्यबाट पनि उनले यथेष्ट सहयोग जुटाउन सके । उनले राज्य जोडे र एकीकृत राष्ट्रमा ‘थिति बाँध्ने’ काम पनि गरे । यसरी नेपालको सार्वजनिक प्रशासनको इतिहास, राष्ट्रनिर्माणको पहिलो चरण (विसं १८२६) बाट प्रारम्भ हुन्छ ।

नेपाल नामकरण नभएको त्यस युगमा छरपस्ट पहाडी राज्यहरू पाँच राज्य–समूहमा विभक्त थिए– (१) ‘तीन सहर नेपाल’ वा ‘नेपाल मण्डल’ भनिने काठमाडौँ उपत्यकाका राज्य समूह, (२) गण्डकी प्रदेशमा अवस्थित पाल्पा तथा लमजुङअन्तर्गतका चौबीस राज्यको समूह, (३) कर्णाली क्षेत्रस्थित हुम्ला–जुम्ला राज्यअन्तर्गत पर्ने बाइसे राज्य समूह, (४) पूर्वमा कोसी नदी प्रदेशमा पर्ने मोरङ राज्यको संरक्षित रूपमा रहेका एघार रजौटा समूह, जसलाई इतिहासकारहरूले ‘किराती कबिला गणतन्त्रीय राज्य–समूह’ भन्ने गरेका छन्, र (५) सुगौलीको सन्धिमा गुम्नुअघिका कुमाउँ, गढवाल, पूर्वमा ‘सुखिम’ (सिक्किम) र त्यसअन्तर्गतका राज्य–समूह । पृथ्वीनारायण शाहले एकीकृत राष्ट्रको नामकरण ‘गोरखा’ भनेर गरेनन् । छोराहरूले काठमाडौँ उपत्यकाका राज्यहरू भाग लगाएर शासन गर्न माग्दा उनले राज्य बाँड्ने होइन, जोड्ने हो भनी इन्कार गरे । यसको अर्थ उनको लक्ष्य गोर्खा राज्यको विस्तार थिएन र पारिवारिक शासनका लागि पनि थिएन, राष्ट्र–निर्माणको पुनित लक्ष्य नै थियो ।

उनले राष्ट्र निर्माणको संघर्षमै आफ्नो जिन्दगी बिताए, तर हरेक कालखण्डमा उनलाई ओझेलमा वा विवादमा पार्ने दुस्साहस भइरहे । १०४ वर्ष राणाशासनले उनका दिव्य उपदेशमाथि प्रतिबन्ध लगाएको थियो । त्यसलाई दार्जिलिङमा लगेर छपाएको ऐतिहासिक यथार्थ विदित छ । कारण रहेछ, तत्कालीन दक्षिणको औपनिवेशिक शासनलाई रणनीतिक र आलोचनात्मक दृष्टिका साथै सावधानीपूर्वक हेर्नुपर्ने पृथ्वीनारायणको अकाट्य अनुभवयुक्त उपदेश । पुस २७ गते दिँदै आएको सार्वजनिक बिदा आजकाल काट्नुले ब्रिटिसकालीन स्वामीभक्तिकै नयाँ संस्करण हो भन्ने अर्थ लाग्छ ! 

‘प्रजा मोटा’ (बलियो) भए मात्र दरबार (शासनकेन्द्र) बलियो हुने, न्याय–निसाफ गर्दा मोलाहिजा र पक्षपात गर्नु नहुने, अपराधीलाई राज्यले मृत्युदण्ड नदिने बरु उसलाई युद्धमा होमिदिने, देशभित्रका उत्पादनलाई बढाउने र निर्यात गरेर ‘नगद खैँचन’ हरबखत कोसिस गर्नुपर्ने भनी आत्मनिर्भरतामा जोड, उत्तर र दक्षिणका छिमेकीहरूसँग सन्तुलित र सावधानीपूर्ण सम्बन्ध बनाइराख्ने असंलग्न तथा सन्तुलित विदेश नीति, देश ‘सबै जातको पूmलबारी’ भन्ने समावेशी मान्यता, मुलुक कंगाल बनाउने ‘देशका महाजन’लाई घुसपैठ गर्न नदिनु भन्ने सशक्त राष्ट्रिय आत्मनिर्भरतामा जोड, घुस दिने र घुस लिने दुवै भ्रष्ट भएकाले यिनीहरूको ‘धन जीव गरी लिने’ सम्मको कठोर सजाय दिनुपर्नेजस्ता असल राज्यव्यवस्था र सुशासनका लागि भावी पुस्तालाई पनि सन्देश र शिक्षा दिएर गए ।

पृथ्वीनारायण शाहले एकीकृत राष्ट्रको नामकरण ‘गोरखा’ भनेर गरेनन् । छोराहरूले काठमाडौं उपत्यकाका राज्यहरू भाग लगाएर शासन गर्न माग्दा उनले राज्य बाँड्ने होइन, जोड्ने हो भनी इन्कार गरे । 

तर, पछिल्लो जनआन्दोलनले ‘परिवर्तन’का नाममा यति अराजकता मच्चायो कि सोह्र वर्ष बितिसक्दा पनि नियन्त्रणमा आएको छैन । ०६२–६३ को जनआन्दोलनमा सांकेतिक रूपमा पनि नसुनिएका नाराहरू त्यसपछिका कालक्रममा मूल एजेन्डा बनेर प्रकट भए । पृथ्वीनारायण शाह, भानुभक्त, महाकवि देवकोटा, बिपीजस्ता सपुतहरूका सालिक ढाल्ने कुकृत्य भए, तर दिव्योपदेशमाथि प्रतिबन्ध लगाउने राणाशासकका सालिकलाई कसैले छोएन । यस्ता हर्कतहरू स्वचालित होइन, सञ्चालित र प्रायोजित रूपमा देखिएकै हुन् । पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्मानमा दिँदै आएको सार्वजनिक बिदा तत्कालीन सरकारले खारेज गर्‍यो ।

यसअघिको ओली सरकारले वर्षभरिमा १४ दिन सार्वजनिक बिदा थप गरेको थियो, तैपनि कटौतीमा पारिएको पुस २७ गतेको बिदा पुनः दिने निर्णय गर्न सकेन । एकता दिवसको बिदा कटौती गरेर ती पौरखी राजाप्रति आजका औतारी ‘गणतन्त्रवादी’हरूले क्रोध र दुस्मनी देखाउनुको कारण के हो ? कारण केही होइन, गुलामीबाट ग्रसित भएकाले पत्तासाफ हुने डर हो ।

सर्वोच्च प्रजातन्त्रवादी नेता गणेशमान सिंह भनिरहनुहुन्थ्यो, ‘नेपाल आमाका तीन सपुत पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त र आधुनिक नेपालका अधिष्ठाता बिपी कोइराला हुन् । इतिहासको तीन कालखण्डमा यी तीनले नेपाल र नेपालीलाई आपसमा जुटाउन ठूलो योगदान गरेका छन् । भानुभक्तले नेपाली भाषाको माध्यमले नेपालीहरूलाई एउटै सूत्रमा ल्याए, कोइरालाजीले नेपाली मात्रको आर्थिक उन्नति, प्रजातन्त्र र राष्ट्रिय मेलमिलापको नीतिबाट यो काम गर्नुभयो ।’ पुस १६ गते बिपी, गणेशमानजीलगायत निर्वासित कांग्रेस–नेताहरू ज्यानी खतरा मोलेर मेलमिलाप तथा एकताको नीतिका साथ स्वदेश फर्किएपछि त्यसले नेपालमा राष्ट्रियता र प्रजातन्त्रको पक्षमा अर्को युगान्तकारी आयाम थप्यो । बिपीको मेलमिलाप नीतिलाई २०४६ सालको जनआन्दोलनद्वारा निर्मित ०४७ को संविधानले वैधानिक तथा लिपिबद्ध गरेको थियो ।

नेपाली राष्ट्रियताका लागि पुस महिना ऐतिहासिक अवसर हो । ०१७ साल पुस १ गतेको घटनालाई बिर्सौं, तर पार्टीहरूले यसै दिन अन्तरिम संविधान २०६३ मा सहमतिको हस्ताक्षर गरेका थिए । पुस १६ गते घोषित राष्ट्रिय मेलमिलाप तथा एकता नीतिले राष्ट्रिय राजनीतिमा ल्याएको युगान्तकारी र गुणात्मक परिवर्तन, त्यसको सान्दर्भिकता, औचित्यलाई उपेक्षा र तिरष्कार गर्ने व्यक्तिलाई यथार्थमा न देशभक्त न त सच्चा प्रजातन्त्रवादी नै भन्न सकिन्छ । आज नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानमा ह्रासको खास कारण यही हो । 

राष्ट्रको निर्माण संकल्प, समर्पण र निरन्तर प्रयासबाट हुन्छ । सुखद कल्पना, नारा वा इच्छाले मात्रै हुँदैन । नेपाल कसैको कृपाले किस्तीमा हालेर दिइएको मुलुक होइन, राज्य एकीकरण र राष्ट्र निर्माणको ७२ वर्ष लामो संघर्षको सांस्कृतिक तथा भौगोलिक उपज हो । पृथ्वीनारायण शाह राष्ट्रका सर्वोच्च विभूति हुन् । उनको अपमान गर्नु मातृभूमिको अपमान हो । कृतज्ञ राष्ट्रले यस्तो घृणित अपराध गर्दैन । सरकारले पुस २७ गतेको अपमान गर्दै आइरहेको छ । यसप्रति सार्वजनिक रूपमा क्षमा माग्नु पर्छ र पृथ्वीनारायण शाह तथा सो दिवसको यथावत् सम्मान कायम राखिनुपर्छ । सो दिन राजकीयस्तरमा नै राष्ट्रिय एकता दिवस मनाउन पुनः सुरु गर्नैपर्छ । पृथ्वीनारायण शाहले गरेको भौगोलिक, शासकीय र राष्ट्रिय एकता, आदिकवि भानुभक्तले गरेको संसारभरिका नेपालीहरूको भाषिक एकता र बिपी कोइरालाले राष्ट्रिय भावना तथा प्रजातान्त्रिक एकताका लागि पुर्‍याएको योगदानलाई राष्ट्रिय एकता दिवसद्वारा कदर गरेको देखिनुले मुलुकमा उत्साही तथा प्रीतिकर वातावरण बन्नेछ ।