रौतहटको सामुदायिक विद्यालयको हविगत : जाडोमा खुला चउरमा, गर्मीमा आँपको रूखमुनि पढाइ

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण

रौतहटको देवाहीगोनाही नगरपालिका–५ मा रहेको श्री प्राथमिक विद्यालयका विद्यार्थी चउरमा बसेर पढ्न घरबाटै बोरा बोकेर जाने गरेका छन् । विद्यालयमा पर्याप्त कक्षाकोठा र भवन अभावका कारण विद्यार्थी खुला चउरमा बोरामा बसेर पढ्न बाध्य छन् ।

जाडोयाममा बोरा ओछ्याएर पढ्ने गर्छन् भने गर्मीका वेला आँपको छहारीमा बसेर पढ्ने गरेका छन् । तीनवटा कक्षाकोठा रहेको विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुने गरेको छ । 

कक्षा ३ मा अध्ययनरत सुन्दरीकुमारी साहले आफूले किताब र कलमसँगै घरबाट बोरासमेत बोकेर आउने गरेको बताइन् । कक्षा ४ का विद्यार्थी बाबुराम साहले घरबाट बोरा बोकेर नआए चिसो चउरमा बसेर पढ्नुपर्ने बाध्यता रहेको सुनाए ।

बालबालिकाहरू विद्यालयपरिसरभित्र जाडोका वेला बोरा ओछ्याएर र गर्मीका वेला आँपका रूखमुनि स्लेट (पाटी) र कापी लिएर पढ्ने गरेको शिक्षकहरू बताउँछन् । नर्सरीदेखि ३ कक्षासम्मका बालबालिकालाई खुला चउरमा राखेर पढाउने गरिएको छ । उनीहरूले आफ्ना लागि भुइँमा ओछ्याउन बोरा, गुन्द्री र पिरा घरबाटै ल्याउने गरेको प्रधानाध्यापक अच्छेलालप्रसाद साहले बताए । 

विद्यालयमा जम्मा तीनजना मात्र शिक्षक छन् । शिक्षक र कक्षाकोठा अभाव भएपछि विद्यालयले बहुकक्षा सञ्चालन गरेर विद्यार्थी पढाउँदै आएको साहले बताए ।  कक्षा १ र २ को एउटा कक्षाको पठनपाठन खुला चउरमा हुने गरेको छ । ३, ४ र ५ कक्षाका विद्यार्थीलाई भने कक्षाकोठामा राखेर पढाइने गरेको साहले बताए । उनका अनुसार विद्यालयमा हाल चार सय विद्यार्थी अध्ययनरत छन् । ‘कक्षाकोठा अभावमा ३ कक्षासम्मका झन्डै दुई सय विद्यार्थीलाई खुला चउरमा राखेर पढाउँदै आएका छौँ,’ उनले भने । हाल उपलब्ध भवनमा कार्यालय सञ्चालन र कक्षा ३ देखि ५ सम्मका विद्यार्थी मात्रै राख्न सकिने अवस्था छ ।

गत २२ मंसिरमा देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले विद्यालय भवनको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । विद्यालयको आठकोठे भवन बनाउन ठेक्का लागिसकेको र काम चाँडै सुरु हुने पटेलले बताए ।

सुझावित समाचार