मेरी आमा एक लेखक र साहित्यिक इतिहासकार हुन् । यही १ जनवरी सन् २०२२ मा उनी मुसलमान महिलालाई लिलाम गर्ने (बुल्ली–बाईमा) तथाकथित रूपमा ‘बेचिएकी’ थिइन्। कुनै पनि छोरीले आफ्नी आमासम्बन्धी यो पंक्ति लेख्नुपर्ला भन्ने सोचेकी हुन्न, तैपनि म लेख्न बाध्य छु । ‘जोकोही पनि यस संसारमा महिलाका रूपमा जन्म लिन्छ, उसलाई अदृश्य हुनुको अर्थ के हो भन्ने थाहा हुन्छ,’ कानुनकी शोधकर्ता लुसिया अस्बर्न–क्रोले आफ्नो सबैभन्दा चर्चित निबन्ध ‘आई चुज एलेना’मा लेखेकी थिइन् । सामाजिक सञ्जालमा महिलाको लिलामी गरिएको जिटहब एपको स्क्रिनसट देख्दा ‘अन्यकरण’ प्रक्रिया अब संवेदनशील विषय रहेन भन्ने लाग्यो । अन्यकरण अब एक दस्ताबेज बन्न पुगेको छ, जहाँ तपाईंलाई घृणाको रसातलबाट एकटकले नियालिँदै छ र म आफ्नी आमाको छवि सम्झिँदै छु । यो घिनलाग्दो पागलपनले आफ्नो सीमा नाघिसकेको छ र केवल दुःख मात्रै बाँकी छ । अन्यकरण एक राक्षसी प्रेत बन्न पुगेको छ । अन्यकरणले गहिरो गरी गढेको यौनिक कुण्ठा एवं द्वेषको साम्राज्य नाघिसकेको छ र तपाईंसामु नांगो आतंकका रूपमा उदाएको छ ।
घरेलु कामदार ‘बाई’का लागि मुसलमान महिलाको बेचबिखनका लागि बनेको एपबारे पढ्दा हामी मुसलमान महिलाका वरिपरि मडारिने घृणास्पद आसक्तिका रुढीबद्ध (स्टेरियोटिपिकल) धारणा मेरो मानसपटलमा ठोकिन पुग्यो । अर्थात् हामी कसरी अपमानित एवं श्रापित छौँ, कसरी छुटाइएका छौँ र कसरी हाम्रो प्रतिनिधित्व न्यून गराइएको छ, कसरी वस्तु एवं आश्रित बनाइएका छौँ, कसरी खलपात्र बनेका छौँ, बोक्सी कहलाइएका छौँ र हामी कसरी निर्जन एवं एकांगी बनाइएका छौँ भनेर सोच्न बाध्य बनायो । महिलाको लिलाम बढाबढको समाचारले तपाईंहरूजस्ता आममानिसमा घृणाको ज्वारभाटा उराल्छ भने कल्पना गर्नुहोस्, लिलामको सूचीमा आफ्नी आमालाई देख्दा के भयो होला मलाई ?
तथाकथित रूपमा ‘बेचिएकी’ मेरी आमा आधुनिक भारतकी एक शिक्षित मुसलमान महिला हुन्, जो साहित्यिक इतिहासकी स्वावलम्बी हस्ती हुन् । यस वाक्यको मर्म यदि तपाईं बुझ्न सक्नुहुन्न भने तपाईं विशेषाधिकारमा रमाइरहेको व्यक्ति हो । अर्थात्, सिकार हुनबाट जोगिएको, अनभिज्ञ हुन पाएको र मूलतः डरमा बाँच्नु नपरेको विशेषाधिकारमा रमाइरहनुभएको छ । एकपटक कल्पना गरी हेर्नुस्, सताइनुको डर वा भर्चुअल नै किन नहोस्, मन्डीमा भेडाबाख्राझैँ बेचिनुको डर के हो ? तपाईं डरले मानिसलाई कहाँ पुर्याउँछ भन्ने प्रश्नको उत्तर भेट्नुहुन्छ ।
अहिले महिला कसरी वस्तु बनिरहेका छन्, यसबारे छलफल गर्नुको कुनै तुक छैन । यो सारा घटना मालको विनिमयभन्दा बढी केही भएको छैन । मुसलमान महिला अब बजारमा खरिद गर्न सकिने माल बनेका छन् । मुसलमान महिलाको अस्तित्व कुनै अन्यबाट प्रयोग वा उपभोग हुनुमा झरेको छ । यो घटना नियतवश गरिने दुव्र्यवहारमा मात्रै सीमित छैन । यसले मुसलमान महिलालाई न्यूनतम मानवीय सम्मानबाट च्यूत गराउनु ‘सामान्य’ हो भन्ने देखाउन खोजेको छ र यो ‘सामान्यीकरण’को भत्र्सना गरेर मात्रै पुग्दैन, यसलाई गम्भीर ढंगले केलाउनु पनि पर्छ ।
महिलालाई बेच्ने, खरिद गर्ने बुल्ली बाई वा सुल्ली डिल्स एक गैरकानुनी काम हो अर्थात् मानहानि, यौन दुव्र्यवहार र महिलाको मर्यादा हनन हो
हाम्रो जटिल सामाजिक–राजनीतिक सन्दर्भमा मेरा लागि बुल्ली–बाई अल्पसंख्यकको उत्पीडन र समुदाय लक्षित यौनद्वेष एवं लैंगिक हिंसाको एक सचेत एवं सुनियोजित योजना हो । सन् १९९५ मा अमेरिकी दार्शनिक एवं प्राध्यापक मार्था नस्बाउमका अनुसार कुनै पनि व्यक्तिलाई वस्तुका रूपमा व्यवहार गर्दा व्यक्तिलाई उपकरण वा शक्तिहीनका रूपमा हेर्ने, व्यक्तिको स्वतन्त्रता वा व्यक्तिपरकतालाई अस्वीकार गर्ने, व्यक्तिलाई वस्तुझैँ साट्ने, व्यक्तिमाथि स्वामित्व जमाउनेलगायत लक्षण देखिन्छन् ।
बुल्ली बाई यसअघिको ‘सुल्ली डिल्स (सुल्ली मुसलमान महिलालाई दिइने एक जातिसूचक दुव्र्यवहार हो) महिलाको वस्तुकरण मात्र नभई एक साम्प्रदायिक विद्वेषको घटना पनि हो तसर्थ यसलाई लैंगिकताको साँघुरो परिधिबाट पनि बाहिर ल्याउनुपर्छ ।सन् १९७९ मा भारतीय समाजलाई अगाडि बढाउन एक अभूतपूर्व जनहित याचिका दायर गरिएको थियो । भारतीय संविधानको धारा ३२ अन्तर्गत दायर गरिएको याचिकाले अदालतको ढोका ढकढक्याउन नसक्ने व्यक्तिका लागि सचेत नागरिकले मुद्दा लड्ने वा अदालत आफैँले कारबाही सुरु गर्ने बाटो खोलिदिएको थियो ।
यस अर्थमा संवैधानिक अदालतले एक समुदायका महिलामाथि आक्रमण एवं सार्वजनिक व्यक्तित्वका रूपमा यी महिलाका उपलब्धिलाई अवमूल्यन गर्ने नियतले गरिने यस्ता मामिलामाथि स्वतः संज्ञान लिन सक्छ र कारबाही अगाडि बढाउन सक्छ । विधिवत् महिलालाई बेच्ने, खरिद गर्ने बुल्ली बाई वा सुल्ली डिल्स एक गैरकानुनी काम हो, अर्थात् मानहानि, यौन दुव्र्यवहार र महिलाको मर्यादा हनन हो, जसले एक लक्षित समुदाय (मुसलमान) लाई उत्पीडनमा राख्छ । यो अपराध भविष्यमा दोहोरिन नदिनका लागि अपराधमा संलग्नलाई कडा सजाय दिइनुपर्छ । यदि कारबाही हुँदैन भने दण्डहीनता बढ्नेमा सन्देह छैन ।
अहिले हामीमाझ रहेको ऊर्जावान् आक्रोश केही दिनमै सेलाइसक्छ र आर्को अत्याचारको सिकार नहुन्जेल यो ब्युँतिँदैन । यसअघिका यस्तै प्रकृतिका घटनालाई नियाल्ने हो भने हामी आफूलाई केवल निस्पट्ट मौनतामा रुमल्लिरहेको पाउनेछौँ । हाम्रो खोक्रो, आधा–अधुरो प्रतिरोध, हाम्रो सहनशीलता र समानुभूतिको कमीले झस्काइरहन्छ । त्रास, त्रासको प्रतिक्रियामा आएको स्तब्धता एवं क्रोध पर्याप्त छैन । यस्तो घटना ६ महिनाभित्रै दुईपटक भइसकेको छ । के हामी तेस्रोपटकका लागि कुरिरहेका हौँ ?
द क्विन्टबाट