मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फोटो  : सुर्खेत स्थित मध्यपश्चिम पृतनामा राखिएको सुन्दरी तोप ।
२०७८ पौष २१ बुधबार ०८:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

५० वर्षपछि सुन्दरी तोप दैलेख ल्याइँदै

Read Time : < 1 मिनेट
२०७८ पौष २१ बुधबार ०८:३३:००

दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० वर्षपछि पुनः दैलेख ल्याइने भएको छ । ५० वर्षदेखि सुर्खेतको मध्यपश्चिम पृतनामा राखिएको उक्त तोप २१ गते दैलेख ल्याइने भएको छ । तत्कालीन समयमा कोतगढीमा रहेका सुन्दरी र अर्गा तोपमध्ये सुन्दरी तोप दैलेख ल्याउन लागिएको हो । तत्कालीन समयमा असुरक्षालगायतका विभिन्न कारण देखाई ०२८ सालमा कोतगढीबाट गण सर्ने क्रममै सुर्खेत लगिएको थियो । दुईवटा तोप सुर्खेत पुर्‍याउन तीन महिना लागेको जानकारहरू बताउँछन् ।

सुन्दरी तोप वि.सं. १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ । संघीयता आएसँगै दैलेखका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले कोतगढीमै तोप ल्याउनुपर्ने माग गर्दै आएका थिए । स्थानीय प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको गण सबैको पहलपछि उक्त तोप दैलेख आएको हो । तोप बुझ्नका लागि नारायण नगरपालिका– १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ सुर्खेत पुगेका छन् । दैलेखको इन्द्रदल गुल्मका गुल्मपति मेजर दिनेश लामाले सुन्दरी तोप र ८१ थान गोला भर्पाइ गरेर बुझिसकेका छन् । आज पुस २१ गते बिहान ७ बजे सुर्खेतबाट तोप ल्याइने र दैलेख सदरमुकाम परिक्रमा गरेर इन्द्रदल गुल्ममा राखिने भएको छ । 

कोतगढीको पुनर्निर्माण सम्पन्न भएपश्चात् उक्त तोप पुनः कोतगढीमै राखिने भएको छ । कोतगढीलाई पर्यटकीय क्षेत्र बनाउने अभियानअन्तर्गत यस्तो काम सुरु गरिएको नारायण नगरपालिका– १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिएका छन् ।