१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस सभापतिलाई एसपी पाण्डेले घरमै पुगेर दिए ज्यान मार्ने धम्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:४५:oo

कांग्रेस सिराहाका सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई एसपी हिराबहादुर पाण्डेले मध्यरात घरमै पुगेर गोली हान्ने धम्की दिएका छन् । सभापति यादवले नै जिल्ला प्रहरी कार्यालयको प्रमुखबाट आफूलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गराएको भन्दै गोली हान्ने धम्की दिएका हुन् । 

सरुवाको खबर पाएपछि आक्रोशित भएका एसपी पाण्डे सोमबार मध्यरात करिब साढे १ बजेतिर जिल्ला प्रहरीकै भ्यान लिएर धनगढीमाई नगरपालिका– ९ जिरोमाइलस्थित सभापति यादवको घर पुगेका थिए । सभापति यादवका अनुसार त्यसअघि पाण्डेले साढे १० बजेतिर फोनबाटै धम्क्याएका थिए । 

‘खाना खाएर सुत्ने तर्खर गर्दैगर्दा साढे १० बजेतिर पाण्डेले फोन गरेर मेरो सरुवा गराइदिनुभएछ, म आउँदै छु, अब देखाइदिन्छु भन्दै धम्याएका थिए,’ यादवले नयाँ पत्रिकासँग भने, ‘सरुवा भएको आक्रोश होला भन्ठानेर म सुत्न गएँ । करिब साढे एक बजेतिर ठुल्ठूलो स्वरमा कराइरहेको सुनेर म ब्युँझिएँ । घरको आँगनमा आएर एसपी पाण्डेले गालीगलौज गरिरहेका थिए । वेलावेलामा पेस्तोल निकालेर बाहिर निस्किन धम्क्याउँदै थिए । मैले तत्कालै गृहमन्त्री र सिराहाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर त्यो सुनाएँ ।’

गृहमन्त्री र सिडिओलाई खबर गरेपछि करिब दुई बजेतिर जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले एसपी पाण्डेलाई लिएर गएको उनले जानकारी दिए । पाण्डेको सरुवामा आफ्नो कुनै भूमिका नरहेको पनि उनले बताए । 

गत ११ कात्तिकमा किसन धामीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई छुटाउन यादवले दबाब दिएको र आफूले नमानेपछि गृहमन्त्रीसँग साँठगाँठ गरी सरुवा गराएको एसपी पाण्डेले आफूनिकटहरूलाई बताएका थिए । धामीको हत्या आरोपमा प्रहरीले सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । यादवले भने पक्राउ परेकाहरूलाई छुटाउन कुनै दबाब नदिएको दाबी गरेका छन् । मध्यरातको घटनाबारे बुझ्न खोज्दा एसपी पाण्डे सम्पर्कमा आउन सकेनन् । उनी सोमबार नै रवाना लिएर हिँडिसकेकाले घटनाबारे आफूले केही बताउन नसक्ने डिएसपी सुवास बुढाथोकीले बताए । पाण्डे गत ८ असारमा सिराहाको प्रहरी प्रमुखमा सरुवा भएका थिए । 

सिराहाका प्रजिअ लालबाबु कवारीले घटनाबारे गृह मन्त्रालयबाट छानबिन थालिएको जानकारी दिए । ‘घटनाको विषयमा बुझ्न सोमबार प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसहितको टोली आएको थियो । टोलीले जिल्ला सभापति यादवसँग भेटघाट गरेर फर्किएको छ,’ प्रजिअ कवारीले भने, ‘छानबिन चलिरहेको छ ।’

ad
ad