प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको मोरङको कटहरी गाउँपालिका– २ आदर्श टोलमा बस्छन् चार वर्षीय कृष्ण र उनका दाजु सात वर्षीय लल्कु मरिक। जन्मदेखि नै दृष्टिविहीन यी दाजुभाइको संसार हेर्दै अरूले जस्तै लेखपढ गर्ने चाहना छ। तर, चरम गरिबी र जातको दलनले गर्दा उनीहरू शिक्षा पाउने संवैधानिक अधिकारबाट समेत वञ्चित भएका छन्।
बाबु छोटु र आमा कौशिला मरिकबाट जन्मिएका हुन् कृष्ण र लल्कु। भूमिहीन सुकुमबासी उनीहरू मरिक थरकै कारण चर्पी सरसफाइ गर्ने जात भनेर अपहेलित छन्। उनीहरूका तीन दिदीबहिनीले आँखा देखे पनि उनीहरूले भने जन्मेदेखि नै संसार हेर्न पाएनन्। दृष्टिविहीन लल्कु र कृष्णकै कारण उनीहरूका दिदीबहिनीहरूले पनि विद्यालय जान पाएका छैनन्। उनीहरूका आमाबाबु दिनभरि विराटनगर बजारका होटेलमा सफाइको काम गर्छन्। यसैले दृष्टिविहीन भाइहरूलाई हेर्दा लल्कुकी १२ वर्षीया दिदी रेखा र १० वर्षीया सुलेखा मात्र नभएर सात वर्षीया बहिनी काजल पनि विद्यालय जान पाएकी छैनन्। गरिबीका कारण रेखा र सुलेखा कलिलो उमेरमै घरेलु श्रमिकको रूपमा काम गर्न बाध्य छन्। घरमा हेरचाह गर्ने व्यक्ति नहुँदा उनीहरू धेरैपटक कुकुर र सुँगुरको टोकाइबाट घाइते भएका छन्। बाटो बिराउँदा नजिकैको खोलामा बग्नबाट उनी पटकपटक जोगिएका छन्। आमाबाबु दिनभरि कामका लागि घरबाहिर हुन्छन्। त्यसैले भाइ कृष्ण र दाजु लल्कुको रेखदेखमा दिनभरि खटिन्छिन् काजल।
आमा निर्मलाले दृष्टिविहीन भए पनि पढाउनुपर्छ भनेर जेठो छोरा लल्कुलाई विद्यालय भर्ना गरिदिइन्। तर, आँखामा घाउ भएको र वेलावेला पिप बगिरहने भएकाले फोहोरी र सानो जातको भन्दै साथीहरूले छीःछीः र दूरदूर गरेपछि लल्कुले विद्यालय जान छाडिदिए। ठूलो छोराले विद्यालय छाडेपछि ‘सानो छोरालाई पनि उस्तै विभेद हुन्छ’ भन्दै बाबु छोटु र आमा निर्मलाले कान्छो कृष्णलाई पनि विद्यालय पठाउन चाहेनन्। गरिबीले गर्दा दिदीहरूले पनि केही दिन विद्यालय गएर छाडिदिए। बाबुआमाका अनुसार आजसम्म सरकार वा कुनै पनि संघसंस्थाले कृष्ण र लल्कुको अवस्थाबारे जानकारीसम्म लिएका छैनन्।
केही दिन विद्यालय गएका लल्कुलाई अहिले पनि पढ्ने इच्छा छ। भाइ कृष्णलाई पनि साथीहरू विद्यालय जान्छन् भनेको सुन्दा जाउँजाउँ लाग्छ। तर, जन्मैले दृष्टिविहीन र सामाजिक संरचनाको पेलानमा परेका उनीहरूले यस्तो सुखद अवसर नै पाएनन्। दाजु लल्कु भन्छन्, ‘हामीजस्तो आँखा नभएकोलाई कसले पढाउँछ र ?’
आमा निर्मलामा आफ्ना दुवै छोरोको उपचार होस् र उनीहरूले पनि पढ्न पाउन् भन्ने आशा अझै मरेको छैन। यसका लागि उनी दिनरात भगवान् भाकिरहेकी छिन्। तर, दलित समुदायभित्र पनि सबैभन्दा पछि पारिएका मरिक जाति भएकाले गुहार सुनिदिने पनि कोही छैन। छोराहरूको अवस्था सुनाउँदै आँखाबाट आँसु झार्दै आमा निर्मला भन्छिन्, ‘सरकारले छोराहरूको आँखाको उपचार गरिदिए उनीहरूले पनि पढ्न पाउने थिए। तर, हामीजस्ता निरीहका लागि न भगवान् रहेछन् न सरकार।’