१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १८ आइतबार १९:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रीय समिति घोषणासँगै माओवादी केन्द्रको आठौँ महाधिवेशन सकियो, पदाधिकारी चयन भोलि (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १८ आइतबार १९:२०:००

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको छ । महाधिवेशनको अन्तिम दिन आइतबार पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए । प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनले सर्वसम्मतले पारित गरेको थियो । 

प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यहरूको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरू नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । 

नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीका निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य प्रचण्डले महाधिवेशनलाई संक्षिप्त सम्बोधन गरे । उनले विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी गराए । 

अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महराले महाधिवेशनको बन्द सत्र सम्पन्न भएको घोषणा गरे । माओवादी महाधिवेशन गत ११ पुसमा सुरु भएको थियो । 

माओवादी केन्द्रको विधानअनुसार केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने छ । केन्द्रीय समितिको पहिलो बैठक सोमबार बस्ने माओवादी केन्द्रले जनाएको छ । सोमबारको बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने छ ।