मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १४ बुधबार
  • Sunday, 22 December, 2024
दीपक भट्ट रामेछाप
साैरभ यादव सप्तरी
रञ्जन भण्डारी महाेत्तरी
२o७८ पौष १४ बुधबार o६:१७:oo
Read Time : > 12 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिसो बढ्यो, विपन्नलाई न्यानो पार्ने छैन पूर्वतयारी

पछिल्ला चार वर्षमा शीतलहरबाट प्रदेश २ मा ७४ को मृत्यु, विगतबाट पाठ नसिकेका तीनै तहका सरकारले यसपटक पनि पूर्वतयारी गरेका छैनन्

Read Time : > 12 मिनेट
दीपक भट्ट, रामेछाप
साैरभ यादव सप्तरी
रञ्जन भण्डारी महाेत्तरी
२o७८ पौष १४ बुधबार o६:१७:oo
  •  सरकारले आश्वासन पूरा नगरेपछि महोत्तरीकी ललिता सदाको परिवार लालाबालासहित यस वर्षको जाडो पनि यही त्रिपालमुनि बिताउन विवश
  • ललिता सदा परिवारसहित बसिरहेको त्रिपाल देखाउँदै भन्छिन्, ‘गत वर्षकै चिसोमा घर बनाइदिने भनेर सरकारका मान्छेले आश्वासन दिएका थिए, तर अहिलेसम्म पनि सोधखोज गर्न कोही आएन’

चिसो बढेपछि महोत्तरीका अधिकांश दलित बस्तीमा जाडो छल्ने मुख्य साधन पराल बनेको छ । परालकै ओछ्यान र परालकै घुर तापेर चिसो छल्नुको विकल्प विपन्न दलित समुदायसँग छैन । अघिल्ला वर्षहरूमा महोत्तरीमा शीतलहरबाट मृत्यु हुनेको वास्तविक तथ्यांक कसैसँग पनि छैन । ०७४ मा भने तीनजनाको मृत्यु भएको प्रहरी तथ्यांक छ । गत वर्षझैँ यस वर्ष पनि सम्सी गाउँपालिका– ५ पोखरभिन्डाका सौखी सदाको परिवार चिसोमै कठ्यांग्रिन बाध्य छ । सरकारले गत वर्षको शीतलहरमा उनका लागि पक्की घर बनाइदिने प्रतिबद्धता जनाएको थियो । तर, एक वर्ष बितिसक्दा पनि उनको घर बन्न सकेको छैन । यो वर्ष पनि उनको परिवारले काठले अड्याइएको त्रिपालमुनि लालाबालासहित जाडो कटाउनुपर्नेछ । सौखीकी पत्नी ललिता सदाले आफ्नो घर देखाउँदै भनिन्, ‘गत वर्षकै चिसोमा घर बनाइदिने भनेर सरकारका मान्छेले आश्वासन दिएका थिए, तर अहिलेसम्म पनि सोधखोज गर्न कोही आएन ।’

 

 

तस्बिर : रञ्जन भण्डारी/महोत्तरी

दिनभरजसो आकाश धुम्म हुँदा मंगलबार देशभर चिसो बढेको छ । तराईका जिल्लामा शीतलहर सुरु भएको छ । शीत र स्याँठ नछेक्ने झुपडपट्टीमा पराल ओछ्याएर बस्न बाध्य विपन्न परिवारका वृद्धवृद्धा, बालबालिका र सुत्केरी उच्च जोखिममा छन् । तर, तीनै तहका सरकारले जोखिमका वेला अल्पकालीन राहतको योजनासमेत बनाएको छैन । 

हरेक वर्ष प्रदेश २ का आठ जिल्ला शीतलहरले बढी प्रभावित हुने गरेका छन् । पछिल्ला चार वर्षमा ७४ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकअनुसार गत वर्ष मात्रै चिसोका कारण १० जनाले ज्यान गुमाए । ०७४/७५ देखि ०७७/७८ सम्म चार वर्षमा रौतहटमा सबैभन्दा धेरै ३२ जनाको मृत्यु भएको छ । सप्तरीमा १८, सिराहामा सात, पर्सामा ६, धनुषामा चार, महोत्तरी र सर्लाहीमा तीन–तीन तथा बारामा एकजनाको मृत्यु भएको छ । 

सिराहाको कल्याणपुर नगरपालिका– १२ की बुलो सदालाई राज्यले जनता आवासको घर बनाइदिन सुरु गरेको चार वर्ष भयो । सुरु भएको आर्थिक वर्षमै आवास तयार गर्नुपर्नेमा चार वर्ष भइसक्दासमेत डिपिसी लेभलमै छ । सरकारले नै नयाँ घर बनाउन पुरानो घर भत्काउन लगायो, तर न नयाँ मिल्यो, न पुरानो नै रह्यो । शारीरिक रूपमा अशक्त ५४ वर्षीया बुलो शीत र हावा नछेक्ने भत्किएको झुपडीमा समय गुजार्दै छिन् । त्यसमा पनि लगाउने न्यानो कपडा छैन, ओछ्याउने त परको कुरा । श्रीमान् गुमाइसकेकी बुलोका दुई छोरी छन् । 

सोही मुसहर बस्तीकी ५० वर्षीया रामवती सदाको अवस्था बुलोकै जस्तो छ । चिसो बढेसँगै सिरेटोले हान्दै छ, न्यायो कपडा छैन । दैनिक मजदुरी गरेर जसोजसो गुजारा चलाउने उनको परिवारलाई सरकारले केही त गर्ला नि भन्ने आस अझै छ । तर, नगरपालिकाले राहतका लागि कुनै योजना बनाएको छैन । बुलो र रामवतीजस्तै ६०–६५ घर विपन्न मुसहर परिवार ऐलानी जग्गामा बस्दै आएका छन् । 

कल्याणपुर– ९ पिलवाहका ५७ वर्षीय महिन्द्र सदाले पनि नगरपालिकाले अहिलेसम्म चिसो छल्न बस्तीमा न्यायो कपडा वितरण नगरेको बताए । कल्याणपुरसँगै जिल्लाका १७ स्थानीय तहको अवस्था उस्तै छ । शीतलहरबाट नागरिकलाई जोगाउन स्थानीय तहहरूले कुनै तयारी नै गरेका छैनन् । कल्याणपुर नगरपालिकाले विपत् कोषमा ५० लाख रुपैयाँ राखेको छ । कल्याणपुर नगरपालिकाको विपत् व्यवस्थापन शाखा प्रमुख ललनकुमार कर्णले कोषमा रकम भए पनि के गर्नेबारे अझैं टुंगो लाग्न नसकेको बताए । सो रकमबाट केही वर्षअघि कम्बल र दाउरा वितरण गरिए पनि यस वर्ष के गर्ने भन्ने कुनै निर्णय नभएको उनले बताए ।

सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले १७ स्थानीय तहलाई चिसो र शीतलहरबाट जोगिन पूर्वतयारी गर्न पत्राचार गरिएको बताए । जिल्ला विपत् व्यवस्थापन समितिमार्फत स्थानीय तहहरूलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै न्यानो लुगाको व्यवस्थापन गर्न निर्णय गरिएको उनको भनाइ छ ।

शीतलहरमा विपन्न दलितलाई ज्यान जोगाउनै मुस्किल
ओत लाग्ने झुपडीसमेत राम्रो नभएका विपन्न दलितलाई शीतलहर सुरु भएसँगै ज्यान जोगाउनै मुस्किल पर्न थालेको छ । शीतलहरका कारण तीन छोराछोरी, श्रीमतीसहित पाँचजनाको ज्यान जोगाउनै गाह्रो पर्न थालेको सिराहाको सुखीपुर नगरपालिका– २ का ४४ वर्षीय रामलोभित मल्लिकले गुनासो गरे । ‘वरिपरि थोत्रा कपडा र बाँसको कप्टेरोले बारेको एकपाखे टहरामा पाँचजनाको परिवार चिसो भुइँमा परालमा थोत्रो लुगा ओढेर गुजारा गर्दै छौँ,’ मरिकले भने, ‘चिसो बढ्दै छ, जसोतसो दुई छाक जुटाए पनि न्यानो कपडा नहुँदा समस्या झेल्नुपरेको छ ।’ 

धनगढीमाई नगरपालिका– ४ सन्तनगरकी २५ वर्षीया रेखाकुमारी सदा करिब तीन महिनाकी सुत्केरी हुन् । श्रीमान् राजेश सदा, दुई वर्षको जेठो छोरा र आफू बस्दै आएको झुपडीको माटोको भित्ता गत वर्षामा गलेर ढलेपछि कान्छी देउरानी निर्मलाको घरमा आश्रय लिएर बस्दै आइरहेको उनले बताइन् । ‘जसोतसो गुजारा गरिरहे पनि जाडोमा काखे छोरा र सुत्केरी ज्यान जोगाउन गाह्रो परेको छ,’ उनले भनिन्, ‘गर्भवती अवस्थामा सामाजिक संस्थामार्फत केही खाद्य सामग्री राहतका रूपमा पाएँ, तर यो बढ्दो चिसोमा न्यानो कपडा नहुँदा काखे छोरा रातभर रुन्छ ।’

गरिब विपन्नका लागि जिल्लास्थित विपत् व्यवस्थापन समितिले बनाएको कार्ययोजना स्थानीय तहहरूले कार्यान्वयन नगर्दा झन् अप्ठ्यारो परेको पीडितहरू बताउँछन् । सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले शीतलहरलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी र विपत् व्यवस्थापन समितिसँग एक हजार ८० थान कम्बल जगेडा राखिएको जानकारी दिए । 

प्रदेश सरकार पूर्वतयारीमा जुटेको छ
शैलेन्द्रप्रसाद साह, आर्थिक मामिला तथा योजनामन्त्री

शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका सिडिओ र सुरक्षा निकायका प्रमुखहरू प्रत्यक्ष सम्पर्कमा छन् । चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरेको छ । शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएका छौँ ।

चिसोमै कठ्यांग्रिन बाध्य छ सौखी सदाको परिवार 
महोत्तरीबाट रञ्जन भण्डारी

महोत्तरीमा हिजोआज बिहान र बेलुका चिसो ह्वात्तै बढेको छ । अधिकांश दलित बस्तीमा अहिले जाडो छल्ने मुख्य साधन पराल नै बनेको छ । परालकै ओछ्यान र परालकै घुर तापेर चिसो छल्नुको विकल्प दलित समुदायसँग छैन । परिवर्तित मौसमको प्रत्यक्ष प्रभाव परेको बस्तीमा अझै सरकारी राहत पुगेको छैन । कतै वर्षाले सास्ती त कतै कठ्यांग्रिँदो चिसोले । महोत्तरीमा शीतलहरबाट मृत्यु हुनेको वास्तविक तथ्यांक कसैसँग पनि छैन । ०७४ मा तीनजनाको मृत्यु भएको प्रहरी तथ्यांक छ । तर, त्यसयता चिसोले मृत्यु भएका व्यक्तिहरूको संख्या शून्य छ । 

गत वर्षझैँ यस वर्ष पनि सम्सी गाउँपालिका– ५ पोखरभिन्डाका सौखी सदाको परिवार चिसोमै कठ्यांग्रिन बाध्य छ । सरकारले गत वर्षको शीतलहरमा उनका लागि पक्की घर बनाइदिने प्रतिबद्धता जनाएको थियो । तर, एक वर्ष बितिसक्दा पनि उनको घर बन्न सकेको छैन । सौखी सदाकी श्रीमती ललिता देवी खोरजस्तो घर देखाउँदै भन्छिन्, ‘गत वर्षकै चिसोमा घर बनाइदिने भनेर आश्वासन पाएकी थिएँ, तर अझै कसैले सोधखोज गर्न आएन ।’

मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अलपत्र
पक्की घर पाउने आसले झुपडी भत्काएका विपन्न एक वर्षदेखि गोठमै

भजनी नगरपालिका– ९, भुरुवाका छोटु राजी काठले आफैँले बनाएको घर भत्काएर गोठमा बस्न थालेको एक वर्ष भयो । गोठको आधा भागमा भित्ता छैन । चिसो बढेपछि हावा छेक्न गोठलाई वरिपरिबाट त्रिपालले छेकेका छन् । प्रदेश सरकारले नयाँ घर बनाइदिने भनेपछि गएको वर्ष पुसमा उनले आफ्नो दुईकोठे कच्ची घर भत्काए । गाईभैँसीलाई घरअगाडिको खुला चउरमा सारेर ६ जनाको उनको परिवार गोठमा स¥यो ।

तर, वर्ष दिन बित्यो पक्की घर बन्ने सुरसारै छैन । सरकारले बनाइदिने भनेको घर नबनेपछि राजीको परिवार यो ठन्डीमा गोठमा कष्ट सहेर बसिरहेको छ । ‘फाटेको त्रिपालले हावा छेक्दैन । गोठमा चिसोले रात काट्न मुस्किल हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘घर बन्न लागेको देख्दा खुसी लाग्छ, तर ढिलो हुँदा हामीले निकै समस्या भोग्नुपरिरहेको छ ।’

छोटु मात्रै होइनन्, झुपडीमा बस्दै आएका भुरुवाकै बल्गु राजीको अवस्था पनि उस्तै छ । सरकारले पक्की घर बनाइदिने भएपछि फुरुंग भएका उनी घर बनाउन ढिलाइ हुँदा भने निकै समस्यामा छन् । बल्गुको परिवार पनि घर भत्काएर एक वर्षदेखि गोठमै बसिरहेको छ । हिउँदको कठ्यांग्रिँदो चिसोमा रात कसरी बिताउने भन्ने उनलाई चिन्ता छ । ‘दुःख सहेरै चुहिने गोठमा बर्खा बित्यो । पोहोरजस्तै यसपालिको चिसो हिउँद पनि गोठमै बस्नुपर्ने भयो,’ उनले भने ।

छोटु र बल्गुजस्तै भुरुवाको २५ विपन्न राजीपरिवार नयाँ घर पाउने आसमा पुराना घर भत्काएर गोठमा बसिरहेका छन् । घर निर्माणमा ढिलाइ हुन थालेपछि कतिपय परिवारले गोठवरिपरि काठको भित्ता बनाएका छन् । उनीहरू सबैले गत वर्ष पुसमा आफ्ना झुपडी भत्काएका थिए । माघदेखि बस्तीमा घर निर्माणको काम सुरु भयो, जग हालेपछि भने ठेकेदार फर्केर आएन । अहिले सबै घरको भित्ता त ठड्याइएको छ । तर, न झ्यालढोका छन्, न छाना राखिएका छन् । केही घरमा अहिले प्लस्टर गर्ने काम सुरु गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत घर बनाइदिने योजना ल्याएको थियो । सम्झौताअनुसार गत वर्ष आर्थिक वर्षमा नै घर निर्माण भइसक्नुपर्ने हो । ठेकेदारले लापरबाही गरिरहेकाले यस वर्ष पनि घर निर्माण सम्पन्न हुनेमा स्थानीय ढुक्क छैनन् । ‘६ महिनाभित्रै घर बनिसक्छ भनिएको थियो । नयाँ घर पाउने खुसीले पोहोर पुसको कठ्यांग्रिँदो चिसोमा भएको घर भत्काएर गोठमा स¥यौँ,’ आरम राजीले भने, ‘अहिलेसम्म गोठमै छौँ, नयाँ घर कहिले बन्छ थाहा छैन ।’ 

घर निर्माणमा ठेकेदारको लापरबाही
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २५ वटा घर निर्माणका लागि बिएन्डसी बिल्डर्ससँग एक करोड एक लाख २९ हजारमा गत वर्ष नै सम्झौता गरेको थियो । दुईकोठे घरमा टिनको छाना राखिने सम्झौता छ । यस्तै, टिनले छाएको बरन्डा र शौचालय पनि बनाउने र घरको रङरोगन गर्ने सम्झौता छ । गाउँमा अधिकांश घरमा छाना राख्ने काम पनि सम्पन्न भएको छैन ।

ठेकेदारले केही सातायता प्लस्टर गर्न सुरु गरे काम निकै सुस्त गतिमा भइरहेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार अहिले पनि कहिले काम हुने र कहिले बन्द हुने भइरहेको छ । निर्माण सामग्रीको अभावले काममा ढिलाइ भइरहेको घर निर्माणका लागि ठेकेदार कम्पनीलाई कामदार उपलब्ध गराउने ‘पेटी ठेक्का’ लिएका विष्णु डगौराले बताए । ‘सामान झारेको भए पहिल्यै काम सकिन्थ्यो,’ उनले भने । 

घर निर्माणमा चरम लापरबाही भइरहेको स्थानीयको गुनासो छ । केही दिन काम गर्न आएर ठेकेदार बेपत्ता हुने गरेको स्थानीयले बताएका छन् । ‘काम गर्नेहरू केही दिन आउँछन्, फेरि हराउँछन्,’ स्थानीय बेरली राजीले भनिन्, ‘मेन ठेकेदारले काम गरिरहेको ठेकेदारलाई पैसा र सामान दिएन भन्ने सुनिन्छ ।’ ठेकेदारको लापरबाहीले आफूहरूले दुःख पाइरहेको उनले बताइन् ।

 घर निर्माणको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई बारम्बार तोकेता गर्दा पनि ढिलो भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले ठेकेदारको लापरबाहीले विपन्नको घर निर्माणमा ढिलाइ भएको बताए । ‘हामीले बारम्बार ताकेता गरिरहेका छौँ, तैपनि कामले तीव्रता पाएको छैन । ठेकेदारले चैतसम्म सक्छौँ भनेका छन्,’ उनले भने ।

कञ्चनपुर र डोटीका विपन्नको अवस्था पनि उस्तै
मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत कैलाली, कञ्चनपुर र डोटीमा गरी विपन्न समुदायका ५७ वटा घर निर्माण भइरहेका छन् । गत वर्ष नै सम्पन्न हुनुपर्ने कञ्चनपुर र डोटीमा पनि घर निर्माणको काम निकै सुस्त छ । डोटीको राजपुरमा विपन्न वादी समुदायका सातवटा घर निर्माण गर्ने अलपत्र छ । दुईवटा घरको जग हाल्ने काम नै सुरु नभएको मन्त्रालयले जनाएको छ । यस्तै, तीनवटा घरको जग हालेर छोडिएको र दुई घरको भित्ता ठड्याइएको छ ।

ठेकेदारले आफूहरूलाई झुलाउने काम गरेको लाभग्राही गणेश वादीले बताए । ‘पाँच वर्षदेखि सडकको छेउमा बसिरहेका छौँ । सडकले उठेर जाउ भन्दै दुःख दिन्छ । सरकारले नयाँ घर दिने भनेपछि खुसीको सीमा थिएन,’ उनले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘तर, ठेकेदारले हामीलाई झुलायो ।’ भूमिहीन सात वादी परिवारलाई घर निर्माणका लागि स्थानीय दिपायल–सिलगढी नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो ।

कञ्चनपुरको वेदकोटमा पनि हलिया र मुक्त कमैयाका २५ परिवारका लागि घर निर्माणको काम करिब ५० प्रतिशत काम मात्रै सम्पन्न भएको छ । नागार्जुन कन्स्ट्रक्सनले वेदकोटमा एक करोड एक लाख ८० हजार र राजपुरमा ३६ लाख ४० हजारमा ठेक्का लिएको मन्त्रालयले जनाएको छ । 

शीतलहरले कष्टकर बन्दै विपन्नको जनजीवन 
शीतलहर सुरु भएसँगै विपन्न परिवारको जनजीवन निकै कष्टकर हुन थालेको छ । आर्थिक रूपमा कमजोर हुने सप्तरीका मुसहर (सदा) र डोम (मरिक) जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउँछ । सप्तरीको तिलाठी कोइलाडी– ८ तोपाका गणेशी सदाको चिसोकै कारण एक वर्षअघि मृत्यु भयो । दैनिक मजदुरी गरेर परिवार चलाउने गरेका उनी खेतमा काम गर्दै गर्दा ढलेका थिए, त्यहीँ उनको मृत्यु भयो । उनको मृत्युपछि परिवारको जिम्मेवारी पत्नी अनिता सदामाथि आइपुगेको छ । 

जीविकोपार्जन गर्न गाह्रो भएपछि १२ र १० वर्षका छोरालाई कमाउन बाहिर पठाएको अनिताले बताइन् । ‘शीतलहर हामीजस्ता गरिब, विपन्न दलितका लागि काल बनेर आउने गरेको छ, लत्ता–कपडा छैन, घर पनि उस्तै, परालको भरमा जाडो काट्नुपर्ने बाध्यता छ,’ उनले भनिन् । शीतलहरजस्ता विपत्को व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको तिलाठी कोइलाडी गाउँपालिकाका विपत् व्यवस्थापन अधिकृत राजेश झा बताउँछन् । गाउँपालिकाकाले जनचेतना प्रवाहदेखि न्यानो लुगा वितरणसम्मको योजना अघि सारेको उनले बताए ।

प्रहरी तथ्यांकअनुसार पछिल्लो चार वर्षयता सप्तरीमा चिसोकै कारण १८ जनाले ज्यान गुमाएका छन् । तर, झन्झटिलो प्रक्रियाका कारण अधिकांशले चिसोका कारण ज्यान गुमाएकाबारे सम्बन्धित निकायमा जानकारी गराउन जाँदैनन् । चिसोका कारण मृत्यु भएको भनी सम्बन्धित निकायमा जानकारी गराए शव अस्पताल लैजाने, पोस्टमार्टम गर्नुपर्नेजस्ता प्रक्रियाका कारण मृतकका आफन्त झन्झटमा पर्न नचाहेको देखिएको छ ।

सरकारी तथ्यांकअनुसार दुई छाक टार्न नसक्ने व्यक्तिको संख्या सप्तरीमा मात्रै एक लाखको हाराहारीमा छन् । तर, यिनीहरूलाई शीतलहरबाट जोगिन न्यानो लुगा प्रदान गर्न सरकारीस्तरबाट कुनै अग्रसरता भएको देखिँदैन । शीतलहरबाट सप्तरीमा यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले मंसिरदेखि फागुनसम्म पाँच हजार विपन्न परिवारका ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरेको हो । 

चिसोमा कठ्याग्रिँदै  विपन्न, आगो तापेर रात काट्दै
चिसो बढ्दै गएसँगै सर्लाहीमा विपन्न परिवारको दैनिकी कष्टकर बन्दै गएको छ ।पछिल्लो समय बिहान–बेलुका अत्यधिक चिसो बढेको र चिसो स्याँठले हान्न थालेको स्थानीयको गुनासो छ । चिसोका कारण जिल्लाका विपन्न, मुसहर, डोमलगायत समुदाय विशेष संकटमा पर्ने गरेका छन् । न्यानो कपडाको अभावमा उनीहरूलाई जाडो छल्न निकै कष्ट हुने गरेको सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ कामदका राजकिशोर माझीले बताए ।

न्यानो लुगाको जोहो गर्न नसकेका विपन्नहरू दिनरात आगो तापेर चिसो छल्ने गरिरहेका छन् । धेरैजसो स्थानीयले परालको ओड्ने र परालै ओडेर जाडो कटाउने गरेको बरहथवा नगरपालिकाका रामबाबु डोमले बताए । आयआर्जन नभएका कारण न्यानो कपडा किन्न नसकेका आफूहरूका लागि जाडो मौसम कैयन्पटक काल बन्ने गरेको उनीहरूको कथन छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको तथ्यांकअनुसार जिल्लामा पाँच वर्षमा चारजनाले कठ्यांग्रिएर ज्यान गुमाएका छन् । ज्यान गुमाउने अत्यन्त विपन्न तराईका दलित समुदायका नागरिक छन् । उनीहरूले न्यानो कपडा नपाएकै कारण ज्यान गुमाउनुपरेको स्थानीय बताउँछन् । 

चिसोबाट बचाउन स्थानीय तहको तयारी शून्य
चिसो र शीतलहर बढेसँगै बाराका स्थानीय तहले सर्वसाधारणलाई न्यानो बनाउन कुनै तयारी थालेका छैनन् । तयारीका नाममा अधिकांश स्थानीय तहले दाउराबाहेक अन्य केही पनि काम अगाडि बढाएका छैनन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गत सोमबार बसेको कार्यालय प्रमुखको बैठकबाट सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई चिसो र तत्काल हुने विपत्का लागि तयारी अवस्थामा रहन ध्यानाकर्षण गराइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए । 

जितपुर–सिमरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल भन्छन्, ‘चिसो र शीतलहरलाई मध्यनजर गर्दै दाउराको व्यवस्था गरेका छौँ, न्यानो कपडा एवं कम्बलका लागि व्यापारी तथा सप्लायर्सहरूसँग सरसल्लाह भइरहेको छ ।’ चिसो र शीतलहरका कारण श्वासप्रश्वास, कोल्ड डाइरिया, ज्वरोसमेत आउने हुँदा तातो झोलिलो पदार्थ खाने र न्यानो भएर बस्न, साँझबिहान बाहिर हिँड्डुल नगर्न चिकित्सकले सुझाव दिएका छन् । 

शीतलहरबाट जोगाउन बाँकेका स्थानीय तहसँग छैन कुनै योजना
गर्मीमा अति गर्मी र चिसोमा अति चिसोको रूपमा चिनिने बाँकेमा शीतलहरले हरेक वर्ष ज्येष्ठ नागरिक, बालबालिका र गरिबीको रेखामुनि रहेका समुदायलाई सास्ती दिने गरेको छ । तर, शीतलहरबाट जोगाउन स्थानीय तहले खासै चासो नदिएको सर्वसाधारणले गुनासो गरेका छन् । डुडुवा गाउँपालिकाले सर्वसाधारणलाई शीतलहरबाट जोगाउन गाउँ र टोलको चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाउने योजना बनाएको गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले जानकारी दिए । 
नरैनापुर गाउँपालिकाले पनि पालिकामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्ने भएको छ । चिसोबाट जोगाउन वडा कार्यालयमार्फत गाउँपालिकामा रहेका सबै ज्येष्ठ नागरिकलाई कम्बल प्रदान गर्ने कार्यक्रम रहेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिए । उनले चिसो बढेको वेला चोक–चोकमा आगो बाल्ने योजना बनाएको बताए । 

शीतलहरबाट जोगाउन नेपालगन्ज उपमहानगरपालिकाले चोक–चोकमा आगो बाल्नेबाहेक अरू कुनै कार्यक्रम नभएको उपप्रमुख उमा थापामगरले बताइन् । उनले विभिन्न संघसंस्थाको सहयोगमा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिने बताइन् । चिसोबाट जोगिने उपाय र सावधानीसहित सन्देशमूलक सूचना प्रवाह गर्दै आएको उनको भनाइ छ । कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, राप्तीसोनारी गाउँपालिकाले पनि शीतलहर चलेको वेला चोकमा आगो बालेर सर्वसाधारणलाई न्यानो प्रदान गर्ने योजनाबाहेक अन्य कुनै तयारी नभएको जनाएका छन् । 

न्यानो कपडा र दाउरा बाँड्ने योजना छ
 तिलकराम शर्मा, आन्तरिक
मामिला तथा सञ्चारमन्त्री, लुम्बिनी

शीतलहर र हिमपातको सम्भावित जोखिम र त्यसले पार्न सक्ने असरलाई ध्यान दिएर प्रदेश सरकारले तयारी थालेको छ । नागरिकलाई चिसोबाट जोगाउने गरी तयारी थाल्न निर्देशन दिनेदेखि आवश्यक सामान खरिद गर्ने प्रक्रिया अगाडि बढाउनेसम्मका कामको तयारी भइरहेको छ । न्यानो कपडा तथा दाउराको व्यवस्थापन गरिरहेका छौँ । संघीय सरकारसँग पनि समन्वय गर्ने पहल भइरहेको छ । 

चिसोबाट जोगाउन लुम्बिनी प्रदेशमा यस्तो छ तयारी
चिसो बढेसँगै लुम्बिनी प्रदेश सरकारले आवश्यक तयारी थालेको छ । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक तयारीमा जुट्न निर्देशन दिँदै स्थानीय तहहरूसँग समन्वय बढाएको छ । लुम्बिनी प्रदेशमा तराईका जिल्लामा शीतलहर र पहाडी जिल्लामा हिमपातको जोखिम हुने गर्छ । शीतलहर र हिमपातको सम्भावित जोखिम र त्यसले पार्न सक्ने असरलाई ध्यानमा दिएर सरकारले तयारी थालेको हो ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले चिसोबाट नागरिकलाई जोगाउने गरी तयारी थाल्न आवश्यक निर्देशन दिनेदेखि तयारीका अन्य काम भइरहेको बताए । उनका अनुसार आवश्यक सामान खरिद गर्ने प्रक्रिया अगाडि बढाउनुका साथै संघीय सरकारसँग माग गर्नेसम्मका तयारी भइरहेको छ । मन्त्रालयमा रहेको विपत् व्यवस्थापन समन्वय शाखाका प्रमुख बाबुराम पन्थीले तातो कपडा तथा दाउराको व्यवस्थापन गर्नेदेखि विभिन्न तयारीका काम भइरहेको बताए । 

चिसो बढेपछि टिफिन समयपछि विद्यालय खाली
हिमपात र तुषारो परेर चिसो बढेसँगै उच्च हिमाली क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालय समयमै घर जाने गरेका छन् । चिसो बढेपछि त्यस क्षेत्रका बालबालिकाको पठनपाठन कष्टकर बनेको हो । गुम्देल, बाम्ती, कुबुकास्थली, चुचुरे, ठोसे, रस्नालु, प्रीति, गौस्वारा, डडुवा र दोरम्बालगायत क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पढ्ने बालबालिका टिफिन समयपछि घर हिँड्ने गरेका छन् ।

चिसोकै कारण विद्यालय आउनेको संख्यामा कमी आउन थालेको महालंगुर माध्यमिक विद्यालय गुम्देलका शिक्षक टंक देवकोटाले जानकारी दिए । ‘तुषारो र हिउँका कारण अत्यधिक मात्रामा चिसो बढेकाले विद्यालय आउने विद्यार्थीको संख्या निकै घटेको छ,’ उनले भने । टिफिनपछि विद्यार्थी कक्षाकोठा छोडेर हिँड्न थालेपछि दिउँसो २ः३० बजे नै विद्यालय बन्द गर्ने गरिएको देवकोटाले बताए । चिसोले विद्यालय भवनभित्र बस्दा विद्यार्थी हात कठ्यांग्रिएर कलम समाउन नसक्ने र काम्न थालेपछि गोकुलगंगा गाउँपालिका– ३ रस्नालुमा रहेको पूर्णआधारभूत प्राथमिक विद्यालयले घाम लाग्ने ठाउँमा खुला चउरमा राखेर पढाउन थालेको शिक्षिका बालकुमारी थापाले जानकारी दिइन् । 

चिसोबाट जोगिने विषयमा स्थानीय सरकारले कुनै कार्यक्रम सञ्चालनमा नल्याएको उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरबहादुर सुनुवारले जानकारी दिए । ‘रामेछापको उच्च लेकाली भूभाग र बढी चिसो हुने क्षेत्र आफ्नै पालिका भए पनि हामीले अहिलेसम्म विपन्न परिवारलाई जोगिने कुनै कार्यक्रम राखेका छैनौँ,’ उनले भने । चिसोका कारण टन्सिल हुने, हृदयाघात हुने, श्वासप्रश्वासमा समस्या हुने, टाउको दुख्ने, निमोनिया हुने, आँसु बग्नेजस्ता समस्या हुने भएकाले घरबाहिर हिँडडुल नगर्न र हिँड्नै परे न्यानो कपडा लगाउँदा राम्रो हुने तामाकोसी अस्पतालका डा. सुमन कर्माचार्यले बताए ।

 देशभर अधिकतम  तापक्रम घट्यो, बढ्यो चिसो
तराईमा हुस्सुसँगै शीतलहर पनि चल्न थालेको छ । अधिकांश जिल्लामा अधिकतम तापक्रम पनि घटेको छ । धनगढीमा अधिकतम र न्यूनतम तापक्रमको ग्याप ८.२ डिग्री मात्र छ । मंगलबार अधिकतम तापक्रम १८.५ डिग्री मापन हुँदा न्यूनतम तापक्रम १०.२ मा झरेको थियो ।

नेपालगन्ज, धनकुटा, विराटनगर र जनकपुरको अधिकतम तापक्रम क्रमशः १८.३, १९.३, २४.५ र २४.८ डिग्री मापन भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण तापक्रम घटिरहेको छ ।

जुम्लाको अधिकतम तापक्रम ७ डिग्री छ भने न्यूनतम तापक्रम माइनस ४ डिग्रीमा झरेको छ । डडेल्धुरा, पोखरा, ओखलढुंगा, जोमसोम र जिरीको अधिकतम तापक्रम पनि क्रमशः ९.५, १५.५, १४.३, ७ र ११.२ डिग्रीमा झरेको छ ।

‘दिउँसो पनि घाम नलाग्ने, हुस्सुले आकाश ढाकिरहने भएकाले अधिकतम तापक्रम पनि घट्दै गएको हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘लामो समयसम्म घाम नलाग्दा जाडो बढी महसुस हुन्छ ।’

देशका धेरै भागमा वर्षा र उच्च पहाडी–हिमाली क्षेत्रमा हिमपातको अनुमान
दिनभरजसो आकाश धुम्म हुँदा मंगलबार देशभर चिसो बढेको छ । तीन दिनअघि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण मंगलबार काठमाडौं उपत्यकाको आकाश धुम्म भयो, तुँवालोले ढाकियो । अधिकतम तापक्रम १५.२ डिग्रीमा झरेको छ । सोमबार काठमाडौंको अधिकतम तापक्रम १७ डिग्री थियो । मंगलबार न्यूनतम तापक्रम ३.६ डिग्री मापन भएको छ । मंसिरमा अन्तिम साता काठमाडांैको अधिकतम तापक्रम २० डिग्री थियो । 

‘दिउँसो पनि घाम नलाग्ने, आकाश धुम्म भइरहने भएपछि चिसो बढेको छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘यो प्रणाली बुधबार देशैभर सक्रिय हुनेछ । मुलुकका धेरै ठाउँमा पानी पर्ने भएकाले चिसो त बढ्छ नै ।’ उनका अनुसार बुधबार दिउँसो देशभर मौसम बदली हुनेछ । काठमाडौं उपत्यकासहित धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताइन् । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना छ ।