१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
डा. ऋषिराज बराल
२o८१ जेठ ५ शनिबार o७:१३:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

यतिखेर माओलाई सम्झिनुको अर्थ 

Read Time : > 5 मिनेट
डा. ऋषिराज बराल
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:१३:oo

अहिले हामी परम्परागत प्रतिक्रियावादीसित मात्र नभई कम्युनिस्ट नामका संसद्वादी नवप्रतिक्रियावादीसित पनि लडिरहेका छौँ 


स्टालिनको मृत्युपछि रसियाली कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनपछि ख्रुस्चेवले अघि सारेको स्टालिनविरोधी अभियान र ‘शान्तिपूर्ण संक्रमण’को माक्र्सवाद–लेनिनवादविरोधी अभियानलाई लिएर विश्व कम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल र टीकाटिप्पणी भयो । साम्राज्यवादी मुलुकले मात्र नभएर कम्युनिस्ट पार्टी र मुलुक भन्नेहरूले समेत आफूलाई ख्रुस्चेवको लाइनमा उभ्याए । अब युरोपको स्थितिमा युरोपकै हावापानीअनुसारको साम्यवाद भनेर युरो–कम्युनिज्मको हावासँगै ‘नव– वामपन्थ’को हुन्डरी चल्यो । जति स्टालिनको विरोध गर्‍यो, त्यति क्रान्तिकारी र वस्तुवादी, मुलुक बुझेको, विश्वस्थिति बुझेको र समयअनुसार चल्न सक्ने कम्युनिस्ट दरिने स्थिति भयो । सुन्दरलाई कुरूप र कुरूपलाई सुन्दर बनाउने अभियान चलाइयो ।

नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी निर्माण अभियानमा लागेको चिनियाँ समाजका लागि यो निकै ठूलो चुनौती थियो । यस किसिमको दक्षिणपन्थी हुन्डरीविरुद्ध माक्र्सवाद–लेनिनवादको झन्डा लिएर माओत्सेतुङ उभिनुभयो । सुरुमा उहाँलाई साथ दिनेहरू अल्बानियाका अनवर होक्जा र युगोस्लाबियाका टिटो सबैले छाडे । विश्व कम्युनिस्ट आन्दोलनमा उहाँ अल्पमतमा पर्नुभयो । तर, अलिकति पनि विचलित नभई उहाँ माक्र्सवाद–लेनिनवादको झन्डा लिएर खु्रस्चेव, खु्रस्चेवपन्थी र  साम्राज्यवादपरस्त चिन्तन र व्यवहारविरुद्ध उभिनुभयो । विश्व समाजवादी शिविर दुई क्याम्पमा विभाजित भयो ।

माओविरुद्ध युरोपेली मुलुकमा एक किसिमको अभियान नै चलाइयो । माओलाई ‘विश्व समाजवादी शिविरविरुद्ध गएको’, ‘अमेरिकी साम्राज्यवादलाई सघाउ पुर्‍याएको’ मात्र नभनी ‘सिआइएको एजेन्टसम्म’को अभियोग लगाइयो । खु्रस्चेवको नेतृत्वमा रहेको रुस र उसका सहयोगी राष्ट्रहरूद्वारा नाकाबन्दीको स्थिति उत्पन्न गराइयो । खु्रस्चेवले हाकाहाकी चीनमाथि आक्रमणको धम्कीसमेत दिए र सिमानामा आतंक मच्चाए । तर, माओ दृढतासाथ माक्र्सवाद–लेनिनवादको पक्षमा उभिनुभयो ।

स्टालिनका योगदान र कमजोरीको सही र वैज्ञानिक मूल्यांकन गर्दै स्टालिनलाई लेनिनको सच्चा उत्तराधिकारी भन्दै माओ स्टालिनको पक्षमा दृढतासाथ उभिनुभयो । यसै क्रममा उहाँले महान् बहस को विश्वव्यापी अभियान चलाउनुभयो । रुसको धम्कीबाट डराएर रुस समाजवादी मुलुक हो, स्टालिन बेठीक हुन् र ख्रुस्चेव सही हुन् भन्नुभएन । त्यतिखेरको हुन्डरीविपरीत धारमा उभिनु सहज थिएन । तर, माओ दृढतासाथ हुन्डरीविरुद्ध उभिनुभयो ।

स्टालिनको मृत्यु र रुसमा नवसंशोधनवादको स्थापनासँगै बाहिर मात्र नभएर चिनियाँ कम्युनिस्ट पार्टीभित्रै पनि मौका खोजेर बसेका अवसरवादी र दक्षिणपन्थी चलमलाउन थाले । माओमाथि प्रहार गर्नका लागि अनेक उपायको खोजी गर्न थाले । माओले यस यथार्थलाई राम्रोसित बुझ्नुभएको थियो र प्रस्टतासाथ भन्नुभयो : ‘सर्वप्रथम, स्टालिनको प्रश्नका सम्बन्धमा हामी र ख्रुस्चेवबीच अन्तर्विरोध छ । उनले स्टालिनको अति बीभत्स तस्बिर खिचेका छन्, यसमा हाम्रो सहमति छैन । उनले स्टालिनलाई कुरूप बनाएका छन् । त्यसकारण अब यो उनको देशको मात्र सरोकारको विषय नभई सबैको सरोकारको विषय हो । हामीले स्टालिनको तस्बिर ‘तियानमेन चोक’ मा राखेका छौँ । यो संसारभरिका श्रमजीवी जनताको इच्छाअनुरूप छ र यसले ख्रुस्चेवसँगका हाम्रा आधारभूत मतभिन्नतालाई संकेत गर्छ ।’

समयले माओ ठीक हुनुहुन्थ्यो, माओले चलाएको महान् बहस अभियान सही थियो भनेर पुष्टि गरेको छ । समयले माओ ठीक हुनुहुन्थ्यो र ख्रुस्चेव, उसको मण्डली र युरो–कम्युनिज्मको वकालत गर्नेहरू बेठीक थिए भन्ने प्रमाणित गरेको छ । साम्राज्यवादीका अनेक षड्यन्त्र, स्टालिनको मृत्युपछि रुस र युरोपमा आएको हुन्डरीसामु माओ झुक्नुभएको भए आज हामीसित माक्र्सवाद–लेनिनवाद– माओवाद हुने थिएन, आजको साम्राज्यवादसित लड्ने हतियार हुने थिएन । संशोधनवादीले गरेको माक्र्सवादको भ्रष्टीकरण र विद्रुपीकरणविरुद्ध माओ नलड्नुभएको भए आज विश्व सर्वहारा वर्गले माओवादको हतियार पाउने थिएन । माओले आरोप, षड्यन्त्र र चरित्र हत्याका थुप्रै शृंखला व्यहोर्नुभयो । उहाँले पार्टीभित्र र बाहिर निकै लामो वैचारिक–राजनीतिक संघर्ष गर्नुभयो । 

माओले त्यसै चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति चलाउनुभएको थिएन । विश्वव्यापी रूपमा आएको हुन्डरी र चिनियाँ कम्युनिस्ट पार्टीभित्रका दक्षिणपन्थीको गतिविधिलाई राम्रोसित अध्ययन गरेपछि चीनले रङ फेर्ने हो कि भन्ने चिन्ता र चिन्तनसाथ चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अभियान चलाइएको थियो । समयले सांस्कृतिक क्रान्ति सही थियो भनेर साबित गरिसकेको छ । ख्रुस्चेव हुँदै गोर्बाचोवसम्म पुग्दा रुसले पूर्ण रूपमा रङ फेर्‍यो र यता माओको मृत्युपछि चीनले पनि त्यही बाटो समात्यो ।

माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो । माओ र सांस्कृतिक क्रान्तिका पक्षमा दृढतासाथ उभिएका माथिल्लो तहका नेताविरुद्ध मुद्दा लगाइयो, जेल हालियो र थुप्रैको हत्या गरियो । बिस्तारै माओ र समाजवादी अभियानसम्बद्ध सर्वहारावादी मूल्यमाथि धाबा बोलियो । देङ सियाओ पेङ र हुवा को फेङको नेतृत्वमा चालिएको कथित सुधारको यो अभियान चीनमा पुँजीवादको पुनस्र्थापना थियो । यसलाई विश्वभरिका क्रान्तिकारी र चिनियाँ माओवादीले ‘चीनमा प्रतिक्रान्ति’को संज्ञा दिए र त्यसैअनुरूप व्यवहार गर्दै जनमत निर्माणमा सक्रियतासाथ लागे । अहिले चीन समाजवादी होइन, साम्राज्यवादी शक्तिका रूपमा विकसित भएको छ । परन्तु, माओले भनेझैँ चिनियाँ पुँजीपन्थीहरू आनन्दले बस्ने स्थिति छैन । चिनियाँ सर्वहाराले माओवादी कम्युनिस्ट पार्टी, चीन गठन गरेर आफ्ना गतिविधि अघि बढाइरहेका छन् ।

क्रान्तिको चर्चा गर्दै गर्दा सबैले छातीमा हात राखेर आत्मसमीक्षा गर्नुपर्ने वेला आएको छ । आफ्नै टाउकामा आफैँले आगो लगाउन कठिन त छ, तर आवश्यक छ । अब मोर्चाबद्ध हुनुको विकल्प छैन । 

माओको मृत्युपछि माओले दर्शन, वैज्ञानिक समाजवाद, राजनीतिक अर्थशास्त्र र निरन्तर क्रान्तिको पक्षमा पुर्‍याएको योगदानलाई माओ विचारका रूपमा सीमित गर्न मिल्दैन भन्दै विश्वका क्रान्तिकारीले यसलाई माओवादका रूपमा विश्लेषण गर्दै माक्र्सवाद–लेनिनवादमा भएको विकास र माक्र्सवादको तेस्रो चरणलाई आजको माक्र्सवादका रूपमा संश्लेषण गरे । आजको सन्दर्भमा क्रान्तिकारी हुनुको अर्थ माओवादी हुनु हो भन्ने सार्वभौम सत्य हो । यसमा पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोन्जालोको भूमिका ऐतिहासिक छ र पछि रिमले विश्वव्यापी रूपमा अघि बढायो । आज माओले देखाएको क्रान्ति र दीर्घकालीन जनयुद्धको बाटोमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी), फिलिपिन्स कम्युनिस्ट पार्टी, टर्कीको माओवादी पार्टी र पेरु कम्युनिस्ट पार्टी दृढतासाथ अघि बढिरहेका छन् र थुप्रै मुलुकमा माओवादी पार्टी गठन गर्ने क्रम निरन्तर जारी छ ।

स्टालिनको मृत्युसँगै युरोपमा देखिएको युरो–कम्युनिज्मको बहुलवादी हावा, सोभियत रुसको पतन र माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति संसारभरिका साम्राज्यवादीका लागि खुसीको विषय थियो । स्थितिको सही र वैज्ञानिक आकलन गर्न नसकेका बुद्धिजीवीले चारैतिर अँध्यारो र शून्यताबोध गर्न थाले । दर्शन, विचार र राजनीति सबैतिर उनीहरूले शून्यता मात्र देखे र ‘उत्तरवाद’ र ‘अन्त्यको सिद्धान्त’लाई अघि सारे । साम्राज्यवादले यसलाई आफ्नो स्वार्थमा प्रयोग गर्‍यो । ‘विचारको अन्त्य’, ‘प्रगतिको महाख्यान’ को अन्त्य ‘माक्र्सवादको अन्त्य’ भन्दै साम्राज्यवादले ‘उत्तरवादी’ सिद्धान्तलाई भूमण्डलीकरण गर्‍यो । 

माक्र्सवाद–लेनिनवाद–माओवादका पक्षधर आज एकातिर ‘उत्तर–वादी’ सिद्धान्तका विविध रूप ‘उत्तर–आधुनिकतावाद’, ‘उत्तर–माक्र्सवाद’विरुद्ध लडिरहेका छन् भने अर्कातिर २१औँ शताब्दीको बहुरूपी संशोधनवाद, लाल झन्डा बोकेको संशोधनवादविरुद्ध पनि लडिरहेका छन् । माओवादले क्रान्तिकारीलाई दुवै मोर्चामा लड्ने विचार र बाटो दिएको छ । नेपाली समाजको सन्दर्भमा पनि यतिखेर हामी यी दुवै मोर्चामा लडिरहेका छौँ । परम्परागत प्रतिक्रियावादीसित मात्र नभएर कम्युनिस्ट नामका संसद्वादको अभ्यासमा लागेका नव–प्रतिक्रियावादीसित पनि हामी लडिरहेका छौँ । नेपाली समाजको अहिलेको स्थिति साँच्चै जटिल छ । क्रान्तिकारीहरू संगठनात्मक दृष्टिले कमजोर भएको र संशोधनवादी र संसद्वादी हाबी भएको स्थिति छ । यतिबेर दक्षिणपन्थी हावाहुन्डरी जोडतोडले चलेको छ र कमजोर जरा भएकाहरू सँगसँगै पछि लाग्न पनि सक्छन् र लागिरहेका पनि छन् । सतीसाल मात्रै प्रतिरोधसाथ उभिन सक्छ भन्ने यथार्थलाई व्यवहारबाटै प्रमाणित गर्नुपर्ने चुनौती हाम्रा सामु छ ।

अवश्य पनि अबका दिन थप चुनौतीपूर्ण हुनेछन् । दुवैथरी मोर्चा सक्रिय हुनेछन् । ‘कम्युनिस्टको सरकार हुँदा पनि’, ‘वामपन्थीको हातमा सत्ता आउँदा पनि’ विरोध गर्नेहरू ‘विदेशीबाट’,  ‘...शक्तिबाट निर्देशित’ हुन्, ‘जनविरोधी’ हुन् भन्ने आरोप पनि क्रान्तिकारीहरूलाई वाम रूपधारी सत्ताधारी शासक वर्गले लगाउन सक्छ र लगाइरहेको पनि छ । यसको जनविरोधी चरित्रबारे जनतालाई बुझाउन पनि समय लाग्न सक्छ । जनता आफैँले अनुभूत नगरुन्जेल यसविरुद्धको जनमत निर्माण गर्ने काम निकै जटिल र चुनौतीपूर्ण हुनु स्वाभाविक छ । सैद्धान्तिक पक्षभन्दा व्यावहारिक पक्ष अझ बढी जटिल हुनेछ । व्यवहारले यो देखाइरहेको छ । वास्तवमा ‘लाल झन्डाविरुद्ध लाल झन्डा’को मोर्चा निकै जटिल हुन्छ ।

समयले अहिलेको संविधान र संसदीय व्यवस्था नमान्नेहरूबीच व्यापक मोर्चाबद्धताको माग गर्छ । यतिखेर सबैभन्दा गम्भीर प्रश्न राष्ट्रिय स्वाधीनता बनेको छ । क्रान्तिकारी उद्देश्यमा लागेका अगुवाहरू यसप्रति गम्भीर हुनु आवश्यक छ । होहल्ला गर्नु र क्रान्तिलाई योजनाबद्ध शृंखलामा अघि बढाउनु अलग–अलग कुरा हुन् । आवश्यकताअनुसार अघि बढ्ने र पछि हट्ने कुरा कला र विज्ञान दुवै हो । विसर्जनवाद ढोल पिट्दै आउँदैन । प्रधान कुरा स्कुलिङ हो । दक्षिणपन्थी अवसरवादभन्दा कम खतरनाक हुँदैन ‘क्रान्तिकारी रूपवाद’ । विचारभन्दा आर्थिक उत्प्रेरणाले निर्मित जगले धेरै दिन धान्न सक्दैन । सत्य के हो भने हामी जो क्रान्तिको कुरा गरिरहेका छौँ, सबैले छातीमा हात राखेर आत्मसमीक्षा गर्नुपर्ने वेला आएको छ । आफ्नै टाउकामा आफैँले आगो लगाउन कठिन त छ, तर आवश्यक छ । अब मोर्चाबद्ध हुनुको विकल्प छैन । यतिखेर असाधारण आत्मबल, इच्छाशक्ति, गम्भीर बुझाइ र सोचाइको आवश्यकता छ ।

हामीले देशभित्र क्रान्तिकारी जनउभारको उठान गर्न सकिरहेका त छैनौँ नै, क्रान्तिका लागि लडिरहेका विश्वका उत्पीडित जनताको पक्षमा अभिमत जाहेर गर्नु पनि आवश्यक ठानेका छैनौँ  । गजबको निस्पृहता देखिन्छ हामीमा । अन्तर्राष्ट्रियतावादी सर्वहारावादी चिन्ता र चिन्तनबाट हामी एकदमै विमुख भएका छौँ । तैपनि हामी आफूलाई मालेमावादी भन्छौँ । कस्तो विडम्बना ! यस्तो निस्पृहताबीच दक्षिणपन्थी हुण्डरी हाबी हुने कुरा अचम्मको विषय भएन । त्यसैले पनि गम्भीर आत्मसमीक्षाको आवश्यकता छ भनिएको हो ।

हजार औँला ठडिए पनि सैद्धान्तिक–वैचारिक पक्षमा सम्झौता नगर, आत्मसमर्पण नगर । एक्लै भए पनि सत्यको पक्षमा दृढतासाथ खडा होऊ, महान् बहसमार्फत माओले सिकाएको सत्य यही हो । यतिखेर हामी पनि महान् बहसको चरणबाट गुज्रिरहेका छौँ । हामी यसलाई शब्दमा मात्र स्वीकार गर्छौंं कि व्यवहारमा पनि, प्रश्न यहीँनेर छ । नयाँ जनवादी क्रान्तिका आधारभूत पक्षलाई सिद्धान्त र व्यवहारमा दरिलो गरी समातेर कार्यनीतिलाई रणनीतिक उद्देश्यको सेवामा लगाउने कि, शब्दजाली बनेर गोलचक्करमा रमाइरहने, प्रश्न यहीँनेर छ । सारमा भन्नुपर्दा माओबाट सिक्ने कि नसिक्ने भन्ने प्रश्न छ । हिन्द महासागरको बाटो लागेर सगरमाथाको चुचुरोमा पुग्न सकिँदैन । 

ad
ad