१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस काठमाडौं
२०७८ पौष १० शनिबार २०:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ दल दर्ता

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७८ पौष १० शनिबार २०:०३:००

राष्ट्रिय सभा सदस्यको आगामी १२ माघमा हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। 

नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन्। आयोगका अनुसार, कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जसपा, राप्रपा, र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन्। लोसपा प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेमकिपाले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र भाग लिने भएका छन्। 

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि आजसम्म दल दर्ताका लागि समयावधि प्रदान गरेको थियो। प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था छ। उक्त निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ। 

निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ। 

१९ पदका लागि हुने निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेश सभाका ५३२ मतदाता रहनेछन्। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्। आगामी फागुन २० गते एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र  कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदै छ। विज्ञका रूपमा मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुनेछ।