मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिम, कप्तान
एजेन्सी
२०७८ पौष ७ बुधबार ०८:०४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘नेपाली क्रिकेट  कठिन समयमा छ’

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ पौष ७ बुधबार ०८:०४:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले कठिन समयमा नेपालको क्रिकेट गुज्रिरहेको बताएका छन् । क्रिकइन्फोसँग मंगलबार कुराकानी गर्दै कप्तान लामिछानेले सबैको सहयोग हुँदा वर्तमान विवाद सुल्झाउन सकिने पनि बताएका छन् । ‘अहिले नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच धेरै कुरा भइराखेको छ,’ छामिछानेले भने, ‘यो जटिल अवस्थामा हामीले एक–आपसमा सहयोग गर्नुपर्छ, क्यान र सबै खेलाडी एकै स्थानमा उभिनुपर्ने महसुस गरेको छु।’

गत साता क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी तथा कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । क्यानले ज्ञानेन्द्र र दीपेन्द्रसिंहलाई पद मुक्त गरेको थियो । साथै सोमपाल र कमललाई सन् २०२२ को प्रारम्भिक ६ महिनाको तलब नपाउने गरी कारबाही गरेको थियो ।

क्यानले गत साता नै लामिछानेलाई नेपालको दशौँ कप्तान बनाएको थियो । क्रिकेटको मुख्य संस्था क्यान र खेलाडीले एक–आपसमा सहयोग गरी नेपालको क्रिकेटलाई थप नयाँ उचाइमा पुर्‍याउन सक्ने धारणा लामिछानेले राखेका छन् । ‘सबै एक भए यो अवस्थामा पनि नेपालको क्रिकेटलाई थप नयाँ उचाइमा पुर्‍याउन सकिन्छ,’ उनले भने, ‘मलाई विश्वास छ, यस कार्यमा सहयोग प्राप्त हुनेछ ।’

कप्तान लामिछानेले क्यान र खेलाडीबीचको विवादले आफूलाई दुःख पुर्‍याएको जनाए । ‘वास्तवमा यो समय मलाई दुःखी बनाएको छ,’ अस्ट्रेलियाको विग वास टी–२० फ्रेन्चाइज लिगमा प्रतिस्पर्धा गरिरहेका लामिछानेले भने, ‘यस्तो अवस्थामा कसैले पनि सहयोग गर्ने भावना राखेका छैनन्, कहिलेकाहीँ तल–माथि भइरहन्छ ।’

वर्तमान समयको नेपाली क्रिकेटमा ज्ञानेन्द्र र दीपेन्द्र मुख्य खेलाडीका रूपमा रहेको कप्तान लामिछानेले जनाएका छन् । ‘मल्ल र ऐरी वर्तमान समयकै टोलीका खम्बा हुनुहुन्छ, यद्यपि अहिले उहाँहरूको पद छैन, तर दुवै खेलाडी टोलीकै मुख्य खेलाडीका रूपमा हुनुहुन्छ,’ कारबाहीमा परेका खेलाडीको प्रदर्शन गर्दै लामिछानेले भने, ‘व्यक्तिगत रूपमा अझै पनि उहाँहरूले टोलीमा रही उत्कृष्ट योगदान दिनु हुने विश्वास छ ।’

सन् २०२३ को आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको प्रदर्शन राम्रो हुने कप्तान लामिछानेले बताएका छन् । ‘मलाई आशा छ, यो नेपाली टोलीले ग्लोबल छनोट पार गर्नेछ,’ आत्मविश्वासका साथ उनले भने, ‘नेपाली खेलाडीमा छनोट चरण पार गर्न सक्ने क्षमता छ ।’

साथै उनले खेलाडी मैदानबाहिर भएका विवादलाई बिर्सेर अघि बढ्न सुझाव दिएका छन् । पोखरामा हुने राष्ट्रिय क्याम्पमा सिनियर र युवा खेलाडीसँग सहकार्य गर्न पाउँदा आफूलाई खुसी लाग्ने उनले बताएका छन् । ‘राष्ट्रिय क्याम्पमा सबै खेलाडीसँग सहकार्य गर्न पाउँदा खुसीको क्षण हुनेछ,’ उनले भने, ‘प्रशिक्षक पुबुदु दासानायकेको आगमनमा केही परिवर्तन पाउने विश्वास छ ।’ क्यानले दुई साताअघि पुबुदुलाई दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।