मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अर्जुन अप्पादुराई
२०७८ मङ्सिर २९ बुधबार ०६:४१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हिन्दुत्ववादी सत्ता : बेलायती उपनिवेश भाग – २

Read Time : > 2 मिनेट
अर्जुन अप्पादुराई
२०७८ मङ्सिर २९ बुधबार ०६:४१:००

उपनिवेशकालमा झैँ मोदी अर्थतन्त्रले भारतीय प्राकृतिक स्रोतहरूको शोषणबाट अडानी, अम्बानी र यिनका कुलीन साझेदारलाई पोसिरहेको छ


तुलनात्मक रूपमा बलियो रहेको उत्तर–औपनिवेशिक लोकतान्त्रिक राज्य हिन्दुत्व र चरम जाति विद्वेष (जेनोफोबिया)ले मलजल गरेको एक अत्याचारी, भ्रष्ट एवं स्वेच्छाचारी राज्य बनेको देख्दा म गम्भीर असमन्जसमा परेको छु । सामान्यतया, यो अव्यवस्थालाई सन् १९७५–७७ को इन्दिरा गान्धीको संकटकाल, सन् १९९२ को बाबरी मस्जिदको ध्वंश, सन् २००२ मा मोदी शासित गुजरातमा भएको मुसलमान नरसंहार र सन् २०१४ देखिको मोदी उदयका कालक्रमबद्ध घटनालाई औँल्याउने गरिन्छ । यसबाहेक भारतीय अव्यवस्थालाई कालक्रमबद्ध नभए पनि भीमकाय प्रभाव राख्ने वैश्विक दक्षिणपन्थी अधिनायकवादी लहरसँग जोडेर हेर्ने गरिन्छ । 

बढ्दो हिन्दुत्ववादी अधिनायकवादसम्बन्धी मेरो धारणा उल्लिखित कारणभन्दा फरक एवं अस्वाभाविक लाग्ने खालको छ । उल्लिखित कालक्रमबद्धता सन् १९७० को दशक नभई ईसाको १९औँ शताब्दीको मध्यतिर अर्थात् सन् १८५८ मा भारत इस्ट–इन्डिया कम्पनीको स्वामित्वसँगै बेलायती साम्राज्यको अंग भएको समयदेखि सुरु भएको देखिन्छ । यो कालक्रमबद्धताअनुसार मोदी सत्ता र अवयवहरू बेलायती उपनिवेशकै प्रत्यक्ष उत्तराधिकारी देख्छु जसलाई कालक्रममा अनुकूल गराउने हो भने सन् १८६० को दशकको शासनयताको समय भन्न सकिन्छ । अर्थात् अहिलेको सत्ता बेलयाती उपनिवेशको भाग दुई हो । 

बेलायतीहरूले भारतको मुगल शासनलाई दानवीकरण गर्ने हरसम्भव प्रयास गरेका थिए । उनीहरूका अनुसार मुसलमान शासकहरू अत्याचारी, हिंस्रक, भ्रष्ट एवं कपटी थिए । यही भाष्यलाई भारत विभाजन एवं कांग्रेसको शासनकालपछि भारतीय जनता पार्टी (भाजपा)ले फैलाउँदै आएको छ । यति लेख्दै गर्दा बेलायतीहरूले हिन्दू विशेषतः ब्राह्मणलाई पनि अपमानजनक दृष्टिले हेर्थे अर्थात् उनीहरूले हिन्दू धर्मलाई अन्धविश्वासी, मूर्तिपूजक एवं चाकरीको धर्म भनेर हियाउँथे । सती उन्मूलन, विधवा विवाहलगायत कुसंस्कारमा सुधार गरेका बेलायतीले आपूmलाई हिन्दूधर्मको सुधारकका रूपमा प्रस्तुत गर्ने गरेका छन् । त्यसैगरी, मोदी पनि हिन्दू सुधारक हुन चाहन्छन् अर्थात् हिन्दूधर्मका स्त्रीवत्, प्रविधिविरोधी र सहिष्णु तत्‍वलाई हटाएर हिन्दूधर्मलाई पितृसत्तात्मक, विकासवादी र मर्दवादी बनाउन चाहन्छन् ।                        

यसबाहेक मोदी र उनका आसेपासेहरू चाहे नेहरूवादी होऊन् वा गान्धीवादी, कांग्रेसको परिहास एवं अपमान गर्न उद्यत रहन्छन् । बेलायतीले पनि स्वराज आन्दोलनका नेता गान्धीलाई नांगोे फकिर भनेर अपमान गर्थे भने नेहरूलाई अवसरवादीको संज्ञा दिन्थे । बफादार बेलायती रहेका भनिएका नेहरूले पछि गान्धीको बिँडो थामेका कारण अवसरवादी भन्थे । गान्धी र नेहरूको अपमान मोदीले बेलायतीबाटै सिकेका थिए । यस अतिरिक्त मोदी र सहयोगी अमित शाह देशद्रोह, वाक् स्वतन्त्रता, भेला र विरोध गर्ने अधिकारलाई दबाउनका निमित्त अत्याचारी बेलायती उपनिवेशवादी कानुनमा विशेष रुचि राख्छन् । मोदी कानुनलाई पनि औपनिवेशिकता झल्काउने गरी दिल्लीकेन्द्रित सैन्य र प्रहरीलगायत संयन्त्रअनुकूल बनाउन मन पराउँछन् । यो प्रवृत्ति मोदीका डिमोनिटाइजेसन, जेनरल सेल्स ट्याक्स वा हालै फिर्ता गरेको कृषि कानुनलगायत विचित्र एवं बेतुके आर्थिक नीतिमा पनि देख्न सकिन्छ ।           

थुप्रै विश्लेषकका अनुसार पछिल्ला पाँच वर्षमा लगभग सबै वैश्विक आर्थिक सूचकांकमा भारत ओरालो लागेको छ, तर भाजपा सत्तालाई यसले कुनै फरक पारेको छैन । यदि हामीले यो सत्तालाई बेलायती उपनिवेशको उत्तराधिकारीका रूपमा हेर्ने हो भने यो बेवास्ताले अर्थ भने राख्छ । उपनिवेशकालमा झैँ मोदी अर्थतन्त्रले भारतीय प्राकृतिक स्रोतहरूको शोषणबाट अडानी, अम्बानी र यिनका कुलीन साझेदारलाई पोसिरहेको छ । पहिले अर्थ पलायनको जिम्मेवार बेलायती कोष हुन्थ्यो भने अहिले विश्वव्यापीकरण पुँजीपति र भाजपाको चुनावतन्त्रलाई पोस्ने भारतकै मुट्ठीभरका कुलीनहरू जिम्मेवार छन् । दुवै सन्दर्भमा राष्ट्रिय अर्थतन्त्र साम्राज्यवादी मागलाई पूरा गर्ने ढुकुटी बनेको छ । 

यी विश्लेषणका अतिरिक्त मोदीत्वलाई औपनिवेशिक बिरासतसँग जोड्ने दुई आधार छन् । ती हुन् नागरिक समाजप्रतिको असहनशीलता र औपनिवेशिक विस्थापन (सेटलर कोलोनियालिज्म) । नागरिक समाजप्रतिको असहनशीलतालाई लिएर हालै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नागरिक समाजसँग रणनीतिक युद्ध गर्नुपर्ने बताएका छन् । एक लोकतान्त्रिक भनिएको मुलुकका एक मुख्य अधिकारीका मुखबाट आएको यो अभिव्यक्तिले भयंकर ठूलो अर्थ राख्छ । अर्थात् अब कलाकार, प्राज्ञ, पत्रकार, अभियन्ता एवं सरकारका आलोचकलाई प्रताडित गर्न प्रयोग गरिने ‘अर्बन नक्सल’, ‘टुक्डे–टुक्डे ग्याङ’, ‘खान मार्केट ग्याङ’लगायत शब्दावलीको ठाउँ समग्रता जनाउने अमूर्त शब्द्वावली ‘नागरिक समाजले’ लिनेछ ।

बेलायती शासनकालमा ‘नागरिक समाज’ भन्न सकिने सरकारका आलोचकलाई स्थायित्व, एकता एवं राज्यको वैधानिकतामा खलल पु¥याउने तत्‍वका रूपमा हेरिन्थ्यो । रह्यो औपनिवेशिक विस्थापन उग्र–हिन्दुत्ववादीहरू आफैँमा एक वर्चश्वशाली नश्ल बन्न पुगेका छन्, जोसँग बहिष्कृत, फरक विचार एवं पन्थ मान्ने समुदायलाई दबाउने वैधानिकता छ । निश्चय पनि विस्थापकहरू उपनिवेशकालमा झैँ फरक भूगोलका होइनन्, यद्यपि वर्चश्वशाली हिन्दुत्ववादी नश्ल नवविस्थापक बनेका छन् । यस अर्थमा धेरैले भारतलाई दिइएको हिन्दू बहुसंख्यकवादी राज्यको संज्ञा गलत हुन जान्छ अर्थात् कथित हिन्दू बहुसंख्या एक मिथ्या हो किनभने, हिन्दू जनसंख्यामा पनि ठूलो संख्यामा अल्पसंख्यक रहेका छन् । औपनिवेशिक विस्थापकहरू जनसांख्यिक यथार्थतालाई तोडमरोड गरेर अल्पसंख्यक रहेका आपूmलाई बहुसंख्यक देखाउन उद्यत रहन्छन् । यस अर्थमा हिन्दू बहुसंख्यकवाद फगत प्रोपगान्डा मात्रै हो । 

यति लेखिसक्दा हरेक उपनिवेशमा आशाका किरण हुन्छन् र अहिलेको उपनिवेश भाग दुईमा पन्जाब, हरियाणा एवं पश्चिमी उत्तर प्रदेशका किसान आशाका किरण हुन् । अब सम्भवतः नयाँ स्वतन्त्रता आन्दोलन यिनै आशाका किरणबाट सम्भव हुनेछ ।  द वायरबाट