१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Saturday, 05 July, 2025
अकल्यान्ड
२o७८ मङ्सिर २६ आइतबार o८:१३:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

न्युजिल्यान्डमा पूर्ण रूपले  धूम्रपान प्रतिबन्ध हुँदै

Read Time : < 1 मिनेट
अकल्यान्ड
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार o८:१३:oo

न्युजिल्यान्ड सरकारले छिटै देशभरि नै धूम्रपान प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले धूम्रपान र तम्बाकुजस्ता अम्मलमाथि प्रतिबन्ध लगाउन फरक नयाँ नियम बनाइरहेको छ । सरकारका स्वास्थ्यमन्त्री आयसा वेरालले चुरोटलगायत अन्य धुवाँ निस्किने अम्मलमाथि प्रतिबन्ध लगाउने नियम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । 

यो नियम लागू भएमा न्युजिल्यान्ड विश्वकै पहिलो ‘धूम्रपान प्रतिबन्धित मुलुक’ कहलाउनेछ । स्वास्थ्यमन्त्री वेरालले सन् २०२२ को अन्तिमसम्म न्युजिल्यान्डमा ‘नो स्मोकिङ’ नियम लागू हुनेछ । सरकारले धूम्रपानसम्बन्धी नयाँ नियम संसद्मा प्रस्तुत गर्नेछ । 

संसद्ले पास गरेपछि मात्र नियम लागू हुनेछ । एजेन्सीहरूका अनुसार न्युजिल्यान्डमा सबै नागरिकमाथि प्रतिबन्ध लागू हुनेछैन । नयाँ नियमअनुसार २००८ पछि जन्मेका व्यक्तिमाथि मात्र लागू हुनेछ । ‘जो २००८ पछि जन्मेका छन्, उनीहरूले नयाँ नियमअनुसार धूम्रपान गर्न पाउनेछैनन्,’ स्वास्थ्यमन्त्री वेरालले भने, ‘ती मानिसले बजारबाट चुरोट किन्न पाउनेछैनन् ।’

न्युजिल्यान्डमा युवा पिँढीलाई सबै किसिमको अम्मलबाट टाढा राख्न नै यस्तो किसिमको रणनीति बनाइएको वेरालले बताए । ‘सरकारको योजना नै अबको न्युजिल्यान्डका युवा पिँढीका औँलामा चुरोट नहोस्, यो स्वास्थ्यको नजरबाट पनि निकै राम्रो हो,’ उनले भने । सिंगो न्युजिल्यान्डलाई सरकारको राम्रो काममा सहयोग गर्न आह्वान उनले गरेका छन् । 

‘न्युजिल्यान्डका नागरिकसँगै समाजले पनि हाम्रो राम्रो काममा सहयोग गर्ने विश्वास छ,’ उनले भने । यसैबीच, न्युजिल्यान्डका डाक्टर एसोसिएसन तथा स्वास्थ्यविज्ञहरूले सरकारको नयाँ योजनाको स्वागत गरेका छन् । ‘यदि यो नियम लागू भयो भने संसारमै एउटा उदाहरण बन्नेछ,’ डाक्टर एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब खुला रूपमा चुरोट बिक्री हुनेछैन ।’

सरकारले ध्रूम्रपानमाथि प्रतिबन्ध लगाउँदा बजारमा ब्ल्याक मार्केट हावी हुने एक समूहको भनाइ छ । ‘सरकारले बजारमा चुरोट बिक्री गर्न रोक लगाउँदा ब्ल्याक मार्केट माध्यमबाट चर्को मूल्यमा प्रयोगकर्ताले किन्न सक्छन्,’ सो समूहले भनेको छ ।