मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Sunday, 22 December, 2024
हिमाल पौडेल काठमाडाैं
२o७८ मङ्सिर २६ आइतबार o६:१o:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बहुपक्षीय प्रतिस्पर्धा

Read Time : > 5 मिनेट
हिमाल पौडेल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार o६:१o:oo

देउवा–सिटौला समूह पहिलो चरणमै जित निकाल्ने रणनीतिमा छ भने कोइराला, सिंह र निधि सकेसम्म निर्वाचन दोस्रो चरणमा पुर्‍याउने योजनामा छन्, सभापतिमा कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत कटाउन नसके धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने व्यवस्था छ ।

देउवा–सिटौला समूहको रणनीति
देउवा–सिटौला समूहले पहिलो चरणमा ५० प्रतिशतभन्दा धेरै मत ल्याएर आफूअनकूल नतिजा निकाल्ने रणनीति बनाएको छ । संस्थापनइतर समूह विभाजित भएकाले यसको फाइदा लिने यो समूहको योजना छ । निर्वाचन दोस्रो चरण जाँदा इतर समूह एकढिक्का हुने र जटिलता बढ्न सक्ने देउवा–सिटौला समूहको बुझाइ छ ।

कोइराला, सिंह र निधिको यस्तो छ योजना
छुट्टाछुट्टै समूहबाट सभापतिमा उम्मेदवारी दर्ता गरेका कोइराला, सिंह र निधि सकेसम्म चुनावी प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गराउने रणनीतिमा छन् । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन रोक्न सके दोस्रो चरणमा हुने दुईपक्षीय प्रतिस्पर्धामा देउवामाथि दबाब बनाउन सकिने उनीहरूको बुझाइ छ ।

भावी नेतृत्वका लागि कांग्रेसमा बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सभापतिका लागि चार समूहगत र दुई स्वतन्त्र गरी ६ जनाको उम्मेदवारी परेको छ । आइतबार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । तर, सभापतिका उम्मेदवारहरूले शनिबार रातिसम्म उम्मेदवारी फिर्ताबारे कुनै संकेत दिएका छैनन् । 

संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बनेका छन् भने इतर समूह विभाजित भएको छ । यो समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन् । त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । कल्याण गुरुङ र युवराज न्यौपाने पनि उम्मेदवार बनेका छन् । 

कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ । त्यसैले मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गर्ने कार्यसूची निर्वाचन समितिले बनाएको छ । 

देउवाले नेता कृष्णप्रसाद सिटौलाको समूहलाई पनि समेटेर प्यानल बनाएका छन् । यो समूहले पहिलो चरणमै जित निकाल्ने रणनीति बनाएको छ । उता सिंह, कोइराला र निधिले सकेसम्म चुनावी प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गराउने रणनीति अख्तियार गरेका छन् । 

देउवा–सिटौलाको समूहबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतले उम्मेदवारी दिएका छन् । कोइरालाले उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई अगाडि सारेका छन् । त्यस्तै, सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा तथा निधिको प्यानलबाट उपसभापतिमा दिव्यश्वरी साह र महामन्त्रीमा डा. राजाराम कार्कीले उम्मेदवारी दिएका छन् । 

आठ सहमहामन्त्रीका लागि देउवा–सिटौलाको प्यानलबाट उमाकान्त चौधरी (थारू), मानबहादुर विश्वकर्मा (दलित), भीष्मराज आङ्देम्बे (जनजाति), डिना उपाध्याय (महिला), महेन्द्र यादव (मधेसी), फरमुल्लाह मन्सुर (मुस्लिम), जीवन शाही (पिछडिएको क्षेत्र) र किशोरसिंह राठौर (खस–आर्य)ले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा देवराज चालिसे (खस–आर्य), बद्री पाण्डे (पिछडिएको क्षेत्र), जीवन परियार (दलित), कमला पन्त (महिला), विकास लामा (जनजाति), रामकृष्ण यादव (मधेसी), तेजुलाल चौधरी (थारू) र वकिल मियाँ (अल्पसंख्यक)ले उम्मेदवारी दिएका छन् । निधिले सहमहामन्त्रीमा चेतराज बराललाई अगाडि सारेका छन् । 

पार्टीलाई विधि र पद्धतिमा हिँडाउन मेरो उम्मेदवारी
कांग्रेसको सांगठनिक ढाँचामा परिवर्तनको आवश्यकताको एजेन्डा उठाएको छु । पार्टीमा लोकतान्त्रिक चरित्र हराउँदै गएको छ । त्यसलाई कायम गर्न, पार्टीमा विधि र पद्धतिमा हिँडाउन म अगाडि आएको हुँ । 

यस्तो अवस्थामा हुन्छ दोस्रो मतदान
कांग्रेस विधानको दफा १६ मा केन्द्रीय सभापतिको निर्वाचनबारे व्यवस्था छ । दफा १६ (ख)ले ‘सभापतिमा निर्वाचित हुनका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुने’ व्यवस्था गरेको छ । दफा १६ (ग)मा पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, दफा १६ (घ)मा ‘पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने’ उल्लेख छ । तर, पहिलोपटक नै दुईजना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।

फुट्यो इतर समूह, कोइराला परिवार पनि विभाजित
सर्वसम्मत सभापतिको उम्मेदवार चयन गर्ने प्रयास सार्थक नभएसँगै संस्थापनइतर समूह विभाजित भएको छ । इतर समूहबाट प्रकाशमान सिंह र डा. शेखर कोइरालाले भिन्दाभिन्दै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।

१३औँ महाधिवेशनमा एकैठाउँ रहेका कोइराला परिवारका सदस्यहरू १४औँ महाधिवेशनमा विभाजित भएका छन् । इतर समूहबाट शेखरले आफ्नै नेतृत्वमा प्यानल बनाउँदा सुजताले भने प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छिन् । महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवाले गरेको उपसभापतिको प्रस्ताव अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र मनोनयन गरेका छन् । उनले शेखरको प्यानललाई सहयोग गर्ने भएका छन् । 

सबै प्रतिनिधिले भोट हाल्छु भन्नुभएको छ 
परिवर्तन न्याय र समानताको पक्षमा सम्पूर्ण नयाँ पुस्ताको तर्फबाट मेरो उम्मेदवारी हो । कांग्रेसमा नयाँ नेतृत्व आवश्यक छ । सबैजसो महाधिवेशन प्रतिनिधिले मलाई भोट हाल्छु भन्नुभएको छ, उहाँहरू परिवर्तनकै पक्षमा उभिनुभएको छ । 

केन्द्रीय सदस्यमा मनोनयन गरे यी पदाधिकारीले
महामन्त्री डा. शशांक कोइराला र सहमहामन्त्री सुनील थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । शशांक १३औँ महाधिवेशनका निर्वाचित महामन्त्री हुन् भने थापा पार्टी एकतापछि मनोनीत सहमहामन्त्री हुन् । 

बदलियो समीकरण 
१३औँ महाधिवेशनमा तत्कालीन संस्थापन पक्ष रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाका समूह थिए । उनीहरू तीनैजना सभापतिका दाबेदार थिए । तर, दोस्रो चरणमा देउवा–सिटौलाबीच समीकरण बनेपछि देउवा विजयी भएका थिए । १३औँका सभापतिका दाबेदार पौडेल १४औँमा केन्द्रीय सदस्यमा समेत उठेनन् । १३औँमा पौडेल समूहमा रहेका प्रकाशमान र शेखरले भिन्दाभिन्दै प्यानल बनाएर सभापतिमा उम्मेदवारी दिएका छन् । उपसभापति विमलेन्द्र निधिले देउवासँग अलग भएर सभापतिमा उम्मेदवारी दिएका छन् । सिटौलाले अहिले भिन्दै प्यानल बनाएनन्, सुरुमै पदाधिकारीमा एक महामन्त्री र एक सहमहामन्त्री पद लिएर देउवास“ग समीकरण गरे । सिटौलाले केन्द्रीय सदस्यमा समेत मनोनयन गरेनन् । 

संस्थापनमा असन्तुष्टि 
उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा बनेका समीकरणले संस्थापन पक्षमा असन्तुष्टि देखिएको छ । यो समूहबाट महामन्त्रीमा आकांक्षा गरेका विश्वप्रकाश शर्मा प्यानलमा अटाउन नसकेपछि उनले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् । त्यस्तै संस्थापन पक्षबाटै पदाधिकारीको आशा गरिरहेका नेता एनपी साउद प्यानलमा अटाएनन् । असन्तुष्टिस्वरूप उनले वारेसमार्फत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । महामन्त्रीका आकांक्षी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाण पनि असन्तुष्ट बनेका छन् । दुवैले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन् । कार्कीले एक्लै सभागृह पुगेर केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए ।

नेता साउदलाई उनका समर्थकले कि त स्वतन्त्र, कि प्रकाशमानको प्यानलबाट पदाधिकारीमा स्वतन्त्र रूपमा उम्मेदवारी दिन दबाब दिएका थिए । तर, उनले धनराज गुरुङ र चन्द्र भण्डारी उपसभापति लडेकाले उनीहरूको विरुद्ध उम्मेदवारी नदिने जवाफ दिएका थिए । नेता प्रकाशमान सिंह, सुजाता कोइराला र विश्वप्रकाश शर्माले साउदलाई आफ्नो प्यानलबाट पदाधिकारीमा उठ्न आग्रह गरेका थिए । तर, साउदले भविष्यको राजनीतिका लागि भन्दै सिंह प्यानलमा जान मानेनन् ।

जसले प्यानलबाहिरबाट उम्मेदवारी दिए

सभापतिमा दुई, उपसभापतिमा एक र सहमहामन्त्रीमा तीनजनाको स्वतन्त्र उम्मेदवारी

तीनवटा प्यानल भए पनि पदाधिकारीमा केही नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, उपसभापतिमा महेश आचार्यको उम्मेदवारी परेको छ । गंगा सुनार, सुरेन्द्रप्रसाद चौधरी र रञ्जित कर्णले सहमहामन्त्री पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । 

जेठो पार्टीको पुरानै ढर्रा : पानीट्यांकीमा प्वाल पारेर मतपेटिका तयार 

आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्न सोमबार मतदान हुँदै छ । सभापतिसहित १३४ जनालाई चुन्न चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिले भोट हाल्दै छन् । तर, देशको सबैभन्दा जेठो पार्टीले प्रविधिको यो जमानामा मतदानको पुरानै अभ्यास दोहोर्‍याउँदै छ । 

कागजी मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान हुनेछ । उक्त मतपत्र खसाल्न पानीट्यांकीको मतपेटिका बनाएको छ । हरियो रंगका पानीट्यांकीको बिर्कोमा मत खसाल्न मिल्ने गरी प्वाल पारेर मतपेटीका बनाएको हो । ‘पानीट्यांकीलाई मतपेटिका बनाएर मतदानको व्यवस्था गरेका छौँ । यस्ता ट्यांकी सयौँको संख्यामा जम्मा गरेका छौँ,’ कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले भने ।

भर्खरै सम्पन्न एमालेको दशौँ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरी नेतृत्व चयन भएको थियो । तर, कांग्रेस नेतृत्वले यसमा विश्वास गरेन । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले त विद्युतीय मतदानकै लागि नेतृत्वलाई प्रस्ताव गरेको थियो । प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनमा डिजिटल मतदानको चर्चा चले पनि प्रयोगमा ल्याउन नसकेको बताए । ‘विद्युतीय मतदानका लागि तयार हुनुपर्छ भनेर प्रचार विभागले दुई महिनाअघि नै पार्टी नेतृत्वसँग प्रस्ताव गरेको थियो, तर कार्यान्वयन भएन,’ उनले भने । 

कांग्रेसले महाधिवेशनमा मतदानका लागि २९ प्रकारका मतपत्रको व्यवस्था गरेको छ । कांग्रेसका सूचना अधिकारी केशव रिजालका अनुसार उम्मेदवार संख्या र पदअनुसारका आकार र रंगका मतपत्रको व्यवस्था गरिएको छ । कागजी प्रक्रियामा मतदान र मतगणनाले निकै समय लिनेछ । निर्वाचन गर्नुपर्ने पद संख्या बढी भएकाले मतपत्र संख्या पनि बढी भएको र एक मतदातालाई एक घन्टाभन्दा बढी समयसम्म लाग्ने अनुमान गरिएको उनले बताए ।

‘तीन स्थानमा बाँडेर मतदान गर्ने व्यवस्था गरिएको छ । कागजको मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्दा एक मतदातालाई आधा घन्टादेखि एक घन्टासम्म लाग्ने अनुमान छ,’ रिजालले भने । महाधिवेशन व्यवस्थापनमा सक्रिय एक नेताले कांग्रेसमा पुरानो सोच भएका नेताहरूका कारण प्रविधिलाई विश्वास गर्ने अवस्था नभएको गुनासो गरे ।