टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
अपूर्वानन्द
२०७८ मङ्सिर २० सोमबार १०:५३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आरएसएसको औजार बनिरहेको भारतीय प्रहरी 

Read Time : > 2 मिनेट
अपूर्वानन्द
२०७८ मङ्सिर २० सोमबार १०:५३:००

प्रहरी र आरएसएसको दृष्टिकोण र रबैयामा एकरूपता देखिनु भारतको संवैधानिक व्यवस्थाका लागि वास्तविक खतरा हो


बेंगलुरु प्रहरीले मुनब्बर फारुकीको कार्यक्रम रद्द गरेर भारत अब संवैधानिक मूल्यमा आधारित राष्ट्र–राज्य रहेन भन्ने देखाएको छ । बरु भारत एक विचारधारात्मक राज्य बन्नेतर्फ तीव्र गतिले अगाडि बढिरहेको छ । प्रहरी र प्रशासनले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र यससँग जोडिएका संगठनको सहयोगीको भूमिका उत्साहपूर्वक बहन गरिरहेका छन् । यससँगै कर्णाटकको बेलगावीमा इसाईहरूको सामुदायिक भवनमा सामूहिक प्रार्थना गर्न रोक लगाउने प्रहरीको आदेशले पनि प्रहरी इसाईको उपासना गर्ने अधिकारको रक्षा गर्नमा कुनै रुचि देखाइरहेको छैन । प्रहरी कारबाहीले मुसलमान र इसाईहरू टाउको दुखाइको विषय बनेको र उनीहरू दोस्रो दर्जाको नागरिक भएको देखाउँछ । यी समुदायको रोजगारी र उपासनाको अधिकारका लागि अब आरएसएसका संगठनहरूको अनुमति चाहिनेजस्तो देखिन थालेको छ । 

कर्णाटकभन्दा धेरै टाढा दिल्लीनजिकको गुडगावमा एकपछि अर्को खुला ठाउँमा नमाजबाट मुसलमानलाई वञ्चित गरिँदै छ र ‘हिन्दू’ संगठनलाई त्यहाँ भजन र पूजाको अनुमति दिइँदै छ । मुम्बई र छत्तीसगढको रायपुरमा पनि मुनब्बर फारुकीको कार्यक्रम ‘हिन्दू’ संगठनहरूको धम्कीपछि रद्द गरिएको थियो । प्रहरीले धम्की दिने संगठनलाई नियन्त्रण गर्नुको साटो आयोजकलाई दबाब दिएर कार्यक्रम रद्द गर्न लगाइरहेको छ । प्रहरी र आरएसएसको दृष्टिकोण र रबैयामा एकरूपता देखिनु भारतको संवैधानिक व्यवस्थाका लागि वास्तविक खतरा हो । अदालतहरूले सम्भवतः हालसम्म यसलाई थोरबहुत विचलन मात्र मानिरहेका थिए र समस्या बिस्तारै आफैँ ठीक हुन्छ भन्ने मान्यता राख्थे । तर, हामीलाई थाहा छ, यस प्रवृत्तिले एक दिशा समातिरहेको छ । यदि इन्दौर प्रहरी मुनब्बर फारुकीलाई कुनै आधारविना गिरफ्तार गर्न सक्छ र इन्दौरका प्रहरी अधिकारीले उपद्रवी ‘हिन्दू’ संगठनहरूको रक्षाका लागि उनीहरूको प्रशंसा गर्न सक्छन् भने स्थिति कति बिग्रेको छ, सहजै अनुमान गर्न सकिन्छ ।

मध्यप्रदेश उच्च न्यायालयबाट पनि मुनब्बर फारुकीले जमानत पाएनन् र न्यायका लागि उनले सर्वोच्च अदालतको ढोका ढकढक्याउनुप¥यो । मुनब्बरमाथि इन्दौरको कार्यक्रममा हिन्दू देवी–देवताको मजाक उडाएको झुटा आरोप लगाइएको थियो । त्यसपछि उनी र उनका अन्य सहयोगी कलाकारलाई गिरफ्तार गरियो । यो कुनै एक समयको अवरोध थिएन । मुनब्बरले सम्भवतः सो कार्यक्रमपछि आफ्नो अन्य कुनै कार्यक्रम गर्न पाएनन् । उनीसँग मञ्च साझा गरेको मूल्य कलाकार नलिन यादवले पनि चुकाइरहेका छन् । उनले पनि यो इन्दौर घटनापछि आफ्नो कुनै ‘कमेडी सो’ गर्न पाएका छैनन् किनभने आयोजकलाई आरएसएससँग सम्बद्ध संगठनहरूबाट हरेक ठाउँमा हिंसाको खतरा रहेको छ । नलिन अहिले ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका छन् । नलिनले एक मुसलमानसँग काम गरेको ‘सजाय’ पाइरहेका छन्, जुन बाँकी कलाकारका लागि एक पाठ बन्न पुगेको छ । 

प्रशासन र प्रहरीले आरएसएसको विचारधारालाई लागू गर्न आफ्नो तागतको प्रयोग गरिरहेकामा शंका रहेन । शान्ति कायम राख्ने नाममा मुसलमान र इसाईहरूबाट उनीहरूको अधिकार खोसिरहेका छन् । चुरा बेच्ने, मेहन्दी लगाउने, फलफूल वा रोटी बेच्नेलगायत काममा आरएसएससँग जोडिएका उपद्रवीलाई केही न केही समस्या हुन्छ र प्रहरी यी उपद्रवीको पक्षबाट काम गर्न तत्पर रहन्छन् । अझै पनि भारतमा त्यही संविधान लागू छ, जसले हरेक व्यक्तिलाई सम्मानपूर्ण जीवनको अधिकार दिन्छ । आफ्नो इच्छाले हिँड्डुल गर्ने, पेसा अपनाउने र धर्म मान्ने अधिकारको प्रत्याभूतिविना सम्मानपूर्ण जीवनको अर्थ छैन । मुसलमान र इसाईहरूको सम्मानपूर्ण जीवनको अधिकारलाई भाजपा र आरएसएसले स्विकार्दैनन् । तर, यो आधारभूत संवैधानिक अधिकारलाई नमान्ने र मनलाग्दी व्याख्याको छुट प्रहरी र प्रशासनसँग भने छैन । उनीहरू आआफ्ना गतिविधिलाई राजनीतिक नेतृत्वको दबाब भनेर टाल्न सक्छन्, तर यसो हो भने उनीहरू आफ्नो बर्दी र कुर्सीका लागि योग्य छैनन् । मुसलमान र इसाईलाई आधारभूत अधिकारबाट वञ्चित गरेको आरोप यदि दिल्ली, गुडगाँव, त्रिपुरा, असम, रायपुर, बेंगलुरु, इन्दौर र उज्जैनका प्रहरीमाथि लाग्छ भने यसमा के गलत छ ? 

मुनब्बर फारुकीलाई घरीघरी आफ्नो काम गर्न नदिनुको आशय छर्लंग छ, अर्थात् मुसलमानलाई आफ्नो काम गर्ने स्वतन्त्रता छैन । अचम्मलाग्दो के छ भने बहानाको आवश्यकता नभए पनि आरएसएस र भाजपाका कार्यकर्ता मुसलमान र इसाईमाथि हमला गर्नका लागि बहाना खोजिरहेका छन् वा बनाइरहेका छन् । यसको अर्थ यो हो कि अझै पनि आरएसएसले समाजबाट अकारण कसैमाथि हिंसा गर्नुहुन्न भन्ने मान्यतालाई हटाउन सकेको छैन । त्यही भएर हिंसा गर्न देवी–देवतालाई अपमान गरेको झुटा आरोप, खाद्य पदार्थमा थुकेको, हिन्दू महिलालाई सम्मोहनमा पारेको, धर्म परिवर्तन गराएकोलगायत कारण खोज्छन् । आरएसएसलाई जब कुनै बहाना मिल्दैन, तब उनीहरू बाबर, औरंगजेब आदिको अत्याचारका कथनी फैलाउँछन् र मुसलमानमाथि हुने अत्याचारलाई जायज ठहर्‍याउँछन् । 

प्रहरी र राज्यको सहयोगका बाबजुद हिंसाको यो खेल लामो समयसम्म चल्न सक्दैन । कुनै पनि स्वाभिमानी समुदायले अपमान र प्रताडनालाई लामो समयसम्म सहन गर्न सक्दैनन् । यदि सहन गरे उनीहरू आफ्नो नजरमा आफैँ खस्न पुग्छन् भनेर प्रेमचन्दले करिब सय वर्षपहल्यै लेखेका थिए । प्रश्न यो हो कि जुन हिन्दूका नाममा जे–जति घटना भइरहेका छन्, त्यस सन्दर्भमा उनीहरू आफूलाई आफ्नो नजरमा कस्तो पाइरहेका छन् ? के उनीहरूलाई सारा संसारले कुन दृष्टिले हेरिरहेको छ भन्ने थाहा छ ?  द वायरबाट