१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा मध्यरातसम्म मतदान हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:३o:oo

कांग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि आज मध्यरातसम्म मतदान हुने भएको छ। बिहान ८ बजे मतदान सुरु हुनुपर्नेमा दिउँसो साढे ४ बजे मात्र मतदान सुरु भएको हो। 

निर्वाचन समितिका सदस्य गणेश हुमागाईंका अनुसार अन्तिम नामावली प्रकाशन र मतपत्र छपाइमा ढिलाइ हुँदा मतदानको समय सरेको हो। ‘उम्मेदवार धेरै भएको र अन्तिम नामावली प्रकाशित गरेपछि मात्रै मतपत्र छाप्नुपरेकाले तोकिएभन्दा आठ घन्टा ढिलो गरी मतदान सुरु भयो। राति १० बजेसम्म केन्द्र प्रवेश गर्नेलाई मतदान गर्न दिन्छौँ।’

उनले १० बजेसम्म प्रवेश गरेका मतदाताले मतदान गरिसक्दा करिब मध्यरातको १२ बज्ने अनुमान गरिएको बताए। कांग्रेस बागमतीको नेतृत्वका लागि तीनजना उम्मेदवार प्यानलसहित मैदानमा होमिएका छन्। केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका इन्द्रबहादुर बानियाँ, संस्थापन इत्तरपक्षबाट जगदीश्वरनरसिंह केसी र कृष्ण सिटौला पक्षबाट भीमसेनदास प्रधान चुनावी मैदानमा छन्। 

निर्वाचन समितिका अनुसार अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र ८३ सदस्य निर्वाचित हुनेछन्। खुलातर्फ ४८ र समावेशीतर्फबाट ३५ सदस्य निर्वाचित हुनेछन्।

मध्यरातसम्म मतदान हुने भएकोले सुरुक्षा व्यवस्था कडाइ पारिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३ सयभन्दा बढी सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन्।

ad
ad