१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १७ शुक्रबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १७ शुक्रबार o९:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादी केन्द्रको पार्टी सदस्यता सात लाख नाघ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १७ शुक्रबार o९:३५:oo

राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने 

राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी केन्द्रको पार्टी सदस्यता संख्या सात लाख नाघेको छ । आठ लाख पार्टी सदस्यता वितरण गर्ने लक्ष्य राखेको माओवादी केन्द्रका वडा र पालिकाका सम्मेलनहरू सम्पन्न हुँदैगर्दा अनुमानअनुरूप नै सदस्यता लिनेको संख्या बढिरहेको निष्कर्ष पार्टीको स्थायी समिति बैठकले निकालेको छ ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीको वडा र पालिका सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित पार्टी सदस्यता आठ लाख पुग्ने अनुमान गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘पार्टी सदस्यता सात लाख ६ हजार पाँच सय पुगेको छ, कतिपयको इन्ट्री बाँकी छ । आठ लाख हाराहारी सजिलै पुग्ने अनुमान गरिएको छ,’ उनले भने । 

महराले कतिपय पालिकामा अधिवेशन स्थगित भए पनि शुक्रबारसम्म सबै सकिने र पालिका अधिवेशन पनि उत्साहपूर्वक अगाडि बढेको निष्कर्ष निकालिएको बताए । २५ मंसिरमा सबै प्रदेशको सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तय भएको महराले जानकारी दिए । 

माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन ११ देखि १३ पुससम्म काठमाडौंको प्रज्ञा भवनमा गर्ने निर्णय गरेको छ । छलफल लम्बिएमा दुई दिन थपेर १५ पुससम्म पु¥याउन सकिने गरी माओवादीले तयारीलाई अगाडि बढाएको छ । यस्तै, राष्ट्रिय सम्मेलनका प्रतिनिधि टुंगो लगाउने विषयमा पार्टीले छलफल गरिरहेको र केहीको टुंगोसमेत लागिसकेको महराले जानकारी दिए । उनका अनुसार विद्यार्थीबाट आउने प्रतिनिधि र पार्टी एकताबाट आएका प्रतिनिधिहरूको विषय टुंगो लागिसकेको छ । 

अहिलेसम्म केन्द्रीय प्रतिनिधिमा रमेश मल्ल, रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष विष्ट, सुरेन्द्र बस्नेत, रञ्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम, तिलक गगन खड्कालगायतको टुंगो लागेको महराले जानकारी दिए । राष्ट्रिय सम्मेलनमा करिब एक हजार ६ सयदेखि दुई हजारसम्म प्रतिनिधि सहभागी गराउने लक्ष्य माओवादी केन्द्रको छ । राष्ट्रिय सम्मेलनका विविध विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार पुनः बस्ने भएको छ ।