मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १५ बुधबार ०८:३९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसी २०२१ को सर्वोकृष्ट खेलाडी

बालोन डि’अरमाथि सातौँपटक कब्जा

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर १५ बुधबार ०८:३९:००

अर्जेन्टिनी कप्तान तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर लियोनल मेसीले कीर्तिमानी रूपमा सातौँपटक बालोन डि’अर अवार्ड जितेका छन् । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै उनले फ्रेन्च म्यागेजिनले वार्षिक रूपमा प्रदान गर्ने उत्कृष्ट अवार्ड जितेका हुन् ।  यो उपाधि गत वर्ष लेवान्डोस्कीले पहिलोपटक हात पारेका थिए । भोटिङका आधारमा मंगलबार मेसीलाई सन् २०२१ को सर्वोकृष्ट खेलाडी घोषणा गरेको हो । उपाधि रक्षा गर्न नसकेका लेवान्डोस्की दोस्रो तथा इटालीका जोर्गिन्हो तेस्रो स्थानमा छन् । मेसी शीर्ष स्थानमा रहँदै सर्वाधिक ६ सय १३ अंक प्राप्त गरेका छन् । लेवान्डोस्कीले पाँच सय ८० तथा जर्गिन्होले चार सय ६० अंक प्राप्त गरेका छन् । 

कुनै समय मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोबीच बालोन डि’अर वर्ष खेलाडी उपाधि जित्ने होडबाजी चलेको थियो । यी दुवै खेलाडीले समग्रमा पछिल्लो १३ वर्षमा १२ पटक उपाधि जितेका छन् । मेसी र रोनाल्डोबीचको जिंक रियल म्याड्रिडका लुका मोड्रिचले सन् २०१८ मा तोडेका थिए । यसपटक रोनाल्डो छैटौँ स्थानमा सीमित भएका छन् । रोनाल्डोले पाँचपटक बालोन डि’अर उपाधि जितेका छन् । यसै सिजन उनी युभेन्टसबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका हुन् ।

बार्सिलोनामा रहँदा  ६ बालोन डि’अर
मेसीले अघिल्ला सबै बालोन डि’अर उपाधि बार्सिलोना क्लबमा आबद्ध हुँदा हात पारेका थिए । यसै सिजनमा बार्सिलोनासँगको सम्झौता नवीकरण हुन नसक्दा मेसी फ्रान्सको पिएसजी क्लबमा आबद्ध भएका हुन् । १७ वर्ष बार्सिलोनामा रहँदा मेसीले सन् २००९ मा पहिलोपटक बालोन डि’अर उपाधि जितेका थिए । मेसीले लगातार चारपटक सन् २००९ देखि ०१२ सम्म उपाधिमाथि कब्जा जमाए । त्यसपछि उनले सन् २०१५ र ०१९ मा पनि उपाधि चुमे । मेसी सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा उपविजेता बनेका थिए । सन् २०२०/०२१ को सिजनमा मेसीले बार्सिलोना र सिनियर टोली अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका थिए । उनले अर्जेन्टिनालाई पहिलोपटक कोपा अमेरिका उपाधि दिलाए । 

फेरि पनि अविस्मरणीय : मेसी
सातौँपटक वर्ष खेलाडी बनेका मेसीले यो उपलब्धिलाई अविस्मरणीय बताएका छन् । ‘यहाँ एकपटक अविस्मरणीय क्षण बन्यो,’ पेरिसको थेएट्रा डुमा ट्रफी चुम्दै मेसीले भने, ‘दुई वर्षअघि उपाधि जित्दा यो नै अन्तिम भनेको थिएँ ।’ सन् २०१९ मा धेरैजसो समर्थक तथा विज्ञहरूले सन्न्यास कहिले लिने भन्ने प्रश्न राखेको प्रसंग उनले कोट्याएका छन् । उनी भन्छन्, ‘दुई वर्षअघि यही स्थानमा मलाई सन्न्यासबारे प्रश्न सोधिएको थियो, अहिले फरक अनुभव गरिरहेको छु ।’ 

सन् २०२१ जीवनकै विशेष रहने उनले जनाए । यसै वर्ष उनले कोपा अमेरिका जितेका हुन् । ‘मेरो जीवनमा कोपा अमेरिका उपाधि जितेको वर्ष विशेष रहनेछ,’ कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई १–० ले हराएको क्षण सम्झँदै मेसीले भने, ‘मैले माराकाना रंगशालामा सबै अर्जेन्टिनी जनतालाई वर्षौँदेखिको पर्खाइमा रहेको खुसी दिलाएँ ।’ 

३३ वर्षको उमेरमा पनि सक्रिय रूपमा खेलिरहेका मेसीले सन् २०२१ को सिजन करिअरकै उत्कृष्ट हो वा होइन भन्ने आफूमाथि नै प्रश्न गर्छन् । ‘मलाई थाहा छैन, यो वर्ष मेरो करिअरकै उत्कृष्ट वर्ष हो ?’ ठट्टा गर्दै उनले भने, ‘अझै पनि करिअर अगाडि बढाउने योजना छ, विशेषगरी कोपा अमेरिकापछि मैले आफ्नो भविष्य उज्वल देखेको छु ।’ 

लेवान्डोस्कीको प्रशंसा
ट्रफी ग्रहण गरेपछि मेसीले उपविजेता लेवान्डोस्कीको समेत प्रशंसा गरेका छन् । उनका नजरमा लेवान्डोस्की पनि उपाधि उत्तिकै दाबेदार खेलाडी हुन् । ‘म यो स्टेजबाट लेवान्डोस्कीको सम्मान गर्न चाहन्छु, वास्तवमै उपाधि जित्नुपर्ने खेलाडीमा उनी पर्छन्,’ उनले भने, ‘गत वर्ष बालोन डि’अरको एक मात्र दाबेदार लेवान्डोस्की थिए ।’ गत वर्षझैँ यसपालि पनि लेवान्डोस्कीलाई उपाधि दाबेदार खेलाडीका रूपमा हेरिएको थियो ।

गत सिजनमा २५ गोल गरेका लेवान्डोस्कीले यस सिजन २० गोल गरिसकेका छन् । तेस्रो स्थानमा रहेका जर्गिन्होले चेल्सीलाई युरोपियन च्याम्पियनस लिग दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । यसैगरी, सन् २०२० को युरोकप उपाधि इटालीले उचाल्दा जर्गिन्होको भूमिका पनि बिर्सन नहुने बताइन्छ । फ्रान्स तथा रियल म्याड्रिडका खेलाडी करिम बेन्जिमा चौथो स्थानमा छन् । 

बालोन डि’अर उपाधिको शीर्ष १० मा पिएसजीकै खेलाडीको बाहुल्य छ । पिएसजीका मेसी, केलियन एम्बाप्पे तथा गिआलुगी डोनारुमा छन् । हरेक वर्ष फ्रान्स फुटबल म्यागेजिनले खेल कौशल, प्रदर्शन र फुटबल पण्डितको भोटका आधारमा एकजना उत्कृष्ट फुटबलरलाई बालोन डि’अर अवार्ड दिँदै आएको छ । 

महिलातर्फ पुटेलास उत्कृष्ट
बालोन डि’अरअन्तर्गत महिलातर्फको उपाधि बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितेकी छिन् । यसैगरी, बायर्न म्युनिखका लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दी इयर’ घोषित भएका छन् । बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू–२१ को उत्कृष्ट खेलाडी भए । इटालीका गोलरक्षक जियानलुगी डोनारुमाले यासिन ट्रफी प्राप्त गरे । गत सिजनको च्याम्पियन्स ट्रफी विजेता चेल्सी वर्षकै उत्कृष्ट क्लब बन्यो ।