मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Tuesday, 15 July, 2025
२o७८ मङ्सिर १३ सोमबार २१:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका उपभोक्तालाई एक महिनामा प्राधिकरणबाट विद्युत दिन्छौँ : ऊर्जामन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार २१:१८:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लमजुङमा उपभोक्ता समितिबाट वितरण भइरहेको विद्युत् अबको एक महिनाभित्र प्राधिकरणबाट वितरण गरिने बताएकी छिन् । सोमबार नेकपा माओवादी केन्द्र मर्स्याङ्दी गाउँ कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै भुसालले लमजुङे जनताको मागबमोजिम उपभोक्ता समिति खारेज गरी प्राधिकरणबाट विद्युत् वितरण गर्न लागिएको बताइन् । 

‘यहाँका नागरिकले पटक–पटक मन्त्रालयमा आएर समस्याबारे अवगत गराउनुभएको छ,’ भुसालले भनिन्, ‘यहाँहरूको अनुरोधलाई हामीले स्वीकार गरिसकेका छौँ । अब एक महिनाभित्र केन्द्रीय प्रसारण लाइनबाट विद्युत् दिनेछौँ, बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्छौँ, संरचना सुधार गर्छौँ ।’

भुसालले आफ्नो देशबाट उत्पादित जलऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताइन् । ‘सिंगो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रूपमा मात्रै नभएर आफ्नै देशको स्रोतबाट उत्पादन भएको ऊर्जालाई सम्पूर्ण ऊर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ । ’

उनले देशमा भएको परिवर्तन माओवादीको बलमा भएको पनि जिकिर गरिन् । उनले भनिन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता मुद्दा माओवादीले उठाएकोे हो ।’

कार्यक्रममा गाउँ किमिटीमा निर्वाचित समिति, पार्टीमा योगदान दिएका पुराना सदस्य, सहिद परिवार, पूर्वजनमुक्ति सेनालाई मन्त्री भुसालले सम्मान गरेकी थिइन् । कार्यक्रममा केन्द्रीय सदस्य एवं गण्डकी सहइन्चार्ज यशोदा सुवेदी, केन्द्रीय सदस्य एवं गण्डकी सचिव देवेन्द्र पराजुली, लमजुङ इन्चार्ज पारशमणि पौडेल, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री एवं माओवादी केन्द्र लमजुङकी अध्यक्ष मधुमाया अधिकारी, संविधानसभा सदस्य बुद्धिराम तमु, नेता मेखबहादुर भण्डारी, दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकलगायतको उपस्थिति थियो ।