मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १२:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्रीमा पाण्डेको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार १२:०९:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले सहमहामन्त्री पदमा उमेदवारी घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले आफ्नो उम्मेदवारी पात्र प्रधानताबाट पद्धतिप्रधान कांग्रेस निर्माणका लागि भएको बताए। पार्टी सुधारका लागि नेतृत्व सुध्रनुपर्ने  र त्यसका लागि नेतृत्वले आत्मालोचना गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियोे । ‘मैले बाह्राैँ र  तेह्रौँ महाधिवेशनमा पनि पात्र प्रधानताबाट पद्धतिप्रधान कांग्रेस निर्माण हुनुपर्छ भनेर प्रयत्न गरेको हुँ,’ उनले भने, ‘यसपटक पनि त्यो निरन्तर छ।’ पार्टीमा पद्धति बसाउन विधानको अक्षरशः पालना गर्नुपर्नेमा उनको जोड थियोे ।विधानको उल्लंघन भएको अवस्थामा पार्टीभित्रैबाट विरोध हुनुपर्ने उनले बताए। 

कांग्रेसको महाधिवेशनमा भएको ढिलाइलाई लिएर उनले नेतृत्वले महाधिवेशनलाई महत्त्वपूर्ण कार्यभारका रूपमा लिनुपर्ने र क्रियाशील सदस्यता वितरणलगायतका कामलाई नियमित बनाउनुपर्नेमा जोड दिए।  ‘महाधिवेशनलाई हाउगुजी बनाउन हुँदैन। महाधिवेशनको समयमा मात्रै सबै कुरा सकियो भनेजसरी आउने अवस्था रहनुहुँदैन। सम्भव भएसम्म नेतृत्वको कार्यकाल छोट्याउनुपर्छ,’ पाण्डेले भने।

उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको घोषणा गरेका हुन्। एक व्यक्ति एक कार्यकालको विकल्पमा जान सकेमा पार्टीमा लोकतान्त्रिक पद्धति विकासमा भूमिका खेल्ने बताए।

पाण्डेले संगठन सुदृढीकरण सँगसँगै शुद्धीकरण गरेर कांग्रेसलाई राम्रो बनाउन उत्प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए। एकपटक  सहमहामन्त्रीको उम्मेदवार बनिसकेपछि अर्कोपटक सोही पदमा आफ्नो उम्मेदवारी नदोहोरिने उनको दाबी थियोे । कांग्रेस महाधिवेशनबाट यसपटक आठ सहमहामन्त्री चयन हुनेछन् । पाण्डे संस्थापनइतर समूहनिकट मानिन्छन्।