मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर ९ बिहीबार ११:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धानबालीमा मल हाल्न नपाएका किसानले गहुँमा पनि मल हाल्न पाएनन्

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार ११:३८:००

चितवनमा यसपटक पनि मल अभाव भएको छ । धानखेतमा हाल्ने मलका लागि घन्टाैँ लाइनमा बसेका चितवनका किसान गहुँ, जौ र तोरोमा हाल्ने मल नपाएपछि पुनः लाइनमा बस्न बाध्य भएका हुन् । जिल्लाभरि नै रासायनिक मल युरिया, डिएपी र पोटास अभाव भएको छ।

पैसा तिरेर पनि प्राप्त मल नपाएपछि यहाँका किसान आक्रोशित बनेका छन् । भरतपुर– ६, गीतानगर बजारमा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था (साझा) मा मल लिन नागरिकतासहित बसेकी इन्द्रपुरीकी सविता गुभाजूले भनिन्, ‘पैसा तिर्दा पनि मल नपाइने हाम्रो कस्तो कृषिप्रधान देश हो । किसानलाई मल लिन नागरिकता अनिवार्य छ । तर, लाइनमा बसेर १० केजी मलभन्दा पाइँदैन । यो मल बारीमा हाल्ने कि निधारमा मल पाएँ भनेर खुसी भएर टीका लगाउने ?’ 

पुलरकी गंगा अर्यालको पनि गुनासो उस्तै छ । उनको आफ्नै एक बिघा जमिन छ । त्योबाहेक अरूको १४ कट्ठा जमिनमा तोरी लगाएकी छिन् । १० दिनअघि नै उनको बारीमा मल चाहिएको हो । मलको लाइनमा बसेकी उनलाई अहिले पनि मल पाइन्छ पाइँदैन भन्ने कुनै टुंगो छैन ।

सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था (साझा) मा ३५ बोरा युरिया र १५ बोरा डिएपी मल आएको छ । नगरिकता हेरेर प्रतिकिसान १० किलोको दरले मल वितरण गरिरहेको छ । यहाँका किसानले रोपाइँको समयमा पनि यस्तै हैरानी व्यहोर्नुपरेको थियो ।