मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार ०६:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फेरि सुस्तियो सेयर बजार

लगानीकर्ता मौद्रिक नीतिको पहिलो समीक्षा कुर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार ०६:४५:००

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षाका क्रममा प्रतिग्राहक सेयर धितो कर्जामा संशोधन गर्ने खबरले आइतबार बढेको सेयर बजार सोमबार पुनः संशोधन नहुने हल्ला चलेपछि वृद्धि सुस्तिएको छ ।  सोमबार दुई हजार सात सय ७७ सम्म पुगेर बजारको वृद्धि रोकिएको छ । बजार बन्द हुँदा भने नेप्से परिसूचक करिब आठ अंकले बढेर दुई हजार सात सय ६५ बिन्दुमा आइपुगेको छ । सोमबार बजारमा तीव्र मोलमोलाइ चलिरह्यो । 

आइतबारको तुलनामा सोमबार कारोबार रकम भने सीमान्तदरमा घटेको छ । सोमबार तीन अर्ब ९२ करोड रुपैयाँको सेयर किनबेच भएको हो । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहँदा कारोबार रकम पनि चार अर्बबाट घटेको हो । राष्ट्र बैंकले हाल बजारमा प्रतिग्राहकले एउटा बैंकबाट चार करोड रुपैयाँ र समग्र प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थाले केही सीमित ठूला लगानीकर्तालाई मात्र प्रभाव पर्ने भए पनि यसलाई बजारको वृद्धिसँग जोडेर लगानीकर्ताले हेर्दै आएका छन् ।

 मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा नजिकिँदै गर्दा यो विषयमा हरेक दिन अलग–अलग हल्ला चलिरहेका छन् भने लगानीकर्ता सोही हल्लाअनुसार निर्णय लिइरहेका देखिन्छन् । बैंकहरूमा रहेको तरलता दबाब कायमै रहँदा पनि लगानीकर्ताले ठोस निर्णय लिन सकिरहेका छैनन् । यस दिन एक सय ६ किसिमका धितोपत्र तथा ऋणपत्रहरूको मूल्य बढेर कारोबार भएको छ । मानुषी लघुवित्त, चन्द्रागिरि हिल्सको सेयर मूल्य सबैभन्दा धेरैले वृद्धि भएको छ । करिब दुई महिनाअघिबाट कारोबारमा आएको मानुषी लघुवित्तको मूल्य बढ्दो क्रममा छ ।

प्रतिसेयर आम्दानी करिब आठ रुपैयाँ रहेको यस कम्पनीले गत आवमा भने एक करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो । केहीअघि बुल बजारमा करिब दुई हजार सात सय रुपैयाँसम्ममा कारोबार भइरहेको चन्द्रागिरिका लगानीकर्ता हालको मूल्यअन्तरका आधारमा लगानी गरिरहेका देखिन्छन् । हाल कम्पनीको सेयर एक हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ । कम्पनी पहिलो त्रैमासमा ४३ करोड रुपैयाँ सञ्चित नोक्सानी तथा तीन करोड ८७ लाख रुपैयाँ खुद नोक्सान छ । 

सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यी कम्पनीको मूल्य तीनदेखि चार प्रतिशतको दरमा घटेको हो । महालक्ष्मी, नेपाल टेलिकम, अरुण काबेलीलगायतको कारोबार सबैभन्दा धेरै भएको छ । यी कम्पनीको ३४ करोडदेखि २९ करोड रुपैयाँसम्मको सेयर किनबेच भएको छ । यस दिन दुई सय २५ किसिमका धितोपत्र र ऋणपत्रलगायतको कारोबार भएको छ ।