सातवटै प्रदेश सभाहरूको कामकारबाहीमा एकरूपता कायम गर्न नियमावलीहरू संशोधन गर्न गृहकार्य थालिने भएको छ। त्यस्तै, सचिवस्तरीय अन्तरप्रदेश समन्वय परिषद् वा मञ्च स्थापनामा विशेष पहल पनि गरिने भएको छ। लुम्बिनी प्रदेश सभा सचिवालयको समन्वय तथा सहकार्यमा संघीय सचिवालयद्वारा मंसिर १ देखि ४ सम्म बुटवलमा सम्पन्न ‘सभा तथा सचिवालय सञ्चालनसम्बन्धी मामिलामा अनुभव आदानप्रदान एवं अन्तर्क्रिया’ कार्यक्रमले प्रदेश सभाहरूको कामकारबाहीमा एकरूपता कायम गर्न सभाका नियमावली संशोधनदेखि परिषद् वा मञ्च स्थापनाको पहल गर्नेसहितका विभिन्न निष्कर्ष निकालेको छ।
संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयहरूबीचको सम्बन्धलाई थप विस्तार गर्न आपसी सहकार्य एवं समन्वयलाई प्रभावकारी बनाउने निष्कर्ष पनि सो कार्यक्रमले निकालेको छ। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार कार्यक्रमबाट दुवै सचिवालयका विभिन्न तहका पदाधिकारीहरूबीच अन्तरप्रदेश सभा अनुभव आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरूलाई संसदीय कामकारबाही, कानुन निर्माण, संसदीय निगरानी, अनुगमन तथा मूल्यांकनलगायतका विषयमा जानकारी गराउन अध्ययन भ्रमण, प्रशिक्षण–तालिम, गोष्ठीजस्ता कार्यक्रमकाे आवश्यकताअनुसार समन्वयगत रूपमा सञ्चालन गर्ने निष्कर्ष पनि निकालिएको छ। संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयका पुस्तकालयलाई अनलाइन माध्यमबाट सम्बन्ध स्थापित गरी सूचना एवं अध्ययन सामाग्रीको आदान–प्रदान गर्ने पनि कार्यक्रमबाट निष्कर्ष निकालिएको छ ।
अन्तर्क्रियामा संघीय संसद् र प्रदेश सभाबीच आपसी सम्बन्ध विस्तार, समन्वय, सहकार्य एवं सहकारिता अभिवृद्धि गर्न यसअघि भएका सभामुखस्तरीय कार्यक्रमबारे पनि समीक्षा गरिएको थियो । त्यस्तै, संसद् सचिवालयहरूले सम्पादन गर्नुपर्ने भनी पहिचान भई सम्पादन गरिएका विषयहरूलगायत सभा सञ्चालन एवं सचिवालयले प्रवाह गर्नुपर्ने सेवा सम्बन्धमा पनि छलफल भएको बताइएको छ। ती विषयमा समालोचनात्मक एवं औचित्यपूर्ण विश्लेषण गर्न, सम्भावित अन्तर्सम्बन्धको पहिचान, पारस्परिक सम्बन्ध सुदृढीकरण गर्न गराउन एवं सभा सञ्चालनका अभ्यासहरूमा एकरूपता कायम गर्न कार्यक्रम फलदायी भएको लुम्बिनी प्रदेश सभाका सचिव पुन मगरले बताए ।
कार्यक्रममा संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, संघीय संसद् सचिवालयका सचिव(प्रशासनं) ध्रुवप्रसाद घिमिरे, संघीय संसद् सचिवालयका सचिव(अनुसन्धान)सुदर्शन खड्काको सहभागिता रहेको थियो ।
त्यस्तै, गोपालप्रसाद पराजुली, प्रदेश सभा सचिव, प्रदेश नम्बर १, रन्जितकुमार यादव, प्रदेश सभासचिव, प्रदेश नम्बर २, कृष्णहरि खड्का, प्रदेश सभासचिव, वाग्मती प्रदेश, हरिराज पोखरेल, प्रदेश सभासचिव, गण्डकी प्रदेश, दुर्लभ कुमार पुन मगर, प्रदेश सभासचिव, लुम्बिनी प्रदेश, जीवराज बुढाथोकी, प्रदेश सभासचिव, कर्णाली प्रदेश र रामसिंह धामी, प्रदेश सभासचिव, सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।