मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक भट्ट रामेछाप
२०७८ मङ्सिर १ बुधबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछाप नगरपालिकाद्वारा दुई वडालाई एम्बुलेन्स हस्तान्तरण 

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ मङ्सिर १ बुधबार १३:१५:००

रामेछाप नगरपालिकाले दुईवटा वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नगरपालिकाले वडा नम्बर १ र वडा नम्बर ५ लाई एक–एकवटा एम्बुलेन्स हस्तान्तरण गरेको हो। रामेछाप नगरपालिकाले भन्सार छुटसहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैयाँ रकम खर्चेर दुईवटा एम्बुलेन्स खरिद गरी दुईवटा वडालाई मंगलबार हस्तान्तरण गरेको हो ।  

उक्त एम्बुलेन्सको साँचो रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र उपप्रमुख सिर्जना खड्काले संयुक्त रूपमा वडा नं. १ का वडाध्यक्ष नरबहादुर थापामगर र वडा नं. ५ का वडाध्यक्ष भीमबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन्। 

वडा कार्यालयमा एम्बुलेन्स नहुँदा गाउँमा बिरामी परेको बखत, भाडाका सवारीसाधन तथा कतिपय अवस्थामा बिरामीलाई बोकेरै अस्पतालसम्म लैजानुपर्ने बाध्यताबाट बल्ल मुक्ति मिलेको वडा नं. ५ का वडाध्यक्ष भीमबहादुर तामाङले बताए।  उनले भने, ‘एम्बुलेन्स नहुँदा गाउँका नागरिकहरूले यसअघि धेरै सास्ती खेपे। कतिपय गर्भवती महिला बेथा लागेर उपचारका लागि अस्पतालसम्म लैजाँदै गर्दा बीचबाटोमा नै अकालमा ज्यान गुमाउनुपर्‍याे भने कतिपय ज्येष्ठ नागरिकलाई उपचारका लागि लैजाँदै गर्दा अस्पताल नै नपुगी धेरैले ज्यान गुमाए। विगतलाई फर्केर हेर्दा अबका दिनमा वडाभित्रका नागरिकहरू कसैले पनि उपचारको अभावमा ज्यान गुमाउनेछैनन्।’ 
    
गाउँमा गम्भीर प्रकृतिका बिरामी भएमा ती बिरामीको उपचारका लागि अस्पतालसम्म लैजान यसअघि डोको तथा ओलिनकाठको प्रयोग गरिँदै आएको थियो। गाउँमा सडक सञ्चालनमा आएपछि महँगाे मूल्य तिरेर भाडाका गाडीमा बिरामीलाई अस्पतालसम्म लैजानुपर्ने बाध्यता थियो। बिरामीका आफन्तले पैसा तिर्छु भन्दा पनि भनेको समयमा यातायातका साधनहरू गाउँमा पाउन नसक्दा उपचारविना नै धेरै नागरिकले अकालमा ज्यान गुमाउनुपरेको पीडाबाट अब मुक्ति मिलेको रामेछाप नगरपालिका– १ का वडाध्यक्ष नरबहादुर थापामगरले बताए।