१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २७ शनिबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २७ शनिबार १६:१८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

साताको सेयर बजार : १६ अर्बको कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २७ शनिबार १६:१८:oo

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो। साताभर तीन दिन मात्रै धितोपत्र बजारमा सेयरको कारोबार भयो। दुई दिन बिदा परेकाले साताभर पूर्ण रूपमा कारोबार हुन पाएन। तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो लाग्यो।

बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ। एउटा संस्थाबाट चार करोड रुपैयाँ र बढीमा १२ करोड रुपैयाँसम्म मात्रै सेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल २३० कम्पनीको सेयर कारोबार भयो। पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९.३५ अंकले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ। कुल दुई करोड ८६ लाख ४०९ कित्ता सेयर १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० रुपैयाँमा खरिद बिक्री भए।

दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो। सोमबार नेप्से १९.२० अंकले घटेर दुई हजार ८२९.६४ मा ओर्लियो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा झरेको थियो। त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन। कुल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता सेयर रु चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार बराबर रहेको थियो। नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको सेयर उकालो लाग्यो भने १० उपसमूहको सेयर भने ओरालो लाग्यो।

मंगलबार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो। त्यस दिन नेप्से परिसूचक ७९.७९ अंकले घटेर दुई हजार ७४९.८५ मा ओर्लियो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अंकले घटेर ५१२.०२ मा ओर्लियो।  त्यस दिन नेप्से परिसूचक उच्च अंकले घटे पनि कारोबार रकम औसतमा रह्यो। कुल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर रु छ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरिद बिक्री भए। यसदिन कारोबार भएका १३ वटै उपसमूहको सेयरमा पहिरो गयो। 

साताको अन्तिम दिन बिहीबार पनि नेप्से उच्च अंकले घट्यो। त्यस दिन नेप्से ५९.५७ अंकले घटेर दुई हजार ६९०.२९ मा ओर्लियो।  यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अंकले घटेर ५०२.१९ मा पुग्यो। नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो। कुल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर रु पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लाग्यो। रासस