नेपाल एयरलायन्सले ‘कनेक्टिङ फ्लाइट’ सुरु गर्ने भएको छ। एयरलायन्सले विदेशी हवाई कम्पनीहरूसँग मिलेर कनेक्टिङ फ्लाइट गर्ने भएको हो।
उक्त उडानको लागि नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूबीच द्विपक्षीय (एसपिए) सम्झौता भइसकेको छ। सम्झौताअनुसार युरोपका विभिन्न सहरहरू, अष्टेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा जाने यात्रुहरूले कनेक्टिङ फ्लाइटको सेवा लिन सक्नेछन्। निगमका अनुसार यात्रुहरूलाई कम ट्रान्जिट समय पर्ने गरी सम्झौता गरिएको छ।
अब नेपाल एयरलायन्सको नाममा काटिएको टिकटबाटै यात्रुहरूले अन्य एयरलायन्स कम्पनी हुँदै आफ्नो गन्तव्यमा पुग्न सक्नेछन्। यस प्रकारको उडान सम्झौताबाट निगम र यात्रु दुवैलाई फाइदा पुग्ने नेपाल एयरलायन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार यो सम्झौताले निगमको शाखा अन्तर्राष्ट्रियस्तरमा लैजान पनि सघाउ पुर्याउनेछ। यात्रुहरूले निगमको कार्यालय वा ट्राभल एजेन्सिमार्फत टिकट बुकिङ गर्न सक्नेछन्।
नेपाल एयरलायन्सले तय गरेको कनेन्टिङ फ्लाइट तालिकाअनुसार काठमाडौं–बैंकक–सिओल, काठमाडौं–बैंकक–सिड्नी, काठमाडौं–बैंकक–टोकियो, काठमाडौं–दोहा–कुवेत, काठमाडौं–दुबई–जुरिच, काठमाडौं–दुबई–लन्डन, काठमाडौं–दुबई–फ्रयाक्फोर्ट, काठमाडौं–दुबई–पेरिस र काठमाडौं–दुबई–बहराइनसम्मको यात्रा गर्न पाइनेछ। उडानको एक सेक्टर नेपाल एयरलायन्सले गर्नेछ। त्यसपछि यात्रुहरूले सोही टिकटमा आफ्नो गन्तव्य रुटको जहाज चढ्नुपर्नेछ।
के हो एसपिए सम्झौता र कनेक्टिङ फ्लाइट ?
यात्रुलाई एउटै टिकटबाट कम ट्रान्जिट पर्ने गरी गन्तव्यमा पुर्याउन विदेशी एयरलायन्स कम्पनीहरूसँग गरिएको विषेश सम्झौतालाई एसपिए सम्झौता भनिन्छ। यो सम्झौता नेपाल एयरलायन्सले सीधै अर्को एयरलायन्स कम्पनीसँग गर्छ। यात्रुले आफ्नो गन्तव्यमा पुग्ने टिकट काटे मात्रै पुग्छ। नेपाल एयरलायन्सको टिकट बुकिङ गरेका यात्रुहरूलाई नेपाल एयरलायन्सले नै आफूले सम्झौता गरेको एयरलायन्ससम्म पुर्याउँछ। त्यहाँबाट यात्रुलाई गन्तव्यमा पुर्याउने काम त्यो एयरलायन्स कम्पनीले गर्छ। कनेक्टिङ फ्लाइटको लागि नेपाल एयरलायन्सले थाई एयरवेज, अल निप्पोन एयरलायन्स, कुवेत एयरवेज र इमिरेटस् एयरलायन्ससँग सम्झौता गरेको छ।